काठमाण्डौं । बुढानिलकण्ठ नगरपालिकामा एकैसाथ तीन वटा पार्क शिलान्यास  भएको छ । वार्ड नं १० बालुवाखानीमा भूकम्प स्मृति पार्क, वडा नम्बर २ मा कालीका चौर र १३ नम्बर स्थित भद्रकाली पार्क सिलान्यास भएको छ । निर्वाचन क्षेत्र नं. ४ का नेता तथा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहाकार डा. राजन भट्टराईको प्रमुख आतिथ्य र विशेष पहलमा काठमाण्डौ उपत्यका विकास प्राधिकरणको योजनामा पार्क निर्माण हुन लागेको हो ।

 

सार्वजनिक जग्गाको सदुपयोग गर्दै भूकम्प आएको समयमा सुरक्षित बासस्थान हुने अभिप्रायले यस्ता पार्क निर्माण गर्न लागेको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहाकार राजन भट्टराईले बताए । सार्वजनिक जग्गाको पहिचान र त्यसको सदुपयोग गर्नुपर्ने कुरामा जोड दिदै भट्टराईले सीमित स्रोत साधनलाई अधिकतमरुपमा प्रयोग गर्नुपर्ने धारणा राखेका थिए । ४ नम्बर क्षेत्रको विकास कार्यमा सदैव तल्लीन रहँदै आएका भट्टराईले बाटो र ढल हाल्ने कार्य विलम्ब भैरहेकोप्रति चिन्ता व्यक्त गर्दै अब ढल हाल्ने कार्य पश्चात मेलम्चीको पानी वितरण सहज हुने बताएका थिए । पदीयरुपमा केन्द्र सरकारसँग नजिक रहेका कारण विकास निर्माणका कार्यलाई द्रुतगतिमा अघि बढाउन खोजेपनि निर्माण कार्य ढीला भएकोप्रति आपत्ति प्रकट गर्दै नेता भट्टराईले निर्माण व्यवसायीहरुलाई छिटोछरिता काम गर्न खरिद ऐन संशोधनको प्रकृयामा लागेको बताए ।

कार्यक्रममा न.पा.का. मेयर उद्धव खरेलले भूकम्प आएको समयमा सुरक्षित बासस्थानकालागि यस्ता पार्कहरु धेरै स्थानमा बनाउने योजना सुनाउँदै मेयर खरेलले आगामी दिनमा त्यस्ता विपत्ति आउँदा ढुक्क भएर यस्ता स्थानमा बस्ने वातावरण निर्माण हुने बताए ।

त्यस्तै बु.न.पा वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराईले यस्ता कार्यले सार्वजनिक जग्गाको सदुपयोग हुने, वडाको सौधैर्य, बढ्ने र उकुसमुस भएको अवस्थामा पार्क बसेर आनन्दको अनुभूति गर्न पाइने उद्देश्य मुताविक आफू लाग्दै आएको र नगरका सबै वडाहरु लाग्नुपर्ने कुरामा जोड दिएका थिए । मन्तव्यकै क्रममा सार्वजनिक जग्गा संरक्षण अभियान अन्तर्गत यस वडाको पहिलो पार्कका रुपमा निर्माण हुन लागेको छ । अघिल्लो वर्ष नै सिलान्यास भैसकेको यो पार्क बजेट अभावका कारण निर्माण हुन सकेको थिएन । र अब यो कार्यले मूर्तरुप पाउने निश्चित भएकोले आफू निकै उत्साहित भएको वडा अध्यक्ष भट्टराईले बताए ।

कार्यक्रममा स्थानीय समाजसेवी उपभोक्ता समिति र निर्माण व्यवसायीले आ– आफ्नो धारण राखेका थिए ।