नेपालमा कोरोना भाइरसको आशंकामा एक हजार एक सय ३३ जनाको नमुना संकलन गरी परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले गरेको आज पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी गराएका हुन् । “सातै प्रदेशका आइसोलेसनमा कोरोना भाइरसको आशंकामा ९९ जना भर्ना भएका छन्,” उनले भने, “आजबाट पोखरामा पनि कोरोना परीक्षण सुरु भइसकेको छ ।”

आज बेलुकासम्ममा हेटौंडामा पनि कोरोना परीक्षण हुने तयारी रहेको देवकोटाले बताए । “बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानले ४ दिनमा १२ जनाको परीक्षण गरेको छ,” उनले भने । उनले ६ हजार ९ सय कल आएकामा २४ घण्टामा मन्त्रालयको हटलाइन नम्बर १११५ र ११३३ मा दुई हजार ३ सय २३ कलको गुनासो समाधान गरेको जानकारी दिए ।

कन्ट्र्याक टेसिङको काम ८४ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । “कन्ट्र्याक टेसिङ संक्रमितको नजिक रहेका मानिसलाई क्वारेन्टाइनमा राखिन्छ, नमुना परिक्षण गरिन्छ,” उनले भने । नेपालमा हालसम्म ५ जनामा कोरोना संक्रमण देखिएको छ भने दुई जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ । एकको धनगढीको सेती प्रादेशिक अस्पताल र बाग्लुङको धौवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।