एजेन्सी। अस्ट्रेलियाको तटीय क्षेत्रमा डढेलो फैलिएको छ। डढेलोका कारण हजारौँ मानिस भागेर समुद्रको किनारमा पुगेका छन्।

न्यू साउथ वेल्थका पर्यटकीय शहरहरू बेर्मागुई र बाटेमान्स बेका बासिन्दा स्थानीय समय अनुसार बिहानै समुद्री किनारतर्फ गएका छन्। भिक्टोरियामा मात्रै चार हजार मानिस समुद्री तटमा रहेको बताइएको छ।

भिक्टोरियामा एउटा डढेलो तटीय शहर म्यालकुटातर्फ फैलिँदै गर्दा घरहरु धुवाँ र खरानीले ढाकिएका छन्। न्यू साउथ वेल्समा दुई जनाको मृत्यु भएको पुष्टि भएपछि डढेकोका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ। चार जना हराइरहेका छन्। सिड्नी र मेल्बर्नका कतिपय बिदा मनाउने स्थानहरू डढेलोका कारण बन्द भएका छन्।

न्यू साउथ वेल्स र भिक्टोरियाको पाँच सय किलोमिटर क्षेत्रमा आपतकालीन स्तरका दर्जनभन्दा बढी डढेलो लागेको छ। सबै जसो राज्यको तापक्रम ४० डिग्री पुगेको छ। प्रचण्ड गर्मी भइरहेको अस्ट्रेलियामा डढेलोहरू नियन्त्रणबाहिर जान थालेपछि दुई राज्यमा संकटकाल घोषणा गरिएको छ। उच्च तापमान, वायु र बिजुली चम्किरहेका कारण डढेलो बढेको छ।