साहसिक खेलकुद हाम्रो अभियान, धार्मिक क्षेत्र पाँचपोखरी राष्ट्रको पहिचान’ भन्ने मूल नाराकासाथ पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना र पर्यटन प्रवद्र्धन समितिको सहकार्यमा आगामी श्रावण ३० गते हुन गैरहेको तेस्रो ट्रेल हाल्फ म्याराथनका विषयमा समितिका अध्यक्ष टासी शेर्पासँग गरिएको संक्षिप्त कुराकानी

यो प्रतियोगिताको उद्देश्यका बारेमा केही बताईदिनुस न

हाम्रो देश नेपाल पर्यटनको प्रचुर सम्भावना बोकेको देश हो । अबको पाँच महिनापछि भ्रमण वर्ष २०२० मनाउने किार लागिरहेको छ र स्थानीय सरकार (पाँचपोखरी थाङ्पाल गाउँपालिका) र पर्यटन प्रवद्र्धन समिति र पाँचपोखरी संरक्षण समिति लगायतका संघ÷संस्थाहरु निकै अभिरुचीकासाथ अग्रसर रहेको व्यहोरा अवगत गराउन चाहन्छु ।

अब कुरा गरौ यो खेलकुदको गर्नुको उद्देश्यका बारेमा– यो प्रतियोगिताको मुख्य उद्देश्य भनेको खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने नै हो । त्यही भएर ‘पर्यटन प्रवद्र्धनकालागि खेलकुद’ भन्ने सहायक नाराका साथ हामी यो प्रतियोगिता गर्न गैरहेका छौं ।

यो पाँचपोखरी क्षेत्र सयवटा गन्तव्य स्थलमध्ये १६औं स्थानमा पर्न सफल भएको क्षेत्र हो । यस क्षेत्रका विविध पक्षलाई राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रसम्म पु्याउनुकासाथै यो पालिकालाई पर्यटन एवं खेलकुद हबको रुपमा विकास गर्दै आर्थिक पाटोसँग जोड्ने हाम्रो एकमात्र उद्देश्य हो ।

तयारी कहाँ पुग्यो ? अहिलेसम्म भएका तयारीका बारेमा संक्षिप्त बताईदिनुस न

तयारीको कुरा गर्नुपर्दा हामीले अहिलेसम्म विभागीय टोलीहरु नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सहभागी गराउने टुंगो लगाइयो भने भिजिट नेपाल इयर २०२०को सचिवालय(भि.एन.वाई) र पर्यटन वोर्डसँग एक किसिमको सहमति गरेका छौं । त्यसैगरी अन्य प्राइभेट निकायसँग कुराकानी भैरहेको छ ।

यहाँको भौगोलिक अवस्थाका बारेमा पनि थोरै जानकारी गराइदिनुस ताकि, खेलाडी, सञ्चारकर्मी र अन्य सरोकारवाला निकायलाई सहज होस् ।

अब यहाँको भौगोलिक अवस्थाको बारेमा म के भन्छु भने यो पाँचपोखरी क्षेत्र समुन्द्री सतहदेखि ४१०० मिटर उचाईमा अवस्थित धार्मिक पर्यटकीय क्षेत्र हो र यो स्थान विश्वको अग्लो स्थानमा पोखरी भएको क्षेत्रहरुमध्ये नवौ स्थानमा परेको छ । पाँचवटा पोखरी भएका कारण यो स्थानको नामाकारण पाँचपोखरी रहन गएको हो । लाङटाङ राष्ट्रिय निकुन्जले घेरिएको यो  क्षेत्र विश्वमै सूचिकृत सिमसार क्षेत्र पनि हो । त्यसैगरी यहाँ विभिन्न जडिबुटी र रेडपाण्डादेखि अन्य हिमाली पशुपक्षीको बासस्थान पनि हो । निकै रमणीय क्षेत्र भएका कारण यो क्षेत्रलाई पर्यटकीय गन्तव्य घोषणा गरिएको कुराबाटै सबै प्रष्ट हुन्छ कि, यो स्थान कस्तो छ भनेर ।

प्रतियोगितामा कति खेलाडीले भाग लिने अनुमान गर्नुभएको छ त ?

विगतको तुलनामा यस पटक खेलाडीको सहभागिता बढ्ने अनुमान गरेका छौं । यसको मतलव करिब एकसय पचासदेखि दुईसयको हाराहारीमा खेलाडी सहभागी हुने हाम्रो अनुमान रहेको छ ।

त्यस क्षेत्रको माननीय सांसद एवं पूर्व कानून मन्त्री शेरबहादुर तामाङ र  प्रदेश नम्बर तीनका सामाजिक विकास मन्त्री युवराज दुलाल पनि धावक बन्ने कुरा सुन्नमा आएको छ, नि कुरा के हो ?

कुरा सही हो । यस पटक माननीय शेरबहादुर तामाङमात्रै हैन, प्रदेश नम्बर तीनका सामाजिक विकास मन्त्री युवाराज दुलाल पनि धावक बन्ने कुरा पक्का भएको छ । तपाईलाई यो पनि जानकारी गराउन चाहन्छु कि, माननीय तामाङले त म यस पटक धावक बन्छु भनेर पत्रकार सम्मेलनमै घोषणा गरिसक्नु भएको छ ।

वर्षातको समय हिमाली भेगमा यति ठूलो कार्यक्रम आयोजना गर्नुभएको छ, चुनौति पनि त होलान् नि ? विशेषगरी सुरक्षा प्रबन्ध के कसरी मिलाउँदै हुनुहुन्छ ?

अवश्य पनि केही कठिनाई त हुन्छन् नै, तैपनि ति कठिनाईका बावजुद सिंगो गाउँपालिकाको साथमा पर्यटन प्रवद्र्धन समिति, पाँचपोखरी गाउँपालिकाभित्रका सबै संरक्षण समितिहरु, स्थानीय क्लव र यस भेगका सबै जनता यो कार्यक्रम सफल बनाउनकालागि दत्तचित्त भएर लागेको अवस्थालाई छ । जहाँसम्म सुरक्षा प्रबन्धको प्रश्न छ, म के भन्छु भने यो आयोजना हाम्रो आगनमा हुनगैरहेको छ । त्यसो भएको हुँदा यो अभियानमा सबै पाँचपोखरीबासीको साथ समर्थन रहने कुरामा म ढुक्क छु । त्यसमाथि सुरक्षा निकायका तीनवटै अंगले यो प्रतियोगितामा भाग लिइरहेको अवस्थालाई विचार गर्दा यो कार्यक्रम भव्य र सब्य ढंगले सम्पन्न हुने कुरामा म लगायत यो अभियानमा संलग्न सबै तप्का ढुक्क छौं ।

पुरस्कार राशी त ठूलै रहेछ, कार्यक्रम सम्पन्न गर्नकालागि कति खर्च लाग्ने अनुमान गर्नुभएको छ ? र स्रोतका बारेमा पनि थोरै बताईदिनुस न

हो, पुरस्कार राशी ठूलै छ । पहिलो हुने महिला र पुरुषलाई पचास÷पचास हजार, दोस्रो हुनेलाई तिस÷तिस हजार, तेस्रे हुनेलाई बीस÷बीस हजार, चौथो हुनेलाई दश÷दश हजार र पाँचौ हुनेलाई पाँच÷पाँच हजार पुरस्कारको व्यवस्था गरेका छौं । त्यसैगरी सिन्धुपाल्चोकको हकमा पहिलो हुने महिला र पुरुषलाई बीस हजार, दोस्रो हुनेलाई दश हजार र तेस्रो हुनेलाई पाँच हजारको व्यवस्था गरेका छौं । अब जहाँसम्म स्रोतको सवाल छ, जम्मा १६ देखि १८ लाख लाग्ने अनुमान हामीले गरेका छौं । त्यसमध्ये गाउँपलिकाले ९ लाख बजेट छुट्याएको छ । बाँकी रकम पर्यटन वोर्ड, भिजिट नेपाल ईयर २०२० को सचिवालय(भि.एन.वाई) र अन्य संघ÷संस्थाबाट सहयोग लिने योजनामा छौं ।

अन्त्यमा केही भन्नु कि ?

भन्नैपर्ने विषय त लगभग सकियो जस्तो लाग्छ । तैपनि अन्त्यमा यो ऐतिहासिक कार्यमा सबै पाँचपोखरी थाङपाल गाउँपालिकाबासी दाजूभाइ दिदी बहिनीहरुको साथ सहयोग प्राप्त हुने अपेक्षा राखेको छु । धन्यवाद ।