काठमाडौँ- प्रहरी प्रधान कार्यालयले कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजबाट आएका एक सय २५ जना सम्पर्कमा आएको दावी गरेको छ। प्रहरी स्रोतका अनुसार सम्पर्कमा आएका ती व्यक्तिहरुलाई स्वास्थ्य परिक्षण गरेर सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ।

साताअघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवती सुरुमा सेल्फ क्वारेन्टाइनमा बसेपनि पछि कोरोना संक्रमण पुष्टि भएपछि उनलाई टेकु अस्पतालमा राखेर उपचार गराइ रहेको छ।

प्रहरीले संक्रमित युवती आएको जहाजका अन्य यात्रुबारे पनि खोजी सुरु गरेको थियो। स्रोतका अनुसार ती युवतीसँगै एक सय ५८ यात्रु त्यस दिन कतार एयरवेजबाट नेपाल आएका थिए। अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। अध्यागमन विभागसँग तथ्यांक मागेर प्रहरीले उनिहरुको खोजी गरिरहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशबाट आउने यात्रुलाई अनिवार्य सेल्फ क्वारेन्टाइन र होम क्वारेन्टाइनमा बस्न निर्देशन दिएको थियो।