कविताः

न बहादुरले राहत पायो 

  • विसु कुमार के.सी.

रन बहादुरसँग आज धेरैले सेल्फी लिए
कति जनाले फेसबुकमा उसको फोटो हाले होलान्
बिचराको भने फेसबुक छैन ।
सिनेमाको हिरोको जस्तो,
चुनाव जितेको नेताको जस्तो,
उसको अनुहार पनि टेलिभिजनको क्यामेराले हेर्यो ।
पत्रकारहरुले उसले बोक्ने भारी भन्दा पनि गह्रौ प्रश्न सोधे,
खानीका ढुङ्गा फुटाए झै उसले पनि जवाफ दियो,
कस्तो देखियो आफ्नै रुप ?
कस्तो सुनियो अफ्नो आवाज ?
उ अफैले भने देख्न सुन्न पाएन,
मात्र सित्तै चामल दाल र तेल पायो
रनेले आज राहत पायो ।
उ बेलामा त आतंकारी होस् भनी केरकार गर्नेहरु पनि आएका थिए,
तँ सुराकी होस् भनी भाटा हान्नेहरु पनि आएका थिए ।
आएका थिए चुनावमा भोट माग्न आउनेहरु पनि,
काम गरेको ज्याला दिन गाह्रो मान्ने,
साहुजी पनि “बिचारा” भन्दै आएका थिए
घर खेत खाएर उठी बाँस लाउने मुखिया पनि “कठैबरा” भन्दै आएका थिए
सबैले मिलेर त्यै एक पोका राहत ल्याएका थिए ।
रनेले आज राहत पायो ।
अघि पछि भोकै नाङ्गै भए पनि बेला बेलामा उस्ले राहत पाएको छ ।
बाढी पहिरो आएको वर्ष,
भुँइचालो आएको वर्ष,
आगलागी भएको वर्ष,
अनि यस्तै महामारी फैलिएको वर्ष,
सित्तै खान पाएको छ ।
उ त खुशी पो भा छ ।
बगाउन बाकी आँसु त छैन उसँग र पुरिन बाँकी ज्यान मात्र छ ।
बाढी पहिरोको त उसलाई चिन्तै छैन
भत्केर भग्नावशेष भएको मन छ ।
भुँइचालोको पनि उसलाई रत्ती डर छैन
सधै आइसोलेसन मै छ उसको जिन्दगी ।
कोरोना सोरोनाको उसलाई “बाल” छैन ।
यस्तो बेलामा बरु
यसरी राहत पाइन्छ
समाजको आँखामा आइन्छ,
रने खुशी पो भएको छ
उसले आज राहत पाएको छ ।