बीबीसी प्रतिकात्म

लद्दाखस्थित भारत–चीन सीमा क्षेत्र गलवान उपत्यकामा दुई देशका सैनिकबीच भएको हिंसात्मक झडपमा २० भारतीय सैनिक मारिएका छन्। बिबिसीका अनुसार सोमबार राति भएको झडपमा ती सैनिकको ज्यान गएको पुष्टि भारतीय विदेश मन्त्रालयले गरेको छ।

मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। यो घटना दुई देशबीच ४५ वर्ष यताकै ठूलो हिंसात्मक घटना भएको उल्लेख गरिएको छ। मंगलबार मध्यान्ह एक अधिकृत तथा दुई जवानको मृत्यु भएको बताइए पनि अबेर २० सैनिकको मृत्यु भएको समाचार सार्वजनिक भएको हो। अधिकारीहरुका अनुसार गम्भीर घाइते भएका १७ जनाको पनि मृत्यु भएपछि मृतकको संख्या २० पुगेको हो।

दुई देशबीच विवाद सुल्झाउन वार्ता भइरहेका बेला उक्त हिंसा भएको हो। भारतीय विदेश मन्त्रालयले गलवान उपत्यकाको वास्तविक सीमा नियन्त्रण रेखा (एलएसी) लाई दुवै देशले सम्मान गर्ने भनि अघिल्लो साता भएको सहमतिको उल्लंघन भएको आरोप लगाएको छ।

चीनले भने यो घटनामा आफ्नो तर्फबाट भएको क्षतिका बारेमा बताएको छैन। तर भारतीय सञ्चारमाध्यमहरुले चीनतर्फ ४३ सैनिक हताहत भएको दाबी गरेका छन्। भारतीय सेनाले पनि १५ जुनका दिन गलवान उत्यकाका भएको हिंसात्मक झडपमा २० सैनिक सहिद भएको जनाएको छ

दुई देशबीच भएको यो घटनापछि चीनसँग सीमा जोडिएको हिमान्चल प्रदेशका क्षेत्रमा अलर्ट जारी गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।