तस्बिर ः वागमती टेलिभिजन प्रसारण इजाजत पत्र दिँदै रजिस्टार रेवती सापकोटा र प्रमाणपत्र ग्रहण गर्दैै एलन

काठमाडौँ । वागमती प्रदेशको स्थायी राजधानी हेटौंडाबाट २०७७ वैशाख १ गतेदेखि वागमती टेलिभिजन प्रसारण हुने भएको छ ।

सञ्चार रजिस्टारको कार्यालय हेटौँडामा आइटिआइ मिडिया प्रालिका नाममा शुक्रबार वागमती टेलिभिजन दर्ता भएको छ । तीनसाताभित्र परीक्षण प्रसारण र नयाँ वर्षदेखि नियमित प्रसारणको तयारीसहित काम भइरहेको वागमती टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत रामकुमार एलनले बताए । २४ सै घण्टा प्रसारण हुने टेलिभिजनले नेवारी, तामाङ, भोजपुरी, अँग्रेजी र नेपाली भाषमा दैनिक १४ बुलेटिन प्रसारण गर्ने छ ।

हेटौँडामा प्रसारण स्टेसन निर्माण भइरहेको र एउटै प्रसारण गृहबाट टेलिभिजनसँगै नेटवर्क एफएम र नेटवर्क म्युजिक एफएम पनि प्रसारणमा ल्याइने निर्देशक मनोज ढोडरीलेको काठमाडौँखबरलाई बताए। कम्पनीले दुवै एफमएमको पनि प्रसारण इजाजत लिइसकेको छ ।

हेटौँडाका उद्योगी, व्यवसायी समाजसेवीसहित सर्वसाधारणको ४ करोड रुपैयाँ लगानीमा वागमती टेलिभिजन, नेटवर्क एफएम र नेटवर्क म्युजिक एफएम प्रसारणको तयारी भएको प्रबन्ध निर्देशक तिलक अधिकारीले प्रस्ट पारे । रेडियो र टेलिभिजनमा ३० पत्रकारसहित ७५ जनाले रोजगारी पाउने छन् ।