– समिक्षा : अम्बिका गौतम

हिन्दू धर्मअनुसार विष्णु भगवान्को सातौं अवतारको रूपमा रामलाई एक आदर्श पुरुष मानिन्छ । त्यसैगरी उनकी पत्नी सीतालाई पतिव्रता नारीका रूपमा अहिले सम्म पनि लोकमा स्मरण गरिन्छ । हिन्दू धर्मका विभिन्न संस्कारमध्ये विवाह एक हो । स्वभाविक रूपमा विवाहपछि आफ्नो कर्मघर सहज होस्, आफ्ना श्रीमान् र कर्म घरका परिवारजनको माया सदासयता पाइयोस् भन्ने इच्छा नारीको हुन्छ । यिनै नारीका इच्छाहरूलाई व्यावहारिक रूपमा गीतकार प्रकाश सुवेदीज्यूले ‘मैले त खोजेको यस्तै घर हो’ बोलको हरितालिका तीज विशेष गीतको शब्दमा उतार्नु भएको छ । त्यसैगरी यस गीतमा बहु उपयोगी वृक्ष पिपल र बरलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ । हिन्दू धर्ममा यी वृक्षको महिमा धेरै छ अनि बर र पिपललाई शितल र सुमधुर सम्बन्धको प्रतीकका रूपमा पनि लिइन्छ ।

धन सम्पति भौतिक वस्तु हुन्, दामपत्य जीवनमा धन भन्दा पनि एक अर्काको मनमा बस्न सकूँ भन्ने नारीको इच्छा गीतमा प्रस्तुत छ । पूर्वीय वेदान्त दर्शनका दृष्टिले मानिसलाई अल्झाउने र मताउने सुखभन्दा आत्मिक सुख नारीले चाहेकी हुन्छे भन्ने भाव गीतमा अभिव्यक्त छ । त्यसैगरी पूर्वीय संस्कार, रीतिरिवाज, परम्परा आदि नेपालीका मुख्य गहना भएकाले त्यस्तो सांस्कारिक घरको कल्पना यहाँ नारीले गरेकी छिन् । नारीको जीवनको महत्वपूर्ण कार्य संस्कार र संस्कृतिको हस्तान्तरण हो । आफूले सिकेका कुरा आफ्ना सन्तती पुस्ता र समाजमा प्रसार गर्न सके उनको जीवन सफल मानिन्छ ।

यसरी पूर्वीय संस्कार, हिन्दू धर्मअनुसारका आदर्श व्यक्ति, सकारात्मक सोच, भौतिक वस्तुप्रतिको वितृष्णा, आत्मिक सुख दीर्घकालीन दामपत्य जीवन आदि जस्ता गहन भाव समेटेर ‘मैले त खोजेको यस्तै घर हो’ बोलको हरितालिका तीज विशेष गीत सार्वजनिक भएको छ । यस गीतमा प्रकाश सुवेदीको शब्द, संगी अधिकारीको स्वर, राजकुमार बगरको लय र राजु कार्कीको सङ्गीत संयोजन रहेको छ । यसरी पूर्वीय संस्कार, संस्कृति हस्तान्तरण गर्ने नवीन शैली र सकारात्मक भाव सहित आएको हरितालिका तीज गीतको सफलताको लागि सम्पूर्ण समूहलाई हार्दिक शुभकामना ।