(२०३७ साल कार्तिक १६ गते ओखलढुङ्गाको चम्पादेवी गाउपालिका घोराखोरीमा निम्न मध्यमवर्गीय परिवारमा जन्मिएका धुर्बराज न्यौपाने १० बर्षकाे उमेरपछि आफ्नो परिवारसहित काठमाडाेँ बसाइ सरे ।  काठमाडाैँ आएपछि उनका पिताले महांकालकाे पानीट्यांकीमा उनीकाे व्यवसाय संंचालन गरे । त्याे व्यवसाय २०५१ पछि कपनमा संचालन भयो । धुर्वराजले २०५३ सालमा महेन्द्र बौद्ध स्कुलबाट एसएलसी उत्तीर्ण गरे भने पशुपति बहुमुखी क्याम्पसबाट आइए तथा आरआर क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरे । । सानो उमेरमा नै कपन प्रवेश गरेपछि यहाँको सामाजिक एवम् राजनीतिक परिदृश्यवाट प्रभावित हुँदै उनी स्थानीय राजनीतिमा प्रवेश गरेका थिए ।)
 

राजनीतिक इतिहास

२०५३ सालमा तत्कालिन कपन गाविस वडा नं १ को प्ररायुसंघको अध्यक्ष हुदै धुर्बराज न्यौपानेको राजनीतिक यात्रा शुरु भयो । २०५४ मा कपन गाबिसको प्ररायुसंघ सचिव बनेर सामाजिक कामहरूमा सक्रिय बने । सृजनशील हातहरु नामक सामाजिक संस्था मार्फत रक्तदान, नाटक, साहित्यिक कार्यलगायतका सामाजिक अभियानहरु पनि सक्रिय रहे ।

२०५४ मा नेकपा एमालेको बिभाजन सँगै उनी माले पार्टीतिर लागे । त्यहिबेलामा शुरु भएको माओबादी युद्धमा सहभागी हुन् उनलाई ठुलो दबाब पर्यो । तर वैचारिक रुपमा अविचलित हुँदै करिव १० बर्षसम्म उनी राजनीतिमा सक्रिय रहने प्रयास गरे । २०६२\२०६३ को जनान्दोलनसँगै न्यौपाने स्थानीय राजनीतिमा सक्रिय भए । आन्दोलनमा युवाहरुकोतर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्दै पटक पटक भएका प्रतिगमन बिरोधी आन्दोलन एवम् १९ दिने जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।

२०६४ मा न्यौपाने कपन गाउँ कमिटिको प्ररायुसंघको अध्यक्ष बनेपछि भने  उनको सक्रिय राजनीतिक भूमिकाको औपचारिक शुरुवात भयो । यद्यपि २०६४ सालको संबिधानसभाको निर्वाचनमा नेकपा एमालेले लज्जास्पद हार ब्याहाेराे र पनि उनले कपन क्षेत्रमा पार्टीको तर्फबाट सक्रिय भूमिका निर्बाह गरिरहे ।

कपन क्षेत्रलाइ पार्टीले महत्व नदिने र सँधै उपेक्षा गरिरहने एकाखाले परिदृश्यलाई बदलेर उनले ३० जना मात्र संगठित सदस्य भएको कपनमा थप ८० भन्दा बढी सदस्य बनाए । युवासंघकाे अध्यक्ष भएपछि आयोजना गरिएको एक बनभोज कार्यक्रममा तत्कालिन पार्टीका उपत्यका एवम् जिल्लाका नेताहरु भानुभक्त ढकाल तथा कृष्ण राइसँग महत्वपूर्ण छलफलपश्चात सदस्यता बढाउने काम सहज भएको थियो । यो अभियानमा पार्टीबाट निष्क्रिय भएर रहेका तथा माओबादीमा जान ठिक परेकालगायतलाई पुनः संगठित गर्दै कपनमा एमालेको भूमिका स्थापित गर्न धुर्वराजले ठूलाे प्रयास गरेका थिए ।

प्ररायुसंघको अध्यक्ष भएको दुइ बर्षपछि न्याैपाने कपन गाउँ पार्टी कमिटिकाे उपसचिव भए । त्याे बेला धुर्ब नेपाल पार्टी कमिटिका  सचिव थिए । त्याे ताका वाइसिएलको देशव्यापी आतंक मच्चाइरहेकाे  थियाे ।  कपन क्षेत्रमा मात्र  वाइसिएलका ५ वटा क्याम्पहरु थिए । एमाले भएर सक्रिय भएबापत धु्र्वराज तथा  उनका परिवारका सदस्यहरू एवम् पार्टीका अन्य कार्यकर्ताहरुलाइ माओवादीबाट गम्भीर धम्कीसमेत प्राप्त भएका थिए ।

कपनतिरमात्र नभै काठमाडौँ उपत्यका कै सबैजसो गाविसहरुमा माओवादी दबदबा हुँदासमेत पार्टीको साखलाई जोगाएर राख्न ध्रुवराज सफल भएका थिए । माधव नेपाल प्रधानमन्त्री हुँदा माओबादीले सरकार र अन्य पार्टी विरुद्ध देशब्यापी कालो झन्डा, ढुङ्गामुडा एवम् दुर्ब्यवहरको कार्यक्रम संचालन गर्यो । कपन क्षेत्रमासमेत त्यस्ता घटनाहरु हुन पुगे र तर तत्कालिन् अबस्थामा पार्टी नेत्री बिद्या भण्डारी जाे रक्षा मन्त्री थिइन् उनलाइ प्रमुख अतिथि बनाएर कपनमा कार्यक्रम गर्न उनको नेतृत्व सफल भएकाे थियाे  ।

वाइसिएलको ज्यादतिको विरूदमा प्रतिबाद गर्न स्थापना गरिएकाे युथ फोर्सको स्थापना काल देखिनै धुर्वराज न्याैपाने सदस्य थिए । महेश बस्नेत केद्रीय युथफोर्स संयोजक हुँदा उनी जिल्ला सदस्य एवम् कपन संयोजक थिए  । नेकपा एमालेको आठौँ राष्ट्रिय महाधिवेशनपश्चात अध्यक्षात्मक प्रणाली लागू गर्याे । धुर्बराज न्यौपाने कपन गाउँ कमिटिको पहिलो अध्यक्ष बने । यही परिवेशमा पार्टीको कमिटिगत हैसियतमा पछि परेको कपनलाई माथिल्लो कमिटीमा स्थापित गराउन महत्वपूर्ण भूमिका उनले निर्वाह गरे ।

नयाँ प्रणालीले धेरै मान्छेहरु क्षेत्र तथा जिल्लाका बिभिन्न कमिटिहरुमा पुग्न सफल भए । त्यहि समयमा न्याैपाने कपन गाविसको सर्बदलीय संयन्त्र सदस्य बने । उनी सर्वदलीय सदस्य बनेसँगै  कपन क्षेत्रमा बजेट बाँडफाँड गर्न माओबादी नै गुहार्नु पर्ने समयको अन्त्य भएकाे थियाे  । विस्तारै यस क्षेत्रमा नेकपा एमाले सशक्त पार्टीको रुपमा स्थापित हुन् पुग्यो । पार्टीको पहिलो गाउँ अधिवेशनमा पार्टीका वरिष्ठ नेता के.पि ओलीलाइ प्रमुख अतिथि बनाएर भव्यरूपमा कार्यक्रम सम्पन गराउन सफल भए । साे अधिवेशनले न्याैपानेलाइ पार्टी कमिटिकाे प्रमुखमा पुर्यायाे ।

धुर्ब न्यौपानेको नेतृत्वसँगै पार्टी संगठन निर्माण एवम् विस्तार गर्ने ठूला अभियानहरु चले । पार्टीको केन्द्रिय बिशु अभियानअन्तर्गत सम्पर्क कमिटि, वडा, टोल, जनबर्गिय संगठन, बुद्दिजिवी कमिटिलगायतका ४२ भन्दा बढी सहायक कमिटिहरु बनाइयो । अन्तरपार्टी सम्बन्ध अत्यन्तै नराम्रो बनेको अबस्थामा सबैपक्षबीच सहृदयता स्थापित गर्ने अभियानहरु चलाइयो।

न्याैपाने नेतृत्वमा आएपछि पार्टी कार्यालय स्थापना तथा घटस्थापनाको दिन नियमित शुभकामना तथा चियापान, अडियो विधानको निर्माण लगायतका महत्वपूर्ण सृजनात्मक कामहरु नियमित रुपमा संचालन हुने थाल्याे । खेलकुदमा बजेट छुट्टयाउने, सार्बजनिक जग्गा संरक्षण गर्ने कार्यक्रम संचालन गर्नुका साथै कपनकाे शंकरेडाँडामा रहेको गाविस कार्यालय स्थापना गर्नसमेत उनको महत्वपूर्ण भूमिका रह्यो ।

न्याैपाने दोश्रो कार्यकालका लागि पनि सर्बसम्मत नेकपा एमालेकाे कपन अध्यक्षमा निर्वाचित भए । स्थानीय नेताहरू ठाकुर खकुरेललगायतले पार्टी परित्याग गर सँगै आउन सक्ने ठूलो क्षतिलाई सहज ढंगले नियन्त्रणमा लिएर र पार्टीलाई एकढिक्का बनाउन सफल भए  ।

काठमाडौं उपत्यका वरपरका सम्पूर्ण गाविसहरू, नगरपालिका घोषित भयएपछि कपन पनि बुढानिलकण्ठ नगरपालिकामा समेटियो। त्यसपछि उनी करिव १ बर्ष न्याैपाने भूमिकाबिहिनझैँ देखिए । यद्यपि खेलकुद क्षेत्र उनकाे चासाेकाे क्षेत्र थियाे । उनले औपचारिक रुपमा खेलकुद क्षेत्रमा हात हाले ।

नेपाल खेलकुद महासंघको काठमाडाैँ जिल्ला सचिव तथा केन्द्रिय सदस्य बने । जिल्ला खेलकुद विकास समिति काठमाडाैँकाे  अध्यक्ष बन्न ठूलै मेहनत गरे । जेखेविसमा अध्यक्ष हुन उनले एमाले भित्रको माधब नेपाल पक्षले सहयाेग गर्याे । प्रत्यक्षरूपै माधव नेपालसहितको ठूलो भूमिकापश्चात उनी अन्य दाबेदार हरुलाई पछिपार्दै जिल्ला अध्यक्ष बन्न सफल भएका थिए । त्यसपछिचाहिँ उनी यस क्षेत्रको माधब नेपाल गुटका महत्वपूर्ण मान्छे भनेर चिनिन थाले ।

याे ताका उनकाे सक्रियता तथा चर्चा यति चुलियकाे कि कपन क्षेत्रमा बिभिन्न सार्बजनिक पदहरुमा उनीलाइ नै बाेलाइन थालियाे । पार्टीका नेताका साथै सक्रिय  सामाजिक सक्रियताले पनि बिभिन्न संघ संस्थामा उनलाइ बसिदिन आग्रह भयाे । कपनका  बालकुमारी स्कुल, जोरधारा खानेपानी संस्था यसका उदाहरण हुन् भने यहि बेलामा उनी नेपाल कुरास संघका अध्यक्ष पनि भए  । न्याैपाने कुरास संघमा अझै पनि अध्यक्ष छन् ।

नेकपा एमालेको काठमाडौँ क्षेत्र न ४ को अधिवेशनबाट न्याैपाने क्षत्रीय सचिवमा ७ भोटले बिजयी भए। माधव नेपाल समुहबाट कुसुम कार्कीको प्यानलमा सचिव उठेका थिए । उनकाे प्यानलले लामो समयको बृहत्त तयारी पश्चात कठिन जित हात परेको थियो। यसैगरी अध्यक्ष पदमा कुसुम कार्की पनि सहज ढंगले बिजयी भएका थिए । कार्कीले अधिवेशनकै मुखमा गुट परिवर्तन गरेकाे थिए ।

धु्र्वराज न्याैपाने सचिव निर्बाचित भएको १ बर्ष पनि नपुग्दै क्षेत्रीय कमिटि विघटित भयाे । यसले कताकतै उनका लागि पहिलो गाँसमा ढुंगा लागेजस्तै भयो । राजनीतिक रुपमा फड्को मार्ने उनको प्रयासमा ठूलो पर्खाल आएजस्तै भयो। निर्बाचन भएको करिव एकबर्षपछि क्षेत्रीय कमिटि स्वतः विघटित हुनपुग्याे ।  उनी बुढानिलकण्ठ नगर कमिटिका सचिवालय सदस्य बने ।

बुढानिलकण्ठ नगरपालिकाको पार्टी संयोजकको रुपमा तुलनात्मक रुपमा सफल मानिएका दिपक निरौला आएपछि न्याैपानेका लागि पार्टीसँगको सम्बन्ध अझ असहज हुन पुग्यो । क्षेत्रीय सचिब भएर काम गरिरहेका उनी काम गर्ने जोश हुँदाहुँदै काम गर्न नपाएपछि दीपक निरौलाको एकलौटी कार्यशैलीको प्रतिपक्षझैँ  बिरोध गरिरहे।

यसअघि कपन क्षेत्रको एकमात्र अध्यक्ष भएर पकड बनाए पनि नगरपालिकामा कपन समाहित भए वडा वर्गिकरणसँगै कपन विभाजित भयाे । यसपछि उनका लागि यो क्षेत्रसमेत पहिला जस्तो सहज हुन् सकेको छैन । सँधै एकखाले युवा पङ्ति एकजुट भएर रहने कपन  वडा बिभाजनसँगै अलग अलग भएको छ । त्यसैगरी अन्य नेता तथा अर्को गुटको प्रभावसमेत यस क्षेत्रमा ब्यापक बढेर गएको छ ।

तथापि राजनीतिको ग्राफ सँधै एकैनासको हुँदैन  ।  याे तथ्य बुझेका न्यौपाने २०७५ सालका निर्वाचनका कार्यक्रमहरूमा सहजताका साथ होमिए ।  स्थानीय तहको निर्बाचनमा सक्रिय रहनका लागि पदीय हैसियतमा खुम्चेर भए पनि बुढानिलकण्ठ ११ को निर्बाचन परिचालन कमिटिको संयोजक बने ।  कांग्रेसको गढझैँ मानिएको  वडामा एमालेका सबै उमेद्द्वार जिताउन उनले प्रभावकारी भूमिका निर्वाह गरे ।

प्रतिनिधिसभाको निर्बाचनमा क्षेत्र न ४ बाम गठबन्धनको प्रचार प्रमुख तथा प्रदेश क्षेत्रको निर्बाचन परिचालन कमिटि सचिव भएर जिम्मेबारी बहन गरेका न्यौपानेका लागि यो चुनाब भने त्यति सुखद हुन सकेन । प्रदेशसभा सदस्यमा एमाले उमेद्वार कुसुम कार्की विजयी भए पनि प्रतिनिधिसभा सदस्यमा राजन भट्टराइ  भने पराजित भए । कुसुम कार्की तथा राजन भट्टराइको भोटमा ब्यापक अन्तर देखिएपछि यसबारेमा बिभिन्न कोणबाट टीकाटिप्पणी हुन थाल्याे । बुढानिलकण्ठ वडा न ११ तथा तत्कालिन माधव नेपाल गुटले असहयोग गरेको आरोपसमेत लाग्न पुग्यो।

चुनाबमा पराजय तथा आर्थिक चलखेलका कुरा

स्थानीय तहको निर्बाचन र प्रतिनिधिशभाको निर्बाचनमा ठूलो मतान्तर देखिएपछि यस क्षेत्रमा ठुलो हल्लाखल्ला नै चल्यो। यस क्षेत्रमा केही मानिसहरु तथा स्वयम् राजन भट्टराइद्वारासमेत शंका व्यक्त गरेपछि यो कुरा छताछुल्ल नै भयो । गगन थापा र कुशुम कार्कीबीच चुनावी सेटिंग भएको एवम् आर्थिक लेनदेनसमेत भएको भनेर हल्ला चलाइयाे । याे आर्थिक चलखेलमा  धुर्बराज न्यौपानेको समेत भूमिका रहेको हल्ला गरिएपछि बिषयले राजनीतिक माहोललाई तरंगित बनायो।

यसबारेमा उनी भन्छन् “यदि आर्थिक चलखेलको सामान्य प्रमाण दिए पनि म राजनीति छोड्न तयार छु ।” “हिजो एमाले कमजोर हुँदा दुलो भित्र छिरेका, माओबादीलाइ चन्दा दिएका, चुनाबमा ठुला गफ गर्ने, काम नगर्ने, भट्टी छिर्ने, केहि पर्यो भने डराएर भाग्ने लगायतका कमजोर मानसिकता भयकाहरुले यस्तो आरोप लगाएका हुन्” उनले थपे ।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा  मेयरका एमाले उम्मेदवारले ७०% भोट पाएकाेमा साेही  वडामा राजन भट्टराइलाई किन ३०% मात्र आयो ?  उनको प्रश्न छ । चुनाब जित्न नेताको क्षमता पनि चाहिने  न्याैपाने बताउँछन् ।

नगर सल्लाहाकार समिति ठीक छैन

हालै नगरपालिकालाई सुझाब दिन बनाइएको सल्लाहकार समितिसमेत ठीक नभएको न्याैपाने बताउँछन् । मेयर स्वयम् समेत सन्तुष्ट नभएको भन्दै नगरमा २ नगरपरिषद सकिँदासमेत छलफल नभएको, योजना नबनेको एवम् सामुहिक प्रणाली नभएको उनको गुनासो छ । प्रमुख जनसम्पर्क सल्लाहकारको रुपमा २५,००० तलब सुबिधासहित नियुक्त गर्नु गलत भएको र उनीजस्तो व्याक्तित्वलाई नसुहाएको उनी  बताउँछन् । मेयर उद्धव खरेल प्रति संकेत गर्दै उनी भन्छन् ‘उहाँ कुरा सुन्दा पनि नसुन्ने, आफु पनि नगर्ने मान्छे हो।’

राजन भट्टराइलाइ सुझाब

जनताको नेता सहज र सबैको पहुँच पुग्ने हुनुपर्ने बताउँदै हाल राजन भट्टराइ जनताको सहज पहुँचमा नभएको उनी बताउँछन् । यही शैलीले अर्को चुनाबसमेत प्रभावित हुने आशंका गर्ने उथप्छन्, ‘आफ्नो क्षेत्र हेर्न १५\१५ दिनमा युवा, कार्यकर्ता र जनताकाबीचमा आइराख्ने र उनीहरुको परिचालन गरिनुपर्छ।’ पार्टीकाे काम गर्नेलाई स्याबासी र प्रोत्साहन गर्नुपर्ने उनको धारणा छ ।

कुशुम कार्की कस्ता ?

एउटै गुटका नेता तथा प्रदेशसभा सांसद कुसुम कुमार कार्कीको भने उनी प्रशंसा गर्छन् । न्याैपाने भन्छन्, “उनी क्षमता भएको, हठी, योजना निर्माण गर्न सक्ने, कार्यकर्ता परिचालन गर्न सक्ने नेता” । यही कारण अघिल्लो क्षेत्रीय अधिबेशनमा बिरोध गरेपनि त्यस अधिबेशनमा साथ दिँदै एउटै प्यानलबाट चुनाब लडेकाे न्याैपाने बताउँछन् । यद्यपि  कुशुम कार्कीलाइ  गुटबादी,महत्वकाँक्षी तथा व्यापारमुखी भएको आरोप लगाउनेहरूकाे कमि भने छैन ।

जिल्ला सदस्यमा हालै आन्तरिक रुपमा सिफारिश नगरिएको प्रति संकेत गर्दै न्याैपाने भन्छन् “क्षेत्रीय चुनाबमा हारेको मान्छे सिफारिशमा पर्ने तर म नपर्ने ?” आफुले सानो गल्ति गरेको भए पहिले नै सिध्याउने थिए भन्दै उनी आफू आफ्नै बलले नेता बनेको र निरन्तर सक्रिय रहने बताउँछन्।

KVR भेलाका कुरा

हाल जगडोलस्थित आफ्नै KVR रिसोर्टमा कपनका तत्कालिन नेता कार्यकर्ताको भेला आयोजना गरेका उनले तत्कालिन गाउँ कमिटिका समकालीन नेताहरुको भेला भएको बताए । सामन्य भेटघाट तथा तथा पुनर्मिलन भएको भन्दै यस क्षेत्रमा नेतृत्व निर्माणका लागि एकजुट भएर लागे सफल बनिने उनको धारणा छ ।

आर्थिक अवस्था र व्यवसाय

निम्न मध्यम बर्गीय परिवारमा जन्मेका न्याैपाने हाल व्यावसायिक रुपमा सफलसमेत मानिन्छन् । न्याैपाने राजधानीको गोकर्णस्थित जगडोलमा रहेको KVR रिसोर्टका एकजना संचालक हुन् । त्यसैगरी राजधानीको ठमेलमा रहेको डालीमा ट्राभल्स उनको मुख्य ब्याबसय हो भने V.h.नेपाल नामक ट्रेक्किंग समेत संचालित छ ।

न्याैपानेकाे कपनस्थित आकाशेधारामा साँढे दुइतले घर रहेको छ भने बिभिन्न स्थानमा जग्गा समेत रहेका छन् । न्याैपाने नुवाकोट स्थित हाेटेल वाटर टावरका संचालक समिति सदस्य हुन् भने तनहुमा बन्दै गरेको होटेल वाटर टाउनमा समेत लगानी गरेका छन् । हाल ५ वटाभन्दा बढी सहकारीमा उनको सेयर रहेको छ । सानै देखि जागिर गर्दै अध्ययन गरेका उनले १५ वटा भन्दा बढी देशको भ्रमण गरेका छन्  ।

अन्त्यमा

बुढानिलकण्ठको राजनीतिमा धुर्बराज न्यौपाने जबर्जस्त प्रवेश गर्ने शुरमा छन् । नगर संयोजक या सचिव मध्ये एक बनेरै छाड्ने लक्ष्य बोकेका उनी निरन्तर सक्रिय रहने र जिम्बेबारी बहन गरेरै छाड्ने बताउँछन् । बिधि, प्रक्रिया र कार्यकर्ताको भावना अनुसार पार्टी चल्नुपर्ने नत्र प्रतिवादसमेत गर्ने भन्दै यस क्षेत्रका पुराना नेताहरुलाई सल्लहाकारको भूमिकामा रहेर आफुहरुलाई जिम्बेबारी दिने वातावारण निर्माण गर्न आग्रह गर्छन् ।

हेरौँ यो लाज नभएको राजनीतिमा उनले कस्तो फड्को मार्ने हुन् !!!

 (काठमाडाैँ खबरका सन्तोष लुइँटेलसँग् गरेको कुराकानीमा आधारित)