• कविता

    विसुकुमार के.सी.

आजकल फुलहरु रंगविहीन फुल्दछ्न्
हावा पनि शुष्क-शुष्क बहन्छन्
बेकारमा उदाउछ घाम र
बेरोजगार भै अस्ताउँछ
आजभोलि दिन
दिन हुदैंन
उज्यालो र अँध्यारो
दुईथरी रात मात्र हुन्छ ।
रुख बिरुवामा
नयाँ पात पलाएका छन्
आकाश खुल्ला छ,
चराहरु पखेटामा कुँजी पारेर
गुँड भित्रै लुकिरहेछन्
गुँडमा अण्डा पारेका छैनन्
तर ओथारो बसिरहेछन् ।
न सवारीहरुले अंगालो मार्दछन्
न पैतालाहरुले स्पर्श गर्छन्
अंगहरुमा झरेका
जाकरण्डाका फुलहरु पनि बिझाउँछन्
सायद आजभोली सडकहरु कतै हिडदैनन्
प्रेम बियोगमा परेकी नारी झै
सिरानी च्यापेर बिछ्यौनामा
कोल्टे मात्र फेर्छन् ।
शहरका शोरुम भित्र
डमीहरु नाङ्गै छ्न् र
भुतका बच्चाहरु झै
बन्द झ्याल ढोकाका चेपबाट
चिहाई रहेकाछन्
अजिबको सुनसान मात्र छ र
यो शहर उहीँ शहर हैन
एकादेशको
भुतको शहर जस्तो भएको छ ।
आवाजको नाममा
कता कता
साइरन बजेको मात्र सुनिन्छ
समाचारको नाममा
मात्र मृतकको संख्या मात्र भन्दछ  रेडियो
र जो मरेका छैनन्
तिनिहरुलाई पनि
मरेको अभिनय गरेर सुती रहने आदेश सुनाउँछ रेडियो।
आदेश अनुसार
शहर मरेको अभिनय गरिरहेछ।
समय बेरोजगार डुलिरहेछ ।