क्यानडा, बरिष्ठ गायक, सङ्गीतकार तथा भजन शिरोमणी भक्तराज आचार्यलाई एक कार्यक्रमकाबीच अभिनन्दन गरिएको छ । अल्बर्टा राज्यको प्रान्तीय राजधानी एडमन्टनमा नोभेम्बर १८ मा आयोजित भक्तराज सम्मान तथा सत्य–स्वरुप सङ्गीत साँझ कार्यक्रममा अभिनन्दन तथा सम्मान गरिएको हो ।

भक्तराज आचार्यलाई उहाँको अनुपश्थितिमा अभिनन्दन पत्र र नगद क्यानेडियन डलर पाँच सय एकबाट सम्मानित गरिएका हो । अभिनन्दन पत्र र नगद रकम ईश्वर खत्री र राजेन्द्र सुवेदीले संयुक्तरुपमा उहाँका पुत्रद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यलाई हस्तान्तरण गरेका थिए । सोही अवसरमा सत्य र स्वरुपराज आचार्यलाई समेत उहाँहरुले नेपाली गीत सङ्गीतको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै दोसल्ला र कदर पत्रमार्फत सम्मानित गरिएको थियो ।

नपाली र क्यानेडियन राष्ट्रिय गानबाट प्ररम्भ भएको कार्यक्रम स्थानीय संस्था संगीत मझेरीको टिमले स्वागत गीतबाट अगाडि बढेको थियोे । सोहीे कार्यक्रममा भक्तराज आचार्यले नेपाली गीत सङ्गीतको क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै उनकै गीत ‘जहँ छन् बुद्धका आँखा’ इश्वर खत्रीले र ‘मुटु जलिरहेछ’ राजेन्द्र सुवेदीले गाएर सम्मान प्रकट गरेका थिए । सत्यराज आचर्यले पनि आफ्ना बुबाकै दुई वटा कालजयी गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा अर्जुन रसाइलीले आफ्नै गीत प्रस्तुत गरेका थिए भने सत्य र स्वरुपले एकल तथा संयुक्त रुपमा पनि गाएका थिए ।

स्थानीय संस्था संगीत मझेरीको आयोजनामा भएको सो कार्यक्रममा दर्शकको बाक्लो उपस्थिति थियो । संगीत मझेरीको अध्यक्षमा इश्वर खत्री र उपाध्यक्ष राजेन्द्र सुवेदी रहेका छन् । अन्य सदस्यहरुमा विष्णु ज्ञवाली, अर्जुन रसाइली, रेवती गैरापिप्ली, रामबाबु पौडेल, मात्रिका गौतम, उमानाथ गैरे, निर भिम र सुरज खतिवडा रहेका छन् । कार्यक्रमको सञ्चालन विमला सुवेदी र सुरज खतिवडाले सञ्चालन गरेका थिए ।