नेपाल एम्बुलेन्स सर्भिस (NAS) ले दक्ष स्वास्थ्यकर्मीहरु सहितको एम्बुलेन्स सेवा बुटवलमा शुभारम्भ गरेको छ । बुटवलमा शुभारम्भ भएको सेवाको समुद्घाटन नेपाल एम्बुलेन्स सर्भिसका उपाध्यक्ष तथा लायन्स डिष्ट्रिक्ट ३२५ बी२ का डिस्ट्रिक्ट गर्भनर श्री रञ्जित आचार्य र अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक श्री राजेश अग्रवालले संयुक्त रुपमा गर्नुृभएको थियो ।

बुटवल र भैरहवामा संस्थाले २४ सै घण्टा पूर्ण उपकरण सहितको आकस्मिक एम्बुलेन्स सेवा लायन्स डिष्ट्रिक्ट ३२५ बी२ नेपालको सहकार्यमा प्रदान गर्ने छ । यो सेवाका लागि स्थानिय सहकार्य तथा वित्तिय सहयोग सोरवे फाउण्डेसन र अर्घाखाँची सिमेन्टले गरेको छ । यो सेवा लिनका लागि बुटवल, भैरहवा तथा वरिपरिका सेवाग्राहीले आकस्मिक एम्बुलेन्स सेवाको १०२ नम्बरमा फोन गर्नुपर्नेछ ।

नेपाल एम्बुलेन्स सर्भिसका उपाध्यक्ष श्री रञ्जित आचार्यले यो अवसरमा भन्नुभयो, ‘हामी पश्चिम नेपालको बुटवलमा यहि २४ भाद्र देखि सेवा संचालन गर्न पाएकोमा निकै हर्षित भएका छौं । लायन्स डिष्ट्रिक्ट ३२५ बी२ र अर्घाखाँची सिमेन्टका साथमा सहकार्य गर्दै जनताहरुलाई एम्बुलेन्स सेवा प्रदान गर्न पाउनु निकै खुशीको क्षण हो । हाम्रो मुल उद्देश्य ‘सेभिङ्ग लाइभ्स एलङ्ग दि वे ’का साथमा सेवाग्राहीहरुलाई आकस्मिक उपचार सेवा निरन्तर प्रदान गर्न पाउँदा हामीले भाग्यमानी भएको महशुस गरेका छौं । हामी भविश्यको बारेमा निकै उत्साहित भएका छौं, हामी अझ धेरै सकारात्मक परिवर्तन र सेवाहरु प्रदान गर्न थप सहकार्य गर्नेछौं ।’

हालसम्म नेपाल एम्बुलेन्स सर्भिसले काठमाडौं उपत्यका, चितवन र पोखरा सहित वरिपरिको क्षेत्रमा एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ । यसले नयाँ शहरहरुमा पनि सेवा संचालन गर्ने प्रयासहरु गरिरहेको छ । यसका साथै एनएएसले काठमाडौं उपत्यका, चितवन र पोखरामा अन्तराष्ट्रिय स्तरको आकस्मिक स्वास्थ्य सेवापूर्ण उपकरणयुक्त ११ वटा एम्बुलेन्सद्धारा प्रदान गर्दै आएको छ, जून अब बुटवलमा पनि शुरु भएको छ ।
एनएएसले २४ सै घण्टा आकस्मिक एम्बुलेन्स सेवा यी सबै क्षेत्रहरुमा संचालन गरिरहेको छ । आकस्मिक एम्बुलेन्स सेवा दिनका लागि निशुल्क फोन गर्न सकिने टोल फ्री नम्बर १०२ मा फोन गर्नुपर्नेछ । संस्थाले सरकारले तोकेको न्यूनतम शुल्कमा आकस्मिक एम्बुलेन्स सेवा प्रदान गरिरहेको छ ।

महाविनाशकारी भूकम्पको समयमा ल्ब्क् ले आकस्मिक एम्बुलेन्स सेवा मार्फत ७ दिनमा ६७८ जनाको जीवन उद्धार गर्न सफल भएका थियो । भविष्यमा संस्थाले देशभरी नै सेवा संचालन गर्ने लक्ष्य लिएको छ । स्ट्याण्डफोर्ड मेडिकल यूनिटले एनएएसलाई (ल्ब्क्) प्राविधिक सहयोगीको रुपमा सहयोग गर्दै आइरहेको छ र ईएमटिज (आकस्मिक मेडिकल प्राविधिकहरु) लाई अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गरि रहेको छ ।