• केशव पाठक

प्रधानमन्त्री केपि सर्मा ओली नेपालका लागि याे शताब्दीकै सम्भवतः आजसम्मकाे सबैभन्दा शक्तिशाली प्रधानमन्त्री हुन् । राणाकालपछि बनेकाे सरकारकाे इतिहासमा ओली सरकार नै यस्ताे सरकार हाे जसलाइ कतैबाट छेकवार लाग्ने  अबस्था छैन । भारतले लगाएकाे नाकाबन्दीकाे पृष्ठभूमिमा राष्ट्रवादी हैसियतले जनताबाट विशाल अनुमाेदन पाएका ओलीकाे शक्तिशाली प्रधानमन्त्री कालकाे करिब आधा हिस्सा सक्किएकाे छ । यद्यपि जुन आशा तथा अपेक्षा ओलीलाइ जनताले गरेका थिए प्रधानमन्त्रीका रूपमा ओलीले जनतालाइमात्र हैन विश्वलाइ नै निराश बनाएका छ । याे दुइवर्षमा उनले यति गाली खाएका छन् जुन गणनागरी साध्य छैन ।

प्रधानमन्त्री ओलीले पटक-पटक आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको बताउँदै आएका छन् । ‘म आफू पनि भ्रष्टाचार गर्दिनँ, कसैलाई गर्न पनि दिन्नँ । भ्रष्टाचार गर्नेको मुख पनि हेर्दिनँ’ भन्ने प्रधानमन्त्रीको भनाइ थेगोजस्तै बनिसकेको छ । यही थेगाे अहिले ओलीकाे गलपासाे भएकाे छ । उनी आफ्नै धर्मपुत्रमार्फत भ्रष्टाचारमा सक्रिय पाे छन् कि भन्ने आशंका जनतामा परिरहेकाे छ ।

आर्थिक वर्ष २०७६/०७७ को सरकारको नीति तथा कार्यक्रममै कुनै पनि सार्वजनिक पदमा बस्नेलाई भ्रष्टाचार गर्न छुट नदिने उल्लेख छ । गत बैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ, ‘सबै सार्वजनिक पदाधिकारीहरूलाई म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ, म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु भन्ने प्रतिवद्धता आत्मसात् गरी सेवा प्रवाह गर्न निर्देशित गरिएको छ ।’

त्यतिमात्रै होइन, अडियो प्रकरण सार्वजनिक हुनु ठीक एक हप्ता अघिमात्रै प्रधानमन्त्रीले संसदमा भनेका थिए- ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ । गत बर्षको सम्बोधनका क्रममा मैले भनेको थिएँ, कसैले मेरो भनाइलाई भन्नको लागि भनेको ठानेको छ भने त्यसले गल्ती गर्दैछ । दूराचारी र दूराचार, भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन । जो, जतिसुकै उच्च ओहोदावाल होस् या कथित पहुँचवाला, तिनको मुख हेरेर सजाय तोकिन्नँ । कारवाही गर्ने र नगर्ने फैसला लिइन्नँ ।’

सरकारले दुई वर्षमा गरेको उपलब्धी सार्वजनिक गर्दैै प्रधानमन्त्रीले भनेका थिए, ‘सुशासनका संयन्त्रहरु क्रियाशील हुँदा भ्रष्टाचारमा निर्लिप्त हुनेहरु मुर्मुरिँदा रहेछन् । यस्तो अवस्थामा ‘नील वर्ण श्रृङ्गाल (नीलो स्याल) कथा’ स्मृतिमा आउँदो रहेछ ।’

यो विषय प्रधानमन्त्री ओलीकाे जिम्मेवारी र नैतिकतासँग मात्रै जोडिएको छैन, कानूनी प्रश्न पनि हो । भ्रष्टाचार निवारण ऐनमा भ्रष्टाचारका मतियारलाई समेत कारवाहीको व्यवस्था छ । ऐनको दफा २२ मा भनिएको छ, ‘यस ऐनमा अन्यत्र छुट्टै व्यवस्था भएकोमा बाहेक यस ऐनअन्तर्गत सजायँ हुने कुनै कसुरको मतियारलाई त्यस्तो कसुर गर्ने राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिलाई हुने सजायँको आधा सजायँ हुनेछ ।’