काठमाडौँखबर/काठमाडौँ, कसैले सहकारीका नाममा पैसा ठगे । ढुकुटीले मान्छेहरुलाई उस्तै बित्यास बनायो । प्रशासनले मिटर व्याजमा पैसा लगाउने र गुण्डागर्दीको सहारामा धन्दा चलाउने क्रमलाई पनि करिव करिव नियन्त्रणमा लिइसक्यो । फेरि मानिस ठग्ने अर्को धन्दा बनेको छ, इन्भेष्टमेन्ट कम्पनी ।

कम्पनीको साझेदार बनाउने नाममा मानिससँग पैसा लिने, साझेदारी नदिने, व्याज भनेर कहिलेकाँही पैसा दिने, तर साँवा हजम पार्ने † काठमाडौंको महानगरीय प्रहरी परिसर टेकुमा यस्ता एक व्यक्तिविरुद्ध यति धेरै उजुरी छन्, मुद्दा चलाउन खोज्दा गृहमन्त्रालयबाट घण्टी बजाइन्छ । मान्छे कांग्रेसको । तर, दलितका नाममा भएजतिका दलित नेताकहाँ पुग्ने र गृहसम्म घण्टी बजाउने गर्दै थुप्रै सर्वसाधारणको रुवाबासी चलिरहेको छ । यिनी हुन्, बालुवाटार, रसियन दूतावासअगाडिको कालिका टावरमा एस इन्भेष्टमेन्ट कम्पनी सञ्चालन गर्ने अनिल विश्वकर्मा गजमेर । ‘दलित’ का नाममा नेताकहाँ धाउने र प्रहरी कारवाहीबाट उम्किँदै हिँडेका यिनले पैसा बिगारिदिएका मानिसहरु पनि धेरैजसो दलित नै छन् । त्यसमध्येकी कल्पना दर्जीसँग ‘डबल प्लान’, अर्थात् दिएभन्दा दोब्बर फिर्ता गर्ने रिसिप्ट काटेर २७ डिसेम्बर २०१३ मा पाँच लाख रुपैयाँ लिए । साँवा नै फिर्ता गरेनन् । कल्पनाले प्रहरीमा उजुर गरिन् । तर, महिनौँपछिको चेक दिएर थम्थम्याएका छन् । कांग्रेस हुन्, कांग्रेसकै शुभचिन्तकको पैसा बर्बाद पारेका छन् । चक्र बाँस्तोलाका दाजु देवी बास्तोलामार्फत बास्तोला समाजको पैसा चलाएका थिए । ३२ र ३५ लाखका चेक काटेर पैसा फिर्ता दिन्छु भनेका छन् । खातामा पैसा छैन । उजुर गर्न खोज्दा ‘मलाई थुनाउनुभयो भने यो पैसा पनि तिर्न सक्दिनँ’ भन्दै बिलौना पोख्छन् ।

यिनको पहिलाको घर, सुनसरी सदरमुकाम इनरुवा हो । तर, त्यहीँकी चेली राधिका कटुवालको ३५ लाख रुपैयाँ आठ वर्षदेखि खेलाइरहेका छन् । सुनसरीमा बाबुले बाँणाको काम गरेर पालेका, हुर्काएका यिनको अहिले त्यहाँ कुनै जायजेथा बाँकी छैन । अरुको लाखौँ रकममा सफा कपडा लगाउँछन्, महंगो गाडी चढ्छन् । तर, आफ्नो भन्ने केही छैन । पैसा दिनेले व्याज र मुनाफा नपाएपछि फिर्ता माग्छन् । यिनीचाहिँ ‘सेटिङ’ मिलाएर प्रहरी, अदालत र गृहतिर धाउँछन् । अहिले यिनका विरुद्ध जिल्ला अदालत काठमाडौंमा आठ वटा मुद्दा छ । प्रहरी परिसर टेकुले केही मुद्दा अदालतमा बुझाउन ठिक्क पारेको छ । तत्कालिन एमाले (हाल नेकपा) का नेता छविलाल विश्वकर्मासँग राम्रो सम्बन्ध बनाएका छन् । छविलालले एक महिनाअघि उनलाई खेलकुद मन्त्री जगत विश्वकर्माकहाँ पठाए । जगतले गृहमन्त्री रामबहादुर थापा (बादल) कहाँ लगेर, ‘यसलाई पुलिसले दुःख दियो’ भन्दै सहयोग गरिदिन भने । एउटै सरकारको अर्को मन्त्रीले भनेपछि बादलले उनको कुरा सुने । उनकै सचिवालयमा रहेका सुदीप तामाङ (विरु) र सचिवका पिएसँग उनको पुरानै दोस्ती थियो ।

छ कस्तो भने, म्यानपावर व्यवसाय गर्ने राधिका कटुवालले ०६७ मंसिर २५ गते उनको कम्पनीमा शेयर होल्डर हुने शर्तमा ३५ लाख दिइन् । केही समय मुनाफाको रकम भनी उनले पैसा दिए । तर, शेयर दिएनन् । उनले पैसा फिर्ता लगिन् । तर, केही दिनमै फेरि शेयर दिने शर्त राखेर त्यही पैसा अनिलले मागे । उनले दिइन् । तर, पछिल्लो पटक दिएको पैसाको न शेयर, न ब्याज, न साँवा– राधिकाले केही पाइनन् । उनले प्रहरीमा ताकेता गरिन् । प्रहरीले धरपकड गर्न खोज्यो भनेर अनिलले निषेधाज्ञा माग गर्दै उच्च अदालतमा पुनरावेदन दिए । उच्च अदालतले देवानी मुद्दामा व्यक्ति पक्राउ नगर्नु भनी अन्तरिम आदेश जारी ग¥यो । तर, प्रहरी परिसर टेकुमा उनीविरुद्ध देवानी हैन, ठगीको महलमा फौजदारी मुद्दा दर्ता छ । उनले गृहमा भनेका छन्, अदालतमा मुद्दा हुँदाहुँदै प्रहरीले समाउन खोज्यो । उनले राधिकासँग पहिलोपटक पैसा लिँदा व्याजबापत केही रकम दिएका पनि छन् । त्यतिबेला दिएको रकम नै उनलाई फिर्ता गरेको प्रमाण भनी पेश गर्ने गरेका छन् ।
यिनीविरुद्ध जिल्ला अदालत काठमाडौंमा कामपा– १३ की सुनीता बज्राचार्य र कामपा– १६ की अञ्जना बज्राचार्यले गत वैशाख २ गते मुद्दा दिएका छन् (मुद्दा नं. १४८६ र १४८७) । वैशाख २३ मा पोखरा महानगरपालिका– १० का लक्ष्मीप्रसाद गुरुङले करारको यथोचित परिपालन नभएको भनी मुद्दा हालेका छन् । पोखराकै वडा नं. १० बस्ने वीरबहादुर गुरुङ, जमबहादुर गुरुङ, इन्द्रबहादुर गुरुङ र भुपालजंग कुँवरले रकम वापस पाउनका लागि मुद्दा दिएका हुन् ।
अचम्म कस्तो छ भने, अनेकौँ मानिसको पैसामा रमाइलो गरेका छन् । उल्टै पैसा फिर्ता दिनुपर्नेका विरुद्ध शक्तिकेन्द्र धाउन व्यस्त रहन्छन् । राधिका कटुवालको जाहेरीमाथि छलफल गर्न प्रहरी परिसरले टेकु बोलायो । तर, उनी पुगे मन्त्रीकहाँ । मन्त्रीले मन्त्रालय बोलाएर एसएसपी विश्वराज पोखरेललाई सोधे । विश्वराजले यथार्थ बताए । मन्त्रीले कानुनअनुसार गर्नु भनेर पठाए । तर, मन्त्री र सचिवका पिए यति जान्ने भएका छन् कि, अनिलको पक्षमा प्रहरीलाई फोनमै हप्काउँछन् ।