पार्टी एकीकरणपछि पूर्वमाआवादी नेता बालकृष्ण ढुंगेल कुनै जिम्मेवारीमा छैनन् । ओखलढुंगामा उज्जन हत्याकाण्डको आरोपमा उनी जेलभित्रै भएको बेला पार्टी एकता भयो । बाहिर आउँदा जिम्मेवारी विहीन थिए । अहिले पनि उनको कुनै जिम्मेवारी छैन । यसै सन्दर्भमा उनीसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।

० पार्टीमा के जिम्मेवारी छ ?

कुनै तोकिएको काम र जिम्मेवारी नभएको कारण आजकल म आफ्नै दिनचर्यामा रमाइरहेको छु ।

० प्रचण्डसँग केही गुनासो पोख्नुभएको छैन ?

प्रचण्डलाई हामीले बुझेनौँ वा उहाँले यो धर्तिलाई बुझ्नुभएन ? यो द्विविधा उत्पन्न भएको छ । कि त हिजोको प्रचण्ड बेहोस हुनुहुन्थ्यो । होइन भने, आजको प्रचण्ड बेहोस भएको हुनुपर्छ भन्ने मेरो निश्कर्ष छ । आजको प्रचण्ड होसमा हो भने हिजोको प्रचण्ड बेहोसमा हुनुहुन्थ्यो । हिजोको प्रचण्ड होसमा हो भने आजको प्रचण्ड बेहोसमा हुनुहुन्छ । के हो ? यहाँहरुले बुझ्ने कुरा हो । मचाहिँ उहाँलाई केही भन्ने पक्षमा छैन ।

० के पार्टी एकता नै गलत हो ?

हामी नै हौ, हिजो हामी एमालेलाई संशोधनवादमा पतन भएको भन्ने । एमाले प्रतिक्रियावादमा जाँदै गरेको भनेर आरोप लगाउँदै झण्डै प्रचण्डवाद नै बनाउने थितितिर उन्मुख भएका हामी नै हौं । एमालेहरु भन्थे, जनयुद्ध आतंक र अपराध हो । त्यसको समीक्षाबिना पार्टी एकता गर्नु हुँदैन, यसले राम्रो गर्दैन भन्ने मेरो बुझाइ थियो ।

० के एकतापछि विधि र प्रक्रिया सबै ठीक छ ?

नेतृत्वले पार्टी एकता गरिसकेपछि विधि, प्रक्रिया मिल्यो वा मिलेन त्यो त उदांगै छ । कसले खाने, कसले चलाउने भन्ने विषयमा पार्टी एकता गरिएको थियो । लामो समय ओलीले चलाएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर खान पाउने गिरोह लागिहाले । यो त ‘ग्याङ वार’ हो । विचारको वार हैन । शेरै शेरको पार्टी । माधव नेपाल प्रधानमन्त्री चलाउनुभएको, १५ वर्ष पार्टी हाँक्नुभएको, झलनाथ प्रधानमन्त्री चलाउनुभएको, १३ वर्ष पार्टी हाँक्नुभएको, प्रचण्ड पनि ३२ वर्ष वैकल्पिक सत्ताको अभ्यास गर्नुभएको । अर्काे प्रधानमन्त्री छन् । भेट्न जान प¥यो भने समय मिलाउनुपर्छ । हिजो उहाँको आदत थियो अरूलाई टाइम दिएर भेट्ने । सत्ताको स्वाद, लोभ र अहंकारको विम्बमा ग्याङ वार हो । डाडु आफैँले समाउनुपर्ने, आफैँले बाँड्नुपर्ने यो कसौंडीको लडाइँ मात्र हो, अरू केही होइन ।

० प्रचण्डलाई कसरी बुझ्नुहुन्छ ?

प्रचण्ड भनेको मान्छेभित्रको पनि उत्कृष्ट मान्छे हो । मान्छेले सबैलाई धोका दिएपछि बल्ल मान्छे हुन्छ । सबै मान्छेलाई धोखा दिन सक्ने मान्छे नेता हुन्छ ।

० त्यत्रो माओवादीको विरासतमाथि किन खेलबाड भयो होला ?

प्रचण्डका आफ्नै दुःखहरुले उहाँलाई यहाँसम्म डो¥याइरहेको छ । परिवारका सदस्यहरुको चिन्ता गर्नुहुन्छ, राम्रै होला । ०७४ मा चितवनमा चुनाव हार्ने डर थियो । एमालेसँग नमिली सुख भएन । माक्र्सवादलाई परिवारवादमा लगेर विसर्जन गर्ने हतारो पनि हो । किनभने, नेपालमा वाम मुभमेन्ट समाप्त पार्न पार्टी एकता नगरी नसकिने अन्तर्राष्ट्रिय दबाब थियो ।

० के हिजोको लडाइँप्रति पछुतो छैन ?

हामी इमान्दार छौँ, तर इमान्दार हुनुपर्ने मानिसहरु बेइमान भए । त्यसकारण मेरो हिजोको बाटो गलत थियो भनेर म भन्दिनँ । म र हामीलाई, अनि सिंगो जनतालाई धोका दिनेहरु गद्दार हुन् । प्रष्टैसँग भन्नुपर्छ, नेपालमा जुन उद्देश्यका लागि राजनीति लडियो, हाम्रो कारण त्यो उद्देश्य बांगिएको छैन । हामीले गर्नुपर्ने योगदान, त्याग, निर्वाह गर्नुपर्ने बलिदानको मोर्चामा कुनै कञ्जुस्याइँ गरिएन । संयोग, दुश्मनले नमारिदिएर बाँचेका हौँ । आफ्नो सेनाको घेरामा बसेर कमाण्ड गर्न त सजिलो हुन्छ, तर दुश्मनको घेराभित्र पसेर, १० औं वर्ष जेलमा कठोर यातना बिताएर आफ्नो निष्ठा, आस्था जोगाएर कठघराबाट बाहिर आउनु चानचुन कुरा हुँदैन । प्रचण्ड जेल परेको भए पो यातना के हो ? थाहा हुन्छ । बेल्ना लगाउँछ भन्यो भने रोटी बेल्ने बेलना हो वा अरू नै ? रोल लगाएर पेल्छ भन्यो भने उहाँहरूले थाहा पाएको क्रिम रोल, बटर रोल, चिकेन रोल । हामीले भोगेको रोल अर्कै छ । होसमा हुँदा त समीक्षा हुँदैनथ्यो, अहिले बेहोसीमा के समीक्षा होला र ?

० न्याय सम्पादनको अवस्था कस्तो पाउनुभयो ?

न्याय हराएको, न्याय बिक्री भएको देशमा दण्डहीनताको स्थिति कस्तो होला ? हिजो सर्वाेच्च अदालतले कानुन, आफ्नो नजिर सिरानीमा हालेर मेरो न्यायमाथि बलात्कार गरेको पात्र हुँ भनेर बोल्दा संसार नै मलाई लखेट्न लाग्यो । ०६२÷६३ पछिको रायमाझी आयोगको प्रतिवेदन गायब पार्नु नै नेपाली जनतामाथि धोका दिनु हो । आज प्रचण्ड, बाबुराम, ओली, देउवा कसैलाई त्यो आयोगको प्रतिवेदन चाहिएको छैन । जनताको आवेगलाई निस्तेज पार्नका लागि आयोग बनाउने ? रायमाझी आयोगको प्रतिवेदनमाथि ओथारा बसेर खिलराज रेग्मी र लोकमानसिंह कार्कीजस्ता चल्ला जन्माउने ? अनि तिनै नेताले यो देशको विकास गर्छाैं, निकास दिन्छौं भन्दा हामीले पत्याइदिनुपर्ने ? बालकृष्ण ढुंगेलजस्ता लाखौं पात्र साइड लागिसके, अब किनारा नलागेका लाखौं पात्र साइड लाग्छन् । उहाँहरूको न्यायिक यात्रा हो भने रायमाझी आयोगको प्रतिवेदन सार्वजनिक गर्नुप¥यो । नभए रायमाझी आयोग बनाउनु गलत थियो भनेर जनतामाझ सार्वजनिक रूपमा माफी माग्नुप¥यो ? बालकृष्ण ढुंगेललाई जेल हाल्न नांगै जुलुस निकाल्ने मानव अधिकारवादी रायमाझी आयोगको प्रतिवेदनका लागि किन नांगिन तयार छैनन् ? नागरिकले ऐनमा पाएको माफीको सुविधासमेत दिनुहुँदैन भनी सनक्रिम दलेर बबरमहलमा उर्लने शुद्धतावादीहरू आज किन रायमाझी आयोगको प्रतिवेदन खोज्दैनन् ?