चन्द्रविनायक मन्दिर (चावहिल गणेश) मन्दिर पनि भनेर चिनिने गरिन्छ । फाइल फोटो

काठमाडौँ ः कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पशुपति क्षेत्रस्थित उपत्यकाका चार विनायकमध्येको एक चन्द्रविनायक मन्दिर आजदेखि बन्द गरिएको छ ।

चावहिल गणेश समेत भनेर चिनिने मन्दिर सङ्क्रमणको जोखिम नघटेसम्मका लागि बन्द गरिएको श्री चन्द्रविनायक तथा श्री भैरवनाथ भजन मण्डल समितिले जनाएको छ । मन्दिरमा प्रत्येक साता मङ्गलबार हजारौँ दर्शनार्थीको भीड लाग्थ्यो । मङ्गलबार मन्दिरमा आई पूजा आजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, शरीरमा घाउ खटिरा आएमा निको हुने विश्वास रहेको समितिका अध्यक्ष नवीन गोर्खालीले बताए ।

समितिले मन्दिर आउने भक्तजनलाई एक÷एक फिटको दूरीमा आज मङ्गलबार दर्शन गराउने तयारी गरेकामा सोमबार बेलुकी सरकारले लकडाउनको निर्णय गरेपछि सूचना टाँस गरी मूलढोकामा तालाबन्दी गरिएको उहाँले जानकारी दिनुभयो । आउन सक्ने भक्तजनले मुलढोका बाहिरबाट दर्शन गरी घुमेर जान सक्ने छन् ।

मन्दिरमा नित्य हुने पूजा आरती लगायत विधि भने यथावत् रहने समितिले जनाएको छ । भूकम्पले भत्किएर पुनःनिर्माण भइरहेको मन्दिर अझै पूरा हुन सकेको छैन । पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषबीच पुराना काठ राख्ने वा नराख्ने विवादले तीन महीना काम बन्द भएको काठमाडौँ महानगरपालिका वडा नं.–७ का अध्यक्ष शुद्ध डङ्गोलले भने  ।

दुई तलाको काम भइसकेकामा भत्काएर पुराना काठ झिकी नयाँ काठ राखेर पुनःनिर्माण भइरहेकामा कोरोना भाइरसको सन्त्रासका कारण फेरि काम रोकिएको छ । पुराना काठलाई मन्दिरको पाटीमा सुरक्षित राखिएको जनाइएको छ ।