असोज २ गते हुने प्रदेश २ को स्थानीय तह निर्वाचनका गतिबिधि यतिखेर सर्बाधिक चर्चामा छ । राजपा पहिलोपटक पार्टीको नाममा चुनाव लडेको यो चुनावको नतिजासँग आगामी प्रदेश र संसदको चुनावमा पार्टीको हैसियत नाप्ने कसीका रुपमा मुख्य दलहरुले अगाडि बढाएका छन् । यो चुनावमार्फत एमाले आफूलाई एक नम्बर पार्टीको रुपमा बरकरार रहन चाहन्छ भने काँग्रेस यो प्रदेशमा धेरै सिट जितेर एमालेसरह बन्न चाहन्छ । त्यसैगरी पहिलोपटक कसैसँग नमिलिकन चुनावमा भाग लिएको माओवादी पनि आफूलाई शक्तिशाली बनाउन चाहन्छ ।

टुक्रा टुक्रा भएका मधेशवादी दलहरुलाई यो चुनाव आफ्नो शक्ति पदर्शन गर्ने अन्तिम विकल्प हुनेछ । सबै पार्टीका तहतप्का यतिखेर प्रदेश नम्ब २ को मधेशमय बनेका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवा, रामचन्द्र पौडेल, सशांक कोइराला, विमलेन्द्र निधि यतिखेर काँग्रेसका प्रचार जुटेका छन् । माओवादीबाट प्रचन्डसहित प्रमुख नेताहरु यतिखेर प्रदेश २ मा नै छन् ।

एमाले प्राय सबै नेता मधेश झरे पनि अध्यक्ष केपि ओली भन अझै मधेश नझर्नुलाई सबैले आश्चर्य मानेका छन् । पछिल्लो समयको राजनीतिमा बोलेर सबैको ध्यान आफूतिर खिचेका ओलीले एकाध अन्तर्वातामा प्रदेश २ मा एमाले एक नम्बर पार्टी हुन्छ भन्नु बाहेक मधेश केन्द्रित नबनेको देखिन्छ । लामो समयदेखि मधेश विरोधी नेताको भनेर चिनाइएका ओली चुनावको अवस्थामा मधेश झर्दा उल्टो हुन्छ कि भन्ने तर्कका कारण उनी राजधानीमै बसेको तर्क पनि सार्वजनिक भएको छ । चुनाव आउन केही दिन मात्र बाँकी रहँदा एमालेको रणनीतिलाई अन्य दलहरुले विशेष चासो राखेका छन् । यद्यपि नेका नेता विमलेन्द्र निधि भने प्रदेश २ मा काँग्रेसको लहरसँग विपक्षीहरु आँत्तिएको बताउँछन् ।

प्रदेश नम्बर २ मा पहिलो दल बन्ने तयारीमा रहेको नेपाली काँग्रेसले यतिखेर भयजति बल प्रयोग गरेको बताइन्छ । कार्यकर्ताको दवावमा माओवादी सँगको सहकार्यसमेत नगरेको काँग्रेसको यात्रालाई मधेशवादी दलहरुले कसरी मुकाबला गर्न सक्लान् वा नसक्लान् भन्ने बारे सर्वत्र चासो छ । यस प्रदेशको मुख्य केन्द्र मानिने बिरगन्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकामा काँग्रेस र राजपालगायतका मधेशवादी पार्टीहरुबीच प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

(फाइल फोटो )