गायक गङ्गा वरदानलाइ भुल्नु भाे ? लकडाउनमा सुन्ने कि त ।

कहिले गाउँका गोरेटाहरूमा अनि कहिले शहरका सडकहरूमा एउटा फरक हुलियाको ज्यान लमक–लमक लम्किरहेको भेटिन्छ । ख्याउटे शरीर, लट्टा परेको लामो कपाल र अग्लो कद देख्ने बित्तिकै परैबाट चिनिन्छन्, गायक गङ्गा वरदान ।

वर्षौंदेखि धरान, काठमाडौंदेखि गाउँघरसम्म यायावर शैलीमा यसरी नै घुमिरहेका वरदानले जीवनका ६८ वसन्त पार गरे अनि साङ्गीतिक यात्रा चाहिँ आधा शताब्दि अर्थात् ५० वर्ष । तर उनको जोश, जाँगर लक्का जवानभन्दा कम छैन । त्यसैले त अहिलेसम्म उनी गाउँ–शहर घुम्दै गीत रच्न, गाउन व्यस्त छन् ।

भोजपुरको एउटा सम्पन्न जिम्मावाल परिवारमा २००९ सालमा जन्मिएका उनी शुरुमा गङ्गा प्रधान थिए । साङ्गीतिक क्षेत्रमा लागेपछि नामका पछाडि ‘वरदान’ लेखेर सङ्गीतमा होमिए । उनलाई कोठामा बसेर गीत–सङ्गीत गर्न मन लाग्दैन । त्यसैले यायावर शैलीमा गाउँ–गाउँ डुल्दै गीत लेख्छन् र गाउँछन् । उनको तर्क छ, ‘यसरी हिँड्दै डुल्दै जाँदा सबैतिर चिनजान भयो । सबै आफ्नै मान्छेजस्ता लाग्न थाले, संसारै आफ्नोजस्तो लाग्छ ।’

२०२५ सालमा भोजपुर जिल्लामा अन्तरमाध्यमिक विद्यालय लोकगीत तथा नृत्य प्रतियोगिता भएको थियो । दिङ्ला अरुण इङ्लिस हाईस्कुलबाट गङ्गा वरदान, विष्णु अधिकारी, केदार चापागाईं, मानबहादुर राई र देवी श्रेष्ठको टोली सहभागी थियो । गङ्गाले सानैदेखि गाउँघरमा सुन्ने गरेको गीत सङ्कलन गरेर आफ्नै शैलीमा तयार पारेका थिए । त्यही गीत सामूहिक रूपमा सुनाए ।
दाइ त काले भाइ पनि काले
काले काले मिलेर खाऊँ भाले ।

उनीहरूको समूह दोस्रो भयो । कार्यक्रमको निर्णायकमा गणेश रसिक र नवीनकिशोर राई थिए । पछि त्यो गीत रसिकको स्वरमा रेकर्ड भयो । १६ वर्षको उमेरमा गाएको त्यही गीतलाई हिसाब गर्दा वरदानको साङ्गीतिक यात्राले पचास वर्ष नाघ्यो । ‘सानो छँदा गाउँमा स्वस्थानी पूजा, विहेतिर गाउँथेँ । अलि–अलि नाच्थेँ पनि’ उनी सङ्गीत यात्राको छोटो कथा सुनाउँछन्, ‘आठ–दश वर्षको उमेरदेखि नै रेडियोमा बज्ने गीत गाउँथेँ । पछि १६ वर्षको उमेर हुँदा आफै गीत सङ्कलन र लेखनतिर लागेँ । त्यसपछि निरन्तर यही कर्म बन्यो ।’

पहिलोपटक सङ्कलन गरेर गाएको ‘दाइ त काले भाइ पनि काले’ बाट पुरस्कार पाएपछि उनको साङ्गीतिक रफ्तार बढ्न थाल्यो । अलिपछि ‘कहाँमा काट्यो बेतको लौरी’ सङ्कलन गरेर रेडियो नेपालमा गाए अनि त उनी देशविदेशमा गायकका रूपमा चिनिए । वरदानको त्यही गीत केही वर्षअघि विपुल क्षेत्रीले बिना अनुमति आफ्नो गीत भनेर गाएपछि विवादमा परे । पछि वरदानसँग माफी माग्दै युट्युबबाट हटाएका थिए ।

छपनीले छान् छान् डबकीले हान
डबकीको निगारैले लाग्यो मलाई बान…….
वरदानको सबैभन्दा बढी सुनिएको र उनलाई गायकका रूपमा स्थापित गराउने गीत हो यो । २०३१ सालमा धरानमा भएको गायन प्रतियोगितामा भोजपुरबाट यही गीत लिएर उनी सहभागी बनेका थिए । प्रतियोगिता एसएलसी परीक्षाका बेला थियो । उनी गीत गाएर निर्णय नसुनी एसएलसी दिन हतार–हतार भोजपुरतिर लागे । उनको गीत प्रथम भएछ । ‘त्यसबेला सञ्चारको सुविधा थिएन । आफ्नो गीतले प्रतियोगिता जितेको तत्काल थाहै पाइनँ’ उनी सुनाउँछन्, ‘त्यसबेला १ तोला सुन र ५ हजार नगद पुरस्कार साथीहरूले थापेर खाइदिएछन् । मैले त फस्ट भएको १ महिनापछि धरान झर्दामात्र थाहा पाएँ । म आउँदा त प्रमाण–पत्र मात्रै बाँकी रहेछ ।’

प्रथम भएको यो गीत उनले कार्यक्रमतिर गाउँदै हिँडे । यो गीत रेकर्ड चाहिँ २०५४/५५ सालमा मात्र भएको हो । त्यसपछि उनका गीतहरू ‘बजारै भरौं न धरानै’, ‘राजाको हात्ती फुकेछ राति’, ‘अरुणै तरेँलगायतका धेरै गीत चर्चित भए । कुनै बेला नमस्ते ब्याण्डमा आबद्ध भएर पनि धेरै ठाउँमा प्रस्तुति दिए । गीत–सङ्गीतमै आधा शताब्दि बिताएका वरदान अहिले पनि नयाँ गीत सिर्जना गर्ने र विभिन्न साङ्गीतिक कार्यक्रममा गाउने गरिरहेका छन् । उनी भन्छन्, ‘जीवनै सङ्गीतमा बित्यो त्योभन्दा अरु केही गरेको छैन ।’

उनले नेपालीहरू जहाँ–जहाँ छन् ती ठाउँमा पुगेर गीत लेखे, गाए । उनको परिचय पनि बन्यो । तर उनको आर्थिक अवस्था अहिले पनि नाजुक छ । चार वटा एल्बम्को रोयल्टी नपाएको गुनासो छ उनको । उनी सिक्किम पुगेका बेला एकजनाले प्रश्न गरे, ‘तपाईका यति धेरै गीतहरू हिट छन् । तीन पुस्तालाई पुग्ने सम्पत्ति कमाउनुभयो होला नि ?’ वरदान अक्क न बक्क भए । उनी भन्छन्, ‘म के भन्नु, कसो गर्नु भएँ । यतिको चलेका गीतको गायकले उनले भनेजस्तै कमाउनु पर्ने हो तर सबैतिरबाट ठगिएपछि के कमाउनु । न सरकारले वास्ता गर्छ, न अरूले । तर पनि अहिलेसम्म हाँसेरै हिँडेको छु ।’

उनको गाउने शैली र गेटअपका कारण वरदानलाई ‘नेपाली बब मार्ले’ भनेर चिन्नेहरू पनि धेरै छन् । पत्रकार गिरिश गिरीले ‘नेपाली बब मार्ले’ भनेर लेखेपछि उनलाई धेरैले त्यही परिचयले हेरे । तर वरदान आफूलाई गाउँघर डुल्ने एउटा यायावर गायककै रूपमा चिनाउन चाहन्छन् । वरदान अहिलेका पुस्ताका गीतहरू सुन्छन् तर अहिले माया–प्रीतिका गीत बढी उच्छृङ्खल भएको जस्तो लाग्छ उनलाई । ‘भन्न चाहिँ मायाका गीत भन्ने, सुन्दा चैँ विरहका, बिछोडका र धोका पाएका कुरा मात्र धेरै भए । गीतमा छाडापन आयो’ –उनी भन्छन् । जे गाए पनि जस्तो गाए पनि प्रचार गरेको भरमा हिट हुने चलन उनलाई मन परेको छैन । उनी भन्छन्, ‘माया भनेको सकारात्मक, जीवनवादी कुरा हो, त्यसैले म त्यस्तै गीत मन पराउँछु ।’