काठमाडौं । निजि विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सन र एन–प्याब्सनले सरकारी निर्णयलाई खुला चुनौती दिदै लकडाउन अवधिको शुल्क बुझाउन अभिभावकलाई सार्वजनिक रुपमा आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आइतबार संयुक्त रुपमा अपील जारी गर्दै अभिभावकलाई लकडाउनको समयका पनि शुल्क तिर्न आग्रह गरेको हुन् ।

प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन–प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७६ को बाँकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागी भई विद्यालयलाई अधिकतम सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछौं ।’

सो अपीलकाअनुसार अब निजी विद्यायले वैशाख महिनादेखिकै अभिभावकसँग शुल्क लिने तयारी गरेका छन् र उनीहरुलाई अनलाइन कक्षाको पनि शुल्क तिर्नुपर्ने भएको छ । जुन सरकारको निर्णयविपरीत रहेको छ ।

तर, उनीहरुले सरकारले बजेटमा निजी विद्यालयका लागि कुनै राहत नल्याएको आरोप लगाएका छन् । चैतको पहिलो हप्ताबाट पठनपाठनसहित सम्पूर्ण शैक्षिक गतिविधि ठप्प रहेको छ । पढाउँदै नपढाएको शुल्क लिने विद्यालयको निर्णयले आमअभिभावकलाई मर्का पर्ने देखिन्छ । विद्यालयको आर्थिक अवस्था सुधार्नका लागि अभिभावक पिल्सिनु पर्ने देखिएको छ ।

कोरोनाभाइरसको महामारीबाट विद्यालय सञ्चालकमात्रै नभइ आम अभिभावक पनि मर्कामा परेको बिर्सिएर उनीहरुले शुल्क तिर्न अपील गर्नु दुःखद् भएको अभिभावक गंगा थापाले दुखेसो पोखिन् ।