सम्पादकीय


नेपाली राजनीतिकाे सबैभन्दा ठूलाे समस्या भ्रष्टाचार हाे । भ्रष्टाचारकाे विषयमा शक्तिशाली मन्त्री गाेकुल बास्काेटाकाे प्रत्यक्ष संलग्नता भएकाे काण्ड बाहिरिएपछि याे विषयले प्रधानमन्त्रीलाइ तानेकाे छ । धर्मपुत्र भनेर चिनिएका तथा ओली निवासमा बसेका गाेकुल बास्काेटा ओलीका सबैभन्दा भराेसामन्द व्यक्ति हुन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली लगातार आफूलाइ भ्रष्टाचार बिराेधी भन्दै आएका छन् । तर ओलीका अत्यन्त निकट, विश्वासपात्र र वफादार बास्काेटाले सञ्चारमन्त्रीका रुपमा एउटा स्वीस कम्पनीको ‘प्रिन्टिङ प्रेस’का प्रतिनिधिसँग त्यसकाे खरिदमा कमिसनको रकमबारे मोलतोल गरेको ‘अडियो’ सामाजिक सञ्जालमा आएपछि उनले राजिनामासम्म दिएका छन्।

के याे बास्काेटाले राजिनामा दिएर अन्त्य हुने विषय हाे ? कर्मचारीदेखि मन्त्रीहरुले उठाएको रकम ‘पार्टी’सँगै ‘माथि’सम्म जान्छ भन्ने आराेपबीच आएकाे यति ठूलाे रकमकाे काण्डले रकम माथिसम्म जान्छ भन्ने मान्यतालाइ आमविश्वासमा परिणत गरेकाे छ । याे काण्डले प्रधानमन्त्री केपि ओलीप्रति जनतामा झन् अविश्वास बढाएकाे छ । लगातार बिभिन्न विषयले जनतामा अविश्वासी बनिरहेकाे प्रधानमन्त्री ओलीलाइ बास्काेटा काण्डले ठूलाे समस्यामा पार्ने देखिन्छ ।

बास्काेटाकाे अडियाे टेपमा भनिएकाे त्यो रकम  कुन रुपमा कसकसलाइ लेनदेन हुनेवाला थियाे वा भयो वा त्यो कहाँ गयाे ? याे प्रश्नले प्रधानमन्त्री ओलीलाइ नछाड्ने देखिन्छ । प्रम ओलीलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अदालतलाइसमेत प्रधानमन्त्रीको लाचार छायाँ बनाएकाे भनेर आराेप लागिरहेकाे बेला बास्काेटाकाे राजिनामा तत्काललाइ सहज बाटाे भए पनि प्रमतिर आराेप  लाग्ने निश्चित छ । याे विषयकाे विश्वसनीय छानबिन गर्ने प्रयास भएन भने  प्रमतिर प्रश्न तथा आराेपकाे वर्षा हुने देखिन्छ ।

सत्ताधारी नेकपा तथा वर्तमान सरकार भ्रष्टचारमा चुर्लुम्म डुबेको भनेर आराेप लागिरहेकाे छ । भ्रष्टाचारकाे आहालमा डुबेर प्रधानमन्त्रीले दिने ‘भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न’ भन्ने अक्सर दोहोरिने वाणीकाे अब अर्थ छैन । दुइतिहाइ बहुमतकाे सरकारकाे प्रमुख भएपछि लगातार बिभिन्न अनियमितता तथा भ्रष्टाचारकाे विषयमा जान अन्जान जाेडिएका ओलीले आफूलाइ राम्राे हुँ भनेर देखाउन सानाेतिनाे प्रयासले पुग्नेवाला देखिदैन । प्रमले ओलीले  भाषणकाे भरमा मात्र  आफू स्वच्छ हुँ भनेर  गर्ने प्रयासले  अब पर्याप्त हुनेवाला छैन ।

यदि प्रम ओली साँच्चै नै ‘भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न’ भन्ने विषयमा सत्य छन् भने उनले याे विषयकाे निष्पक्ष छानबिन तथा भ्रष्टाचारमा लिप्त भएका बास्काेटाजस्ता पात्रलाइ कारबाही गर्न आवश्यक छ । सम्भवतः बास्काेटाकाे केस नै प्रम ओलीकाे जीवनकाे काेशेढुङ्गा हुनेछ । याे विषयकाे गाम्भीर्यता बुझेर उनले चाल्ने पाइला वा नबुझेर नचाल्ने पाइलाले नेपालका भविष्यलाइसमेत प्रभाव पार्न सक्नेछ ।

अविनले बनाएकाे याे कार्टुन साभार गरिएकाे हाे ।