सम्पादकीय


स्थानीयवासीकाे सक्रिय मेहनत बिना आजसम्म कतै पनि कुनै महत्वपूर्ण कुराकाे संरक्षण हुन सकेकाे छैन । स्थानीयवासीकाे असचेतनाले संरक्षण गरिनुपर्ने कतिपय कुरा लाेप भएका थुप्रै उदाहरण हाम्राे समाजमा छ । विशेष गरेर सम्पदा, धर्मसंस्कृति तथा पर्यावरणकाे संरक्षणमा स्थानीयवासीकाे सकृयता अनिवार्य सर्तझैँ मानिन्छ । विकास नाममा बाटाे, ढल र पानीलाइ नै प्राथमिकता दिने हाम्राे प्रशासनिक साेचले सम्पदा, धर्मसंस्कृति तथा पर्यावरण संरक्षणलाइ खासै ध्यान दिने गर्दैन । यस्ताे अबस्थामा स्थानीयवासीकाे जाेस जाँगर तथा आशय यी विषयकाे संरक्षणमा हुनु नितान्त जरूरी भैसकेकाे छ ।

मन्दिरै मन्दिरकाे सहर भनेर चिनिने काठमाडाैँ कुनै समय वातावरण(पर्यावरण) का दृष्टिले पनि धनी मानिन्थ्याे । यहाँका १० वटा बिभिन्न सम्पदाहरू विश्व सम्पदा सूचिमा सूचिकृत छन् । समयकाे बहावसँगै वातावरण तथा धर्म संस्कृतिलाइ ध्यान दिन नसक्दा काठमाडाैँ कुरूप भएकाे छ । यही कुरूप काठमाडाैँकाे महत्वपूर्ण हिस्सा जहाँ अझै पर्यावरण तथा संस्कृति बचाउने संभावना छ बुढानिलकण्ठ क्षेत्रमा ।

प्रशिद्ध धार्मिक तीर्थस्थलदेखि राष्ट्रिय निकुन्जकाे महत्वपूर्ण भागसम्म भएकाे बुढानीलकण्ठ समूचित बस्ती विकासकाे अवधारणाकाे अभावमा कुरूप बनिरहेकाे छ । बस्ती बस्न बाँकी रहेकाे कतिपय स्थानमा पनि अन्धाधुन्ध डाेजेर आतङ्क चलिरहेकाे छ भने धानगहुँ खेतहरूमा जग्गा किन्ने बेच्ने हाट लागेकाे छ । सहरभित्रकाे गाउँ अनि गाउँका पूराना संस्कृतिले भरिपूर्ण बुढानिलकण्ठलाइ उचित ध्यान पुर्याउन नसक्दा कुरूप बस्ती बनिरहेकाे छ ।

प्रशिद्ध बुढानिलकण्ठ मन्दिरसँगै लिच्छविकालिन धरमपुर, प्रशिद्ध भगवती मन्दिरहरूसहित पूराना नेवारी बस्तीहरू बुढानिलकण्ठमा रहेका छन् । यहाँका बिभिन्न जात्रा, पुराना बाजागाजादेखि वनजङ्गल र पानीका श्राेतहरूलाइ संरक्षणकाे खाँचाे देखिएकाे छ । तर यहाँकाे स्थानीय तहले याे विषयलाइ ध्यान दिएकाे पाइँदैन । नगरपालिकाले यी विषयलाइ महत्व नै नदिएकाे मात्र हैन कतिपय अबस्थामा विनाश गर्न अप्रत्यक्ष भूमिका खेलिरहेकाे छ । विग्रदाे पर्यावरणकाे अबस्थालाइ राेक्नुकाे सट्टा बुढानिलकण्ठ नगर क्षेत्रका वन नजिकका जमिनमा बेराेकटाेक डाेजरहरू चलिरहेका छन् । बाली उब्जने खेतहरू दिनदिनै जग्गा टुक्राटुक्रा बनिरहेका छन् ।

बुढानिलकण्ठ नामले एक नगरपालिकाकाे प्रशानिक इकाइ जनाउँछ । याे नगरपालिका काठमाडाैँकाे क्षेत्र नं ४  र ५ मा पर्दछ । जहाँबाट राष्ट्रिय राजनीतिका ठूला नामहरु गगन थापा र इश्वर पाेखरेल सांसद बनेका छन् । पाेखरेल यतिखेर देशका सर्वाधिक शक्तिशाली व्यक्तिकाे सूचिमा संभवतः टप १० मा पर्दछन् भने थापा विपक्षमा भए पनि शक्तिशाली नेता हुन् । थापा यसअघि मन्त्री पनि भएका थिए ।

यति शक्तिशाली नेताहरुले प्रतिनिधित्व गर्ने नगरकाे पर्यावरणदेखि सम्पदा संरक्षणसम्ममा देखिएकाे गम्भीर अबस्थाले  सिङ्गाे काठमाडाैँकाे भविष्यलाइ सम्बाेधन गरिरहेकाे देखिन्छ । बुढानिलकण्ठकाे पर्यावरण, धर्म संस्कृति तथा सम्पदा नै यहाँकाे मूल सम्पत्ति तथा पहिचान भए पनि यहाँकाे नगरपालिका तथा यहाँका शक्तिशाली सांसदहरूले याे बारेमा आजसम्म ध्यान दिएकाे पाइँदैन । सामुदायिक वनसँग जाेडिएकाे जमिनहरुमा डाेजरमात्र चलेका छैनन् यहाँका पुरातात्विक महत्वकाे मन्दिरहरूमा पनि धार्मिक अतिक्रमण भएकाे देखिन्छ ।

सरकारी जमिनहरुलाइ बिभिन्न संघसंस्थाका नाममा दिनुले यहाँ खुल्ला स्थान तथा रूख बिरूवाकाे ठूलाे अभाव देखिन्छ । पुराना नदीनालाहरू ढलमा परिणत गरेर बाटाे बनाउँदा पर्यावरण चरमरूपले बिग्रिएकाे छ । ढिस्काहरू सम्याइएका छन् भने रूखहरु काटिएका छन् । यस्ता विषयमा स्थानीयवासीले आवाज नउठाएसम्म याे राेकिनेवाला छैन । स्थानीयवासी विकास भनेकाे आफ्नाे जग्गा भाउ बढाउनु हाे भन्ने कमजाेर मानसिकताबाट माथि उठ्न जरूरी छ ।

बुढानिलकण्ठ नगरकाे हकमा यहाँका स्थानीयवासी पर्यावरण जाेगाउन, धर्मसंस्कृति तथा जात्रामात्रालाइ स्थायी बनाउन तथा सम्पदा बचाउन आफै आन्दाेलित हुनु पर्ने देखिन्छ । स्थानीयवासी आन्दाेलित नभै यी पक्षकाे संरक्षण हुने सम्भावना छैन ।