• सम्पादकीय

अब नेपालमा पनि कोभिड – १९ को संक्रमण समुदायस्तरमा पुगिसकेकाे छ  । यसलाई रोक्न सरकारले के गर्याे के गरेन जगजाहेर छ ।  पटक पटककाे बन्दाबन्दी, निषेधाज्ञाजस्ता उपाय लगाइयाे तर याे प्रभावकारी हुन सकेन फलतः संक्रमण रोकिएन । तथापि सरकार आफूले अपनाएको विधि र रणनीति सही भएको बताउँदै आएकाे छ । सरकारकाे काँचाे प्रपञ्च जनताले असफल भयाे भन्दा पनि सरकार स्वीकार गरेर सच्याउन तयार देखिदैन । सरकारी दलिल अझै पनि बेलैमा बन्दाबन्दी गरिएकै कारण स्थिति नियन्त्रणबाहिर नगएको मान्यतामा अडिग छ ।

यतिखेर उपत्यका लगायत देशका कतिपय स्थानमा निषेधाज्ञा जारी छ जसले  जनजीवनलाइ बेहद कष्टकर  बनाएकाे छ । तर याे निषेधाज्ञा संक्रमण नियन्त्रणमा उपयोगी भएको कहिँकतै देखिदैन । भाद्र २४ गते याे निषेधाज्ञाकाे अन्तिम दिन हाे । यसपछि निषेधाज्ञा बढाउने वा घटाउने बारे सरकार असमञ्जस्यमा देखिन्छ । निषेधाज्ञा नहटाए उद्यम तथा व्यापार क्षेत्रले निषेधाज्ञालाइ नमान्ने चेतावनी दिइसकेका छन् भने जनता पनि निषेधाज्ञाकाे प्रतिराेधमा जाने लक्षण देखिन थालेकाे छ ।

अब कोभिड — १९ को संक्रमण नियन्त्रणका लागि अहिलेको निषेधको रणनीतिमा पुनर्विचार गर्नैपर्ने देखिएकाे छ  । अहिलेको निषेधाज्ञा र सरकारले अपनाएको अरु करबलका उपायका भरमा संक्रमण नियन्त्रित हुन सक्ने देखिदैन । याे बारेमा विशेषज्ञ पनि सरकारकाे पक्षमा देखिदैनन् । निषेधाज्ञाले एकातिर दैनन्दिन जीवन अति कष्टकर हुँदैछ मान्छे खान नपाउने भैसकेका छन् भने अर्कातिर अरु रोगका बिरामीले समेत उपचार नपाएर अस्पतालका ढोकामा पुग्दै मर्दै हुन थालेका छन् । सरकारकाे संवेदनाहीन शैलीकाे चारैतिर आलाेचनामात्र भैरहेकाे छ ।

निषेधाज्ञाकै बीचमा ६५ जना सुत्करी महिला मृत्युवरण गरेकाे देखि अत्यासलाग्दाे अन्य समाचार पनि सुनिन थालिएकाे छ ।  मातृशिशु स्वास्थ्यका क्षेत्रमा विगत केही दशकको उपलब्धि गुम्ने लक्षणका अध्ययनहरू सार्वजनिक भैरहेकाे छ । काेराेनाले स्वास्थ्यमा जत्तिकै गम्भीर प्रभाव शिक्षा र अर्थमा पनि परेको छ । तर पनि  सरकारसँग भने रणनीतिक याेजना केही देखिदैन ।

लामो अवधिको बन्दाबन्दी र निषेधाज्ञाबाट श्रमिक र  साना व्यवसायीलाइ सबैभन्दा बढी आक्रान्त पारेकाे छ । यतिखेर सञ्चार माध्यम र सामाजिक सञ्जालमा व्यक्त चिन्ता हेर्दा जनसाधारणमा महामारीभन्दा भोकमरीबाट मरिने डरले छटपटिएकाे देखिन्छ । बन्दाबन्दि र निषेधाज्ञाकाबीच २००० हाराहारीले आत्महत्या गरेकाे डरलाग्दाे तथ्य सार्वजनिक भएकाे छ ।  जनसाधारणको याे चिन्ता एवम् समस्यालाई बेलैमा सम्बोधन नगर्ने हो भने यसले झन् निराशा तथा वितृष्णा जन्माउने देखिन्छ । । घरभित्र खुम्चिएका  सहरी बालबालिकाकाे अबस्था पनि मानसिकरूपमा निकै नै अत्यासलाग्दाे देखिन्छ ।

यी सब जनजीविकाका समस्या र काेरानाकाे भयका बीच  अब निषेधले मात्र केही नहुने निश्चित देखिन्छ । अब काेराेनासँगै जीवन चलाउने अबस्था सिर्जाउन आवश्यक छ । अझै निश्चित औषधि तथा उपचार नदेखिएकाे महामारीलाइ निषेधमात्रले सम्बाेधन हुनसक्दैन । अब सकेसम्म सबै क्षेत्र खुलाउने र सुरक्षा र सावधानी अपनाउने रणनीति अपनाएर देशलाइ चलायमान गर्न आवश्यक छ ।

३ महिने बन्दाबन्दि अनावश्यकरूपमा जसरी खेर गयाे सम्भवतः अहिले चलिरहेकाे  निषेधाज्ञा पनि त्यसै खेर जाँदैछ । त्यसैले सरकारले काेराेनासँगै जीवनकाे नयाँ अबधारणा ल्याएर सबै क्षेत्रलाइ सुरक्षित खाेल्ने नीति ल्याइहाल्नुपर्छ ।श्रमिक तथा साना व्यवसायीकाे मात्र हैन सरकारले सबैभन्दा ध्यान दिनु पर्ने कुरा  शैक्षिक सत्र खेर जान नदिने उपाय खाेज्नु हाे ।

निकट भविष्यमा आउने दसैकाे एक महिना दिन पहिले नै सार्वजनिक यातायात सहज बनाउन आवश्यक छ । घर जाने वा सहर आउने सबै यात्रुलाइ जसरी सहज वातावरण बनाउन पर्नेछ त्यसैगरी सुरक्षित यात्राको व्यवस्था मिलाउन आवश्यक छ ।  साना तथा मझाैला व्यवसायमा  ईकमर्स व्यवसायलाइ याे काेरानाबधीभरी विशेष प्राथमिकता दिन सके यसले ठूलाे र दीर्घकालिन महत्व राख्ने छ ।

प्रधानमन्त्री तथा सरकारेल जनताकाे समस्यालाइ बुझ्ने प्रयास अब ढिलाे भैसक्याे अब जनताकाे आवाजलाइ सम्बाेधन गर्ने बेला आएकाे छ । काेराेनासँगै जीवन चलाउने नीति नै अबकाे एकमात्र आवश्यकता हाे । सरकारले अब फेरि पनि मुर्खतापूर्ण निर्णय गर्नेछैन भन्ने आशा राखाैँ ।