फेरि अर्कोचोटि संसद् प्रवेशका नाममा नेकपा उपाध्यक्ष वामदेव गौतमको बदमान गर्ने खेलो मौलाएको छ । यो त्यही पुराना खेलाडीहरूले चलाएको खेलो हो, जो सिंहदरबारभित्रै बसेर गरिँदै छ ।

वामदेवलाई राष्ट्रियसभामा लैजाने कुरामा प्रधानमन्त्री केपी ओलीदेखि प्रचण्ड, माधव नेपाल, झलनाथ खनालसहित सबैजसो नेता सहमत भएका हुन् । तर, स्वयं वामदेवले प्रधानमन्त्री बन्ने कुराको सुनिश्चितताबेगर संसद्मा मात्रै जानुको केही अर्थ नहुने बताउँदै आउनुभएको थियो ।

नेकपाको पछिल्लो सचिवालय बैठकले प्रधानमन्त्री बनाउने मामिला मात्र हैन, राष्ट्रियसभाको सिट थप्नुपर्ने विषयमा राजपाले उठाइरहेका कुरा र संशोधन नगरी नहुने अन्य केही बुँदाबारे अध्ययन गरौँ भनेर माधव नेपाल नेतृत्वमा सुवास नेम्वाङ र खिमलाल देवकोटा रहेको कार्यदल बनाउने कुरा गरेकै हो । तर, यस्तो कुरालाई प्रचारमा नलैजाने, भित्री रूपमा त्यो विषयको सम्भाव्यता अध्ययन गर्ने भन्ने सचिवालय बैठकको कुरा थियो । त्यसैले केही समय यो कुरा सार्वजनिक भए ।

वामदेव प्रधानमन्त्री बन्ने कुरामा प्रचण्ड, माधव नेपाल, झलनाथजस्ता प्रधानमन्त्री भइसकेका नेताहरू असहमत छैनन् । किनभने, वामदेव प्रधानमन्त्री बन्दा उनीहरूको केही पनि बिग्रँदैन । तर, प्रधानमन्त्री नबनेको र बन्ने तीव्र चाहना पालेका ईश्वर पोखरेल यो कुराबाट मारमा पर्ने एक मात्र व्यक्ति हुन् ।

पार्टीभित्र जो शक्तिमा आयो, उनको पछि लाग्ने ईश्वरको पुरानो बानी केपी शक्तिमा आउँदा पनि जारी रह्यो । उनले केपीसँग नजिक हुन आफ्ना लागि माधव नेपाल मरेतुल्य हुन् भनेर विश्वासिला पत्रकार मात्रिका पौडेललाई बोलाएरै अन्तर्वार्ता दिएका थिए, जो अनलाइनखबरमा दुई वर्षपहिल्यै प्रकाशन भएको छ । र, यसरी पत्रकार बोलाएर आफ्ना तुष्टि मेट्ने काम उनले अहिले पनि छाडेका रहेनछन् ।

अहिले प्रधानमन्त्रीका प्रेस सल्लाहकार रहेका सूर्य थापा खासमा ईश्वरका भित्रिया हुन् । तर, उनले पार्टीका अर्का अध्यक्ष प्रचण्ड, पूर्वमाओवादीले आफ्नो विरासतका रूपमा गर्व गर्ने जनयुद्धजस्ता विषयमा अशिष्ट टिप्पणी गर्ने, पार्टी एकतालाई विलयको अर्थमा प्रस्तुत गर्नेजस्ता काम गरिदिँदा प्रधानमन्त्री ओली र प्रचण्डबीचकै समम्बन्धमा पनि चिसोपना आइरहेको थियो ।

यही कुरालाई दृष्टिगत गर्दै प्रधानमन्त्रीले केही दिनयता सूर्यलाई धेरै स्पेश नदिने नीति अख्तियार गर्नुभएको छ । त्यसैले आफ्नो जन्मदिन मनाउन तेह्रथुम जाँदा प्रमले सूर्यलाई जान दिनुभएन । जबकि, हेलिकप्टर चढेर जाने सूचीमा पहिला उनको नाम थियो । त्यसपछि बद्नाम नै सही, सल्लाहकार विष्णु रिमालका भाञ्जा पर्ने, कांग्रेस पृष्ठभूमिका मनोज पाण्डे तेह्रथुम लगिए ।

यता, तेह्रथुम जान नपाएको रिस, अर्कातिर वामदेव शक्तिमा आउँदा आफू सोत्तर हुनुपर्ने, ईश्वरलाई पनि घाटा पर्ने पिरले सताएपछि पार्टी गोपनीयता खोल्ने काम शुरु भयो, सिंहदरबारस्थित प्रधानमन्त्री सचिवलयभित्रैबाट । सूर्यले आइतबार दिउँसो शुरुमा कान्तिपुरकी बिनु सुवेदीलाई बोलाएर कुरा चुहाए । तर, त्यसपछि अरू पत्रकारलाई पनि उनले पालैपालो बोलाएका थिए, त्यही कुरा भन्नलाई ।

एउटै विषयलाई ‘तपाईंलाई मात्रै भनेको’ भन्ने गरी पत्रकारहरू बोलाइँदा एउटाले अर्कोसँग भेट्न नपाओस् भन्ने उनको योजना थियो । तर, बिनुले चिया पिउँदापिउँदै अर्का पत्रकार मुन्तिर आइपुगेको देखेपछि सूर्यले बिनुलाई पिउँदै गरेको चिया नसकिँदै ‘लु, तपाईं यहाँबाट गइहाल्नुस्, यहाँ अर्कै मिटिङ गर्ने बेला भयो’ भनेर धकेल्दै कार्यकक्षबाट निकाले । बिनु त्यहाँबाट सर्भिस सेन्टरमा चिया पिउन पुगिन् ।

त्यहाँ नेपाल टेलिभिजनकी निमा काफ्ले र भूमिसुधारमन्त्रीको सचिवालयमा पनि रहेका पत्रकार राजेश शर्माहरू थिए । बिनुले भनिन्, ‘सूर्य दाइले मलाई पिउँदा पिउँदैको चिया नसकिँदै कोठाबाट निकालेर क्या दुव्र्यवहार ग¥यो यार…।’ बिनुले यसो भन्दाभन्दै अनलाइन खबरका मात्रिका पौडेल त्यहाँ पुगे । ‘सूर्य थापालाई भेट्नुपर्ने कुराचाहिँ के थियो त ?’ मात्रिकाले बिनुलाई सोधे । बिनुले सूर्यले भनेको कुरा सुनाइन् र समाचार कान्तिपुरबाट ब्रेक भएलगत्तै अनलाइन खबरमा पनि आयो ।

बिनुलाई निकाल्नुको कारण थियो, सेतोपाटीका सञ्जीव बगाले, अक्षर काकाहरूलाई पनि त्यही सूचना चुहाउन बोलाएका थिए । सेतोपाटीका सम्पादक अमित ढकाल र सञ्जीवलाई त ईश्वर पोखरेलसँगै कुरा गराए । त्यही कुराकानीका आधारमा सेटोपाटीमा ‘केपी ओलीविरुद्ध कू’ शीर्षकमा विश्लेषण नै आयो ।

यसपछि आफ्नै काम लिएर प्रेस संगठनसम्बद्ध जनकपुरका पत्रकार शीतल साह, सल्यानका जीवन बिसीहरू सूर्यलाई भेट्न पुगे । उनीहरूले सोधे, ‘गोप्य निर्णय रहेछ, बाहिर किन ल्याइयो त ?’ सूर्यले जवाफ दिए, ‘जनमतको परीक्षण होस् भनेर होला नि †’देखापढी डटकमका सम्पादक रामेश्वर बोहरालाई पनि सूर्यले भन्न भ्याइसकेका थिए ।

उनले चाहिँ पुष्टि गर्न पहिला माधव निकटस्थ विष्णु रिजाललाई सोधे, उनले होइन भने । त्यसपछि झलनाथ खनाललाई फोन गरे । ‘नभन्ने भनेको थियो, तपाईंले त थाहा पाइसक्नुभएछ’, झलनाथले यसरी भनेपछि कार्यदल बनेको हो कि होइन भनेर सोधिरहनु परेन । अनि, रामेश्वरले समाचार बनाए ।

यो दृश्यमा प्रकट भएका पत्रकारमध्ये अमित ढकालबाहेक सबै पूर्वएमाले निकटका हुन् । यसो भएपछि कसले लगायो ? कसरी लगायो ? जस्ता कुरा नेताका कानमा नपुग्ने कुरै भएन । कुरा उठेपछि ईश्वरले ट्वीट गरेरै आफ्ना कुरा आफैँले राखे । लेखे, ‘अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुन सक्ने कुरा गर्दै आएका भित्रैबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिँदै छ । मानिसहरू उदेक मान्दै छन् । केका लागि संविधान संशोधन ? खबरदारी बहस गर्ने बेला आएजस्तो छ । कुरा लुकाएर, ढाँटछल गरेर कति दिन चल्छ– कसरी चल्छ ? राजनीति गरिन्छ, जुवा खेलिन्नँ †’

आइतबार नै प्रचण्डले खिमलाललाई ‘तपाईं कार्यदलमा हुनुहुन्छ, भोलि आउनुस् है’ भन्नुभएको थियो । कारण हो, वामदेवको उपाध्यक्ष पदलाई विधानमा मिलाउने काम बाँकी थियो । त्यसका लागि महासचिव विष्णु पौडेलले खिमलाललाई जिम्मा लगाउनुभएको थियो । त्यो काम आइतबार नै टुंगिएर विधान छपाइका लागि प्रेसमा पठाइएको छ ।