राष्ट्र बैँकले केही वर्षदेखि वाणिज्य बैंकहरूलाइ अनिवार्यरूपमा कृषिमा लगानी गर्न लगाएकाे छ । तर पछिल्लाे रिपाेर्ट अनुसार ती लगानी सबै काठमाडाैँ उपत्यका केन्द्रित भएकाे देखिएकाे छ । नेपाल राष्ट्र बैंकले ५७ जिल्लामा भएको कर्जा लगानी सम्बन्धी नयाँ रिपोर्ट सार्वजनिक गर्दै सबैभन्दा धेरै काठमाडौं क्षेत्रमै कृषि कर्जा लगानी भएको देखाएको हो ।

राष्ट्र बैंकका अनुसार बितेको आर्थिक वर्ष २०७५/७६मा १ खर्ब ५९ अर्ब १८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुले कृषिमा लगानी गरेका छन् । सो आर्थिक वर्षको तुलनामा कृषि कर्जा ४२.२ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तीय संस्थाहरुले ९२ अर्ब रुपैयाँ कृषि क्षेत्रमा लगानी गरेका थिए ।

बैंकहरुलाई राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा २५ प्रतिशत अनिवार्य लगानी गर्न निर्देशन दिएको छ । जसमध्ये १० प्रतिशत कृषि क्षेत्रमा अनिवार्य कर्जा लगानी गर्नुपर्ने हुन्छ । केहि बैंकहरुले १० प्रतिशत पुर्‍याएपनि अधिकांश बैंकहरुले कृषि कर्जामा १० प्रतिशत पुर्‍याउन सकेका छैन । औसतमा कुल कर्जाको बैंकहरुले ५ दशमलव ७ प्रतिशत कृषि क्षेत्रमा कर्जा लगानी गरेको राष्ट्र बैंकले बताएको छ ।

नेपालको कृषि उत्पादन हुने क्षेत्र भनेको तराई क्षेत्र हो । तर राष्ट्र बैंकको तथ्यांकले भने काठमाडौं क्षेत्रमा धेरै कृषि कर्जा लगानी भएको देखाउँछ । यसको मतलव वास्तविक किसानहरुले धेरे कर्जा लिएका छैनन् भन्ने हो । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बैंकहरुको प्रधान कार्यालय काठमाडौं भएका कारण यस्तो तथ्यांक आएको बताउछन् ।

‘तलको कार्यालयमा कर्जाको माग आए पनि कतिपय कर्जा मुख्य कार्यालयबाट स्वीकृति गर्नु पर्ने हुन्छ’ उनले भने, ‘ काठमाडौं हुने मुख्य कार्यालयबाट स्वीकृत गरेपछि काठमाडौं क्षेत्रमा धेरै लगानी भएको देखियो ।’ सबै बैंकको प्रधान कार्यालय काठमाडौंमै भएको र धेरै कर्जाहरु प्रधान कार्यालयहरुबाट स्वीकृत भएका कारण काठमाडौं क्षेत्रमा कर्जा धेरै गएको देखिएको प्रवक्ता भट्टको दावी छ ।