कोरोना संक्रमण खरायोको गतिमा फैलने अनि सरकारी संयन्त्रचाहिँ कछुवाको तालमा घस्रिने । यो प्रवृत्ति नसु्रधने हो भने असोज मसान्तसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख हाराहारी पुग्ने सरकारी प्रक्षेपण छ ।

जेठ अन्तिम साता तयार पारिएको र अत्यन्त गोप्य राखी सरकारका केही मन्त्री– सचिवबीच मात्र सर्कुलर गरिएको उक्त प्रक्षेपण प्रतिवेदन जनआस्थाले फेला पारेको छ । जसमा असार संक्रान्तिदेखि असोज मसान्तसम्मको ९ चरणमा नेपालमा कोरोना संक्रमित कति पुग्छन् भन्ने हिसाब निकालिएको छ । अति खराब अवस्थाका संक्रमित, अति खराब अवस्थाका एक्टिभ केस, सामान्य अवस्थाका कूल संक्रमित र सामान्य अवस्थाका एक्टिभ केस गरी यसलाई चार तहमा विभाजन गरिएको छ ।

जेठ मध्यतिरको अध्ययनअनुसार तयार पारिएको सो प्रक्षेपणमा असार संक्रान्तिमा ६ हजार ३ सय ४६ पुग्ने भनिएकोमा सो अवधिमा ६ हजार २ सय ११ जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो १५ दिनमा ७ हजार ६ सय ८८ संक्रमित थपिएका छन् । जेठ ३२ सम्ममा ५ हजार ७ सय ६० मा संक्रमण पुष्टि भएकोमा अस्ति १५ असारसम्म आइपुग्दा १३ हजार ४ सय ४८ लाई कोरोनाले छोएको छ ।

नेपालमा पहिलो कोरोना संक्रमित भेटिएर सय जनामा संक्रमण फैलन झण्डै साढे तीन महिना लागेको थियो । तर २१ दिनमै एक सयबाट एक हजारमा फैलियो । एक हजारबाट १० हजार पुग्न २७ दिन काफी रह्यो ।

पछिल्लो एक महिनाको तथ्यांक मात्र केलाउने हो भने साढे १४ गुणाले संक्रमण फैलिएको छ । अघिल्लो महिना मध्य (जेठ १४)सम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८६ मा सिमित थियो त्यसको ठ्याक्कै महिना दिनपछि यो संख्या १४ दशमलव ४१ गुणाले बढेर १२ हजार ७ सय ७२ पुगेको हो । यही गतिमा संक्रमण फैलिए साउनमध्येमा संक्रमितको संख्या १ लाख नाघ्ने सरकारी आँकडा छ ।

सरकारले गरेको प्रारम्भिक आँकलनअनुसार असार मसान्तसम्म ७४ हजार ४ सय ५९ मा संक्रमण फैलन सक्नेछ । यस्तै साउन १५ सम्म संक्रमणको गति १ लाख ७७ हजार ७ सय बढीमा पुग्ने सो प्रतिवेदनमा उल्लेख छ । साउन मसान्तसम्म २ लाख ९१ हजारमा कोरोना संक्रमण फैलनसक्ने आँकलन गरिएकोमा १५ भदौसम्म तीन लाख ४१ हजार ५ सय पुग्न सक्ने जनाइएको छ ।

असोज दोस्रो सातासम्म ३ लाख ७२ हजार ५ सय ५० संक्रमित हुनसक्ने र यो संख्या असोज मसान्तसम्म ३ लाख ७६ हजार ३ सय ९८ मा फैलने सरकारी आकलन छ । यी संक्रमितमध्ये ७ हजार १ सय ४७ को अवस्था अति खराब, १ लाख ७९ हजार १२३ सामान्य र ६ हजार ४३ सामान्य अवस्थामा एक्टिभ रहने अनुमान गरिएको हो । विभिन्न मुलुकमा देखिएको कोरोना संक्रमितको दर, विदेशबाट फर्किएका र फर्कन सक्ने नागरिकलगायत आधारमा टेकेर सरकारी तवरबाट यो आँकडा तयार गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

यता जनस्वास्थ्यविद्हरू परीक्षणको दायरा फराकिलो हुन नसक्दा हामीकहाँ कोरोना संक्रमितको पहिचान भएभन्दा ५ देखि ६ गुणा बढीसम्म हुन सक्ने बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म १३ हजार ५ सय ६४ मा कोरोना संक्रमण पुष्टि गरेको छ तर जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे नेपालमा झण्डै ६० हजार संक्रमित पुगिसकेको तर परीक्षणको दायरा साँघुरो हुँदा तिनको पहिचान हुन नसकी झन् जोखिम बढेको भन्दै चिन्ता व्यक्त गर्छन् ।