रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्का पक्राउ परेका छन् ।

सोही पालीकाका दर्पर्ण घिसिङ्कको जाहेरीले गाउँपालीका अध्यक्ष खड्का र सोही पालिका वडा नं ५ बस्ने लाल बहादुर तामाङ्ग समेतलाई शरीर बन्धकसम्बन्धी कसुरमा शुक्रबार सदरमुकाम मन्थलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी रामेछापले जनाएको छ ।

नेकपा एमालेबाट चुनाव जितेर अध्यक्ष बनेका खड्का स्थानीय निकायको निर्वाचन जिते देखि नै पार्टी र पालिकामा चरम विवादित अवस्थामा रहदै आएका छन् ।

जसका कारण सिङ्को गाउँपालिकाको काम र विकास समेत अहिले सम्म अवरुद्ध बनेको थियो । उनको कार्यशैलीलाई लिएर पालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र अध्यक्षबीच अहिले पनि बोलचाल बन्द छ ।

अहिले अध्यक्ष खड्काविरुद्ध जिल्ला प्रहरी कार्यालयमा शरीर बन्धक र ठगी जस्ता तीनवटा उजुरी परेको र त्यस बारेमा थप अनुसन्धान भईरहेको रामेछाप प्रहरी प्रमुख वसन्त पाठकले जानकारी दिए ।