काठमाडौं । भ्रष्ट छविको नाराणयप्रसाद ढकाललाई स्वास्थ्यमन्त्री भानुभक्त ढकालले औषधि वयवस्था विभाग (डिडिए)को महानिर्देशक बनाए । भ्रष्टचारको अभियोगमा निलम्बनमा रहेको चर्चित सहसचिव चुडामणि शर्मा भाइ कांग्रेसी पृष्ठभूमिका भएपनि ढकाल थर र आर्थिक भरले डिडिएको महानिर्देशक बनाइएको स्वास्थ्य मन्त्रालयमा चर्चा चल्न थालेको छ ।

गगन थापा स्वास्थ्यमन्त्री भएका बेला महानिर्देशकको कुर्सी हत्याउन सफल ढकाल विदेशबाट आयत हुने औषधिको पड्के सिफारिसमा ठूलो रकम असुल्दै आएको मन्त्रालयको छानबिनले पनि देखाएको थियो । औषधि आयात अनुमति पत्र जारी, नवीकरण अडिटमा कम्पनी छनोटमा पनि उनले लाखौं असुल्ने गरेको विभागका अधिकारीहरु बताउँछन् ।

ढकालमाथि भारतीय औषधि कम्पनी नाट्को फर्माले उत्पादन गरेको हेपटाइटिस सिविरुद्ध प्रभावकारी मानिने औषधि भाल्पानेटलाई आयतका लागि पड्के सिफारिस दिँदा करोडौं भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ ।

पड्के सिफारिस गर्दा आवश्यक कागजात पेश गरी उचित ठर्याएमात्र औषधि आयात गर्ने कम्पनीले आयतको अनुमति पाउछँ । तर भाल्पानेटको औषधि आयातका लागि अनुमति दिँदा महानिर्देशक ढकालले आर्थिक चलखेलमा सीधै दिएको मन्त्रालयका उच्च अधिकारीहरुको बताउँछन् ।

कसरी भयो घोटाला

नाट्को फर्माले उत्पादन गरेको हेपटाइटिस सीविरुद्धको औषधि हेटेरो डग्सले प्रतिबक्स २८ हजारमा आयात गर्ने विभागसँग कबोल गरेको थियो । तर विभागले हेटेरोलाई आयातको अनुमति नदिइ ३३ हजारममा आयात गर्ने कबोल गरेको अर्कों कम्पनी निशान्त फर्मास्युटिकल्सलाई प्रतिबक्स ४० हजारमा ल्याउन अनुमित दिएको पुष्टि भएको थियो ।

निशान्तले आवश्यक कागजनै पेश नगरी २० हजार पर्ने भाल्पानेट औषधिलाई ४० हजारमा नेपाल ल्याएर नर्भिक अस्पतालको फार्मेसीमा राखेर करिब ९ करोडको भाल्पानेट बिक्री गरेको खुलेको थियो । २८ हजार प्रतिबक्स पर्ने औषधिलाई महानिर्देशक ढकालले ४० हजारमा ल्याउन अनुमति दिँदा त्यो कम्पनीले तीन करोड भन्दा बढी अतिरिक्त आम्दानी गरेको र एक करोडभन्दा बढी रकम विभागकै अधिकारीहरुलाई बुझाएको विभागभित्र सुन्ने गरिन्छ ।

यस विषयमा भ्रष्टाचार भएको आरोपमा अख्तियारमा समेत उजुरी परेको थियो । तर अख्तियारका तत्कालीन प्रमुख आयुक्त दिप बस्न्यातका छोरा कमललाई प्रयोग गरी ६० लाख रुपैयाँको चलखेलमा उजुरी तामेलीमा राखिएको अख्तियार स्रोतले बतायो । २८ हजार प्रतिबक्स पर्ने औषधिलाई ४० हजारमा आयात गर्न दिनु सीधै भ्रष्टाचार भएको पुष्टि हुने भन्दै अख्तियारका ती अधिकारीले तत्कालीन प्रमुख दिप बस्न्यातले उजुरी तामेलीमा राख्नुले आर्थिक चलखेल भएको सहजै अनुमान लगाउन सकिने बताए ।

यस अघि ढकाल नै महानिर्देशक भएको बेला विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्ड पूरा गर्न अयोग्य ओजन फर्मास्युटिकल्सको लाइसेन्स नवीकरण गरेपछि मन्त्रालयकमा हंगामा नै मच्चिएको थियो । यसमा ठूलो आर्थिक चलखेल भएको भन्दै अख्तियारमा उजुरी समेत परेको छ । तर, अख्तियारमा समते पुरानै च्यानल मार्फत सेटिङ मिलाएर छानबिन प्रभावति पार्न ढकाल लागि परेको मन्त्रालयका अधिकारीहरुको दाबी छ ।

मुख्य सचिव लोकदर्शन रेग्मीका नातेदारसमेत रहेका उनले रेग्मीलाई नै प्रयोग गरेर निजामतिबाट गएका अख्तियारका अनुसन्धान अधिकृतलाई छानबिन रोक्न दबाब दिएको स्रोतको भनाइ छ । अडिट टोली नै रिपोर्ट नबुझाइ र जिएमपी कमिटीको सिफारिस बिना नै ओजनको लाइसेन्स नवीकरण गरेको विषयलाई लिएर तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवले ढकाललाई विभागको महानिर्देशकको जिम्मेवारी हटाएका थिए ।

वैदेशिक औषधिको आयात अनुमति पत्र पड्के सिफारिसको विषयमा मन्त्रालयले छानबिन समितिसमेत गठन गरेको थियो । तर ती सबै कागजात गोप्य राखेर भ्रष्ट छविका ढकाललाई नेकपाका मन्त्रीले च्यापेर पुनः विभागमा फर्काएपछि मन्त्रालयका अधिकारीहरुले आश्चर्य प्रकट गरेका छन् । ढकालले आर्थिक चलखेलमा नागपुरको कम्पनी जेनेटिक लाइपल साइन्सलाई अडिट सूचीमा राखेको विषयमासमेत विभागमा विरोध भएको थियो ।

भारक उत्तराखण्डको एक्जा प्यारेन्टर अयोग्य देखिएपनि उनले पुनः अडिट सूचीमा राखेकोलगायतको विषयमा अख्तियारले छानबिन थालेको थियो । तर मुख्य सचिव रेग्मीको दबाबमा कर्मचारीहरुले उक्त छानबिनलाई अहिले रोकेको अख्तियारका ती अधिकारीहरुको भनाइ छ ।

महानिर्देशक ढकाल आफै साउदी अरबको मन्टाजाट भेटेनरी कम्पनीको अडिट गर्न गएका थिए । प्लेन खर्च होटल खर्च सम्बन्धित कम्पनीबाट नै लिएका उनले विभागबाट पनि लिए । विभागमा आर्थिक चलखेलमा काम हुँदै आएको मन्त्रालयका अधिकारीहरुको आरोप छ ।

तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले उद्घाटन गरेको औषधि एप अहिले अस्तित्वमा देखिँदैन । औषधि दर्ता प्रणालीको सफ्टवेयर निर्माण गर्ने कम्पनी प्रोफेसनल कम्प्युटर सिस्टम (पिसिएस)ले उक्त औषधि एप सित्तैमा बनाइदिएको थियो । तर ढकालले त्यो एप बनाउन लागेको खर्च भन्दै विभागको बजेटबाट दश लाख रुपैयाँ लिएको विभाग स्रोतले बतायो ।

विश्व स्वास्थ्य संगठनले बनाएको ड्याम्स सफ्टवेयरमा पनि अनियमितता भएको भन्दै विभागभित्रैबाट छानबिन हुनुपर्ने माग उठ्न थालेको छ । आर्थिक बिवादमा मुछिएका ढकाललाई भानुभक्तले च्यापेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन गर्न पनि दिन्न भन्ने संकल्पलाई फेल खुवाइदिएको स्वास्थ्य मन्त्रालयमा चर्चा चल्न थालेको छ ।

ढकालले कलंकीमा आलिसान महल बनाएका छन् । छोरा अमेरिकामा पढ्न पठाएका छन् । उनले राज्यको अकुत सम्पत्ति कमाएर दाइ चुडामणिसँग प्रतिस्पर्धा गर्न खोजेको मन्त्रालय बृत्तमा कुरा हुँदै आएको छ ।