आशिष गुरागाई / बाह्रबिसे सिन्धुपाल्चोक   

बाह्रबिसे नगरपालिका-७ मा आइतबार गएको पहिरोमा हालसम्म १६ जनाको शव फेला परेको छ भने १५ जना बेपत्ता  छन्। नगरका नाकपुछे, भीमखर्क र नेवार टोलमा पहिरोले भदौ २८ गते ३० घर बगाएको थियो। पहिरोमा ८ जना घाइते भएका थिए।

बेपत्ताका परिवार, आफन्त, स्थानीयवासी, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत उनीहरुकाे खाेजीमा खटिरहेका छन्।

बाह्रबिसे नगरपालिका उप प्रमुख  सुशीला पाख्रीनका अनुसार बेपत्ताहरुको खोजी गर्न ठूलो जनशक्ति परिचालन गरिएको छ। नेपाल प्रहरीको सशस्त्र प्रहरी नेपाली सेना रेडक्रसका विज्ञ टोली भोटेकोशी नदी किनारमा बेपत्ताकाे खोजीमा सक्रिय छ।

पाख्रीनका अनुसार ‘बेपत्ताको खोजीका लागि स्थानीय जनप्रतिनिधि, सामाजिक संघसंस्था र स्थानीयहरुको समेत सहयोग छ,’ उनले भने, ‘स्काभेटर, डोजरसमेत खोतलास्मामा प्रयोग गरिएको छ।’ बढ्दो वर्षासँगै भोटेकोशी र सुनकोशी नदीमा पानीको बहाव उच्च हुने क्रम रोकिएको छैन।

बाढीले ठूला- ठूला ढुङ्गा झरेको कारण खोजी कार्य सोचेअनुरुप प्रभावकारी हुन सकेको छैन।

यसैबीच बागमती प्रदेशले प्रदेशअन्तर्गत पहाडी जिल्लामा पहिरोका कारण मृत्यु भएका  परिवारलाई एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।