काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा चुनाव चिह्न हलो राख्ने विषयमा सैद्धान्तिक सहमति जुटेको छ । एकीकरण हुनुअघिको राप्रपा र राप्रपा संयुक्तको कार्यसम्पादन समितिको छुट्टाछुट्टै बसेको बैठकपछि हलो चिह्नमा सहमति जुटेको हो ।

कमल थापा नेतृत्वको साविक राप्रपा कार्यसम्पादन समितिको बैठकले पार्टी एकता जोगाउन भन्दै गाई चुनाव चिह्न छाड्ने निर्णय गरेको हो । एकता महाधिवेशन आगामी वैशाख तेस्रो साता गर्ने विषयमा पनि दुबै पक्षबीच सहमति जुटेको छ । कार्यसम्पादन समितिको संयुक्त बैठक बसेर आज नै दल दर्ताका लागि निर्वाचन आयोग जाने तयारी भएको राप्रपा नेताहरूले बताएका छन् ।

राप्रपा अध्यक्ष थापाले पार्टी एकता जोगाउन चुनाह चिह्न परिवर्तन गर्न बाध्य भएको बताएका छन् । थापाले हिन्दु राष्ट्रको एजेन्डा बोकेको राप्रपाको निम्ति चुनाव चिह्न गाई नै उपयुक्त हुने बताएका थिए । आज बिहान ट्वीट गर्दै थापाले पार्टी एकता जोगाइराख्न सम्झौता अनिवार्य भएको भन्दै यसलाई सहजरुपमा लिइदिन अपिल गरेका छन् ।