• केशव पाठक

नेपाली राजनीतिका माथिल्ला तहका नेताहरूमा भाेलिका पिंढीले सकारात्मकरूपमा सम्झनयाेग्य पात्रहरूकाे नाम लिनु पर्याे भने निकै कम मात्र नाम हाम्रा मानसपटलमा आइपुग्छन् । ती नामहरुकाे काेटीमा वर्तमानमा शासनसत्ता चलाइरहेका आधादर्जन नेताहरूकाे नाम त कसै गरी पनि आइपुग्दैन । यिनै आधा दर्जनले हामीलाइ शासन गरेकाे २० वर्ष पुगिसक्याे । दिंवगत दुइ काेइरालाबाहेक याेबीचमा हालका प्रम केपि ओली, पूर्व प्रमहरू देउवा, माधव नेपाल, प्रचण्ड, भट्टराइ र खनालले हामीलाइ शासन गरे । तर यी सबै पात्रहरूले समस्याका चाङमा बसेर बाँसुरी बजाउने बाहेक माखाे मारेनन् ।

यी केही पात्रहरूमा पनि वर्तमान् प्रम केपि ओली त झन् खराब र अपाच्य नेताकाे काेटी परिरहेका छन् । यसअघि यस्तै विवाद र आलाेचित भैरहने शेरबहादुर देउवालाइ पनि केपि ओलीले पछारेर अपाच्यताकाे नमूना बनाएका छन् ।

कोरोना भाइरसविरूद्ध यतिखेर सम्पूर्ण विश्व  लडिरहेको छ । याे राेगसँगकाे लडाइले विश्वलाइलाइनै आर्थिक, सामाजिक, मनोवैज्ञानिक र राजनीतिक आयामहरुमा दुरगामी असर पार्दैछ । नेपालमा पनि ख्यालख्याल ठान्दाठान्दै  संक्रमितको संख्या ६० पुग्न लागिसक्यो । आमजनता काेराेनासँग त्रसित मात्रै हैन अन्याैलपूर्ण छन् । याे निरन्तर थपिइरहेकाे लकडाउन कति लामाे हुने हाे भन्ने  दिक्दारी अर्काेतिर छ ।

मानिसहरु सहरबाट आफ्नै गाउँठाउँ जान निस्केका छन् । सहर आउन नपाएर छटपटाउनेहरू अर्काेतिर छ  । उनीहरुको पीडा र त्रास शब्दमा व्यक्त गर्न सम्भवतः सकिदैन हाेला । यो बेलामा नेपाल सरकार तथा यसका महान विज्ञ प्रधानमन्त्रीले के गरिरहेका छन् वा के गर्दैछन् भन्ने विषयले नेपालीलाइ झन् विरक्त बनाएकाे छ ।

नेपाल सरकार तथा देशकाे सर्वाेच्च शक्तिशाली प्रधानमन्त्री केपी ओली के गरिरहेछन् ? भनेर चासाे लियाे भने नेपालकाे इतिहास नै छक्क पर्न सक्छ । दाेस्राेपटक मृगाैला फेरेर स्वास्थ्यलाभ गरिरहेका हाम्र प्रम जाे झन्नै दुइ तिहाइ बहुमतले सरकार चलाइरहेका छन् उनी काेराेनाकाे माहामारीमा रातारात अर्काे पार्टी फुटाउन लागेका छन् । काेराेनाकाे त्रासमा देश लकडाउनमा रहेकाे बेला  हिन्दी  सिनेमाको डनले झैं लकडाउनमा रातारात मान्छे पठाएर जनकपुरबाट अपहरणको शैलीमा सांसद उठाउने काममा बालुवाटार लागेकाे छ  ।

केपि ओलीको दाेस्राे कार्यकालकाे अढाई वर्षे शासनकाललाइ नजिकबाट नियाल्ने हाे भने हरेक महिना  कुनै न कुनै काण्ड भएको भएकै छ । हरेक काण्डमा सरकार तथा मन्त्रीहरु नै मुछिएका छन् । प्रम ओलीकाे निकटतम उनका पार्टीका प्रभावशाली नेता मुछिएका छन् ।  तर जतिसुकै नराम्राे काम गरे पनि राणा शासनमाजस्ताे प्रम ओली नराम्राे भयाे भन्नेहरूकाे नसा काट्न उद्धत भैहाल्छन् ।  छुद्र तर्क र तुच्छ गालीमा सबैलाइ नराम्राे भन्दै आफूमात्र राम्राे भन्न तम्सिहाल्छन् । पूर्णतः  बलमिच्याइँको भरमा उनले शासन चलाइरहेका छन् ।

उनका निकटतम व्यक्ति(नेता) तथा  उनका सल्लाहकार, सचिवालय वा मन्त्रीहरुलाई जतिसुकै नराम्राे काम गरे पनि उनी राम्राे हाे भनेर दाेष निवारण गर्न तम्सिहाल्छन् । उनीहरूलाइ चोख्याइ हाल्छन् । बरू काेराेना बिरूद्धमा अग्रमोर्चाका स्वास्थ्यकर्मीलाई धम्क्याउने र नसिहत दिन प्रधानमन्त्री पछि पर्दैनन् । काेराेनाकाे महामारीमा कराेडाैँका ओम्नीकाण्डमा बालुवाटार नै मुछिन्छ ।

नाकाबन्दीमा कागताली परेर उठेकाे प्रम ओलीकाे छवि यतिखेरसम्म आइपुग्दा षड्यन्त्रको मसिहाकाेरूपमा निर्वस्त्र हुँदैछ । षडयन्त्रका खेलबाट प्रधानमन्त्रीलाई फुर्सद मिलोस् न कुनै काम होस् भन्ने भावना जनतामा परिसकेकाे छ ।  प्रम ओलीबाट अब जनताले कुनै आशा गरेकाे देखिदैन । एक दर्दनाक पतनको श्रृंखलामा प्रधानमन्त्री ओली त भासिएका छन् ।  नाकाबन्दीपछि भएकाे चुनावमा जनताले आशा गरेर भाेट पाएका ओलीले  सबैभन्दा धेरै ती आशा गर्नेहरूकाे सपनाहरुको हत्या गरे ।

काेराेनाकाे लडाइँमा ओली सरकारकाे भूमिका अत्यन्तै नाजुक देखिएकाे छ । ओली सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गर्न गरेर माहामारी र लकडाउनकाे युद्ध लड्न सकेन । उल्टाे डा शेरबहादुर पुनलाइ स्पष्टिकरण साेध्ने तथा आफू केही नगर्ने र गर्न खोज्नेलाई पनि सिडिओको घाँडो भिराएर गर्न नदिने काम याे सरकारले गरिरहेकाे छ ।

काण्डैकाण्ड, षडयन्त्र, भ्रष्टाचार लगायतका विषयकाे लावालस्करलागाएर प्रम केपि ओलीले आफ्नाे आयतनलाइ नग्नमात्र हैन कुरूप नग्न बनाएका छन् । यही कुरूप नग्नतामा पार्टीभित्र भाँडभैलाे मच्चाएर अर्काे जगहसाइँ भैरहेकाे छ । यहि जगहँसाइमा उनी काेराेना महामारीपछि वामदेव गाैतमलाइ प्रम बनाउने तुच्छ तुरूप फ्याँकेर प्रमकाे पदमा सुरक्षित हुने काेशिसमा पुगेका छन् ।

सम्भवतः प्रम ओलीसँग नैतिकताकाे अपेक्षा गर्नु ठूलाे भ्रम हाे । उनी यही किंचङ्गलाेमा लामाे अबधि राज गर्न चाहन्छन् । मिले अर्काे चुनाव जितेर फेरि प्रम हुन चाहन्छन् । अन्यथा नसाेचियाेस्, प्रम ओलीले मिल्याे भने आफ्नाे शेषपछि एकवर्ष आफ्नाे सम्मानमा प्रमकाे कुर्सी खाली राख्ने कागजमा सबैलाइ हस्ताक्षर गराउन पनि पछि पर्दैनन् ।