– दर्शन-अध्यात्म

  • केशव पाठक

आधुनिक समाज भौतिकवादी दृष्टिकोणबाट प्रायाेजित देखिन्छ । भाैतिकताकाे माेहमा मानिस बसिभूत भएकाे यस  दृष्टिकोणलाई पूर्वीय दर्शनकारहरूले लोकायत शास्त्र भन्ने गरेका छन् । लाेकायत शास्त्रकाे बारेमा कुरा भैरहँदा अहिलेकाे भौतिकवाद नामकाे शब्दले प्रतिष्ठा पाइसकेकाे थिएन । भाैतिकमात्र नभै अन्य वादहरूकाे चर्चा परिचर्चा नहुँदैकाे बेला अर्थात प्राचीन समयमा  वैदिक र वेदबाह्य गरी दुइ थरी विचारलाइ मानिन्थ्याे ।

हामीले जति पनि पूर्वीय दर्शनहरु पाउँछाैँ, तीमध्ये प्रायः सबैजसो दर्शनहरु आध्यात्मिक र वेदलाई आधार मानेर आएका दर्शन हुन् । पूर्वीय दर्शन जसलाइ  भारतीय दर्शन  पनि  भनियाे, यसअन्तर्गत चार्वाक, जैन र बौद्ध दर्शनलाई मात्र नास्तिक दर्शन भनेकाे पाइन्छ । अर्काेतिर वेदलाई मान्ने र वैदिक ग्रन्थमा आधारित दर्शनहरु न्याय, वैशेषिक, सांख्य, योग, मीमांसा र वेदान्त दर्शनजस्ता पूर्वीय दर्शनहरु आध्यात्मिकतर्फ आकर्षित दर्शनहरु हुन् ।

जैन र बौद्ध दर्शन पनि नास्तिक दर्शनकाे अङ्ग मानिए पनि चार्वाक दर्शनचाहिँ निकै कडा प्रकारका अध्यात्मवाद विरोधी दर्शन मानिन्छ ।  वेदलाई नमान्ने, अन्य दर्शनभन्दा फरक खालको, नास्तिक साेच भएर पनि निकै प्राचीन दर्शनअन्तर्गत चार्वाक दर्शन पर्दछ । यही दर्शनलाई लोकायत दर्शन पनि भनिन्छ ।

यस दर्शनकाे प्रामाणिक ग्रन्थ भने फेला परेको छैन । तथापि बार्हस्पत्य सूत्रको आधारमा यो दर्शनको अस्तित्व रहेको पाइन्छ । यस दर्शनको मान्यतालाई सबै खाले पूर्वीय दर्शनले खण्डन गरेका छन् । कथनअनुसार बृहस्पतिले चार्वाक मतको प्रचार शत्रु वा दानवहरुमाथि गरेका थिए । वृहस्पतिकाे अभिप्राय चार्वाक मतको उपदेशअनुसार चल्नाले दानवहरु आफैँ नाश भएर जान्छन्  भन्ने थियाे । तथापि अध्यात्मको पूर्ण उपेक्षा गरेर तनमनको सुखका लागि आएको हुनाले यो दर्शन पूर्ण र स्वस्थ दर्शन हुनै सक्दैन भन्ने त्यतिबेलाका अन्य दर्शनहरुको मत रहेको थियो ।

चार्वाक यस्तै एकोहोरो दृष्टिकोणको कारण नै आलोचनाका पात्र बनेका हुन् । चार्वाक दर्शनले राजालाई स्वीकार गर्छ, तर ईश्वरलाई मान्दैन । यस दर्शनले मानिसहरुमा भएका जातिभेदलाई पनि मेटाउने उद्देश्य रहेको छ । सबै मनुष्यको भित्र एकै प्रकारको रातो रगत बग्दछ, मासु र हाड पनि सबैको उस्तै छ भने बाह्मण र अन्य जातिहरुबीच किन ठूलो र सानोको भेद भयो त ? भन्ने भनाइ यस दर्शनभित्र पाइन्छ ।

उपनिषद्कालमा आध्यात्मिक पक्ष यति बलियो थियो कि कुनै पनि विरोधी भनाइ वा दर्शनहरु जन्मेकै थिएनन् । समयको गतिसँगै वैदिक कर्मकाण्डमा ज्ञान र तर्कको स्थानमाथि रुढिवाद बढ्दै गयो र विरोधी सोचहरु जन्मन थाले । त्यही सोचमा आधारित प्रमुख दर्शनका रुपमा चार्वाक दर्शन आएको हो । यस दर्शनले संसार सत्य छ, पृथ्वी पञ्चतत्वले बनेको छ, शरीर आत्मा हो, शरीर नष्ट भएपछि चेतना पनि नष्ट हुन्छ भन्ने भौतिकवादीहरुको जस्तै मान्यता राख्दछ ।

यस दर्शनले मात्र शरीरलाई आत्मा र मृत्युलाई मोक्ष मान्दछ । यसले पुत्र, देह, इन्द्रिय, प्राण र मन गरी ५ वटा भेदलाई मान्दछ । यस दर्शनले जबसम्म बाँचिन्छ सुखसँग बाँच, ऋण गरेर भए पनि घिउ खाऊ तर रक्सी नखाऊ, मरेपछि खरानी हुने शरीर न हो भनेर आफू बाँचुञ्जेल खुसीपूर्वक बाँच्नुपर्छ भन्ने व्याख्या गर्दछ । यसले प्रत्यक्षलाई मात्र प्रमाण मान्दछ । यसले काममात्र पुरूषार्थ हो, धर्मकर्मलगायत अरु सबै वाहियात हुन्, वर्तमानमा मात्र विश्वास गर, प्रत्यक्षलाई मात्र प्रमाण मान भन्ने सिद्धान्तहरु बोकेको छ ।

यस दर्शनले पुनर्जन्म नहुने, ईश्वर नहुने, जे छ त्योबाहेक अरु सबै असत्य हो भन्ने, परलोक छैन, होम हवन गरेर केही पाइँदैन, देवताका नाममा ढुंगा किन पुज्ने ?, ढुंगा पुजेर धर्म कमाइने भए पहाडै पुजे भैगो नि !, परलोकमा सुख पाइन्छ भनेर अहिले तपस्या गरेर किन शरीर सुकाउने (सुखवाद) भन्ने जस्ता रमाइला कुराकाे चर्चा गर्दछ । यसले यस्ता रमाइला खालका कुरा गर्ने वा सुन्दर वचन दिने हुँदा यस दर्शनलाई चारू (रमाइलो), वाक् (कुरा) वा चार्वाक भनिएको हाे भनिन्छ । खानपानमा धेरै जोड दिने भएको कारण यसलाई चार्वाक भनिएको हो भन्ने भनाइ पनि पाइन्छ । यो दर्शन निकै लोकप्रियका साथ लोकमा फैलिएको हुँदा लोकायत दर्शन पनि भनिएको हो । चार्वाक दर्शनको यस्तो विचारधारा धेरै पुरानो भएर पनि धेरै नयाँ किसिमको लाग्दछ, किनकि आजका मान्छेहरु प्रायः अध्यात्मवादभन्दा भोगवादको समर्थनमा छन्, जुन कुरा चार्वाक दर्शनसँग मिल्न जान्छ ।

भारतीय अन्य दर्शनहरुभन्दा भिन्न प्रकारको सिद्धान्त प्रतिपादन गर्ने चार्वाक दर्शन सबैको आलोचना र घृणा तथा निन्दाको पात्र पनि बनेको थियो । तथापि जतिजति भाैतिकताप्रति मानिस माेहित हुन थाले  यस दर्शनको महत्व झन् झन् बढ्न थाल्याे । त्यसैगरी कुनै पनि भारतीय दार्शनिकहरुले चार्वाकहरुको मतलाई खण्डन नगरी अघि बढ्न सकेका देखिदैन । रुढिहरुको बन्धनमा र परम्परागत अन्धविश्वासलाई तोडेर आफ्नो विचारधारालाई अघि बढाउने हिम्मत यस दर्शनले गरेको हुनाले पनि यो दर्शन एक हदसम्म राम्रो हाे भनेर प्रशंसित पनि छ ।

सम्पूर्ण प्रायः दर्शन संसारलाई झूटो मानेर आत्मा र परलोकको कुरा गर्दछन्, तर एउटा एक्लो चार्वाक दर्शनले नै यथार्थलाई अगाडि राख्ने हिम्मत गर्दछ । आधुनिक भौतिकवादी युगमा हेर्ने हो भने व्यक्तिले सुखलाई सर्वोपरि मानेर खानपिन र मोजमस्तीलाई बढी ध्यान दिने गरेका छन्, जुन कुरा चार्वाक दर्शनले वकालत गरेकाे विषय हाे । तर, यस्तो मोजमस्तीमा रक्सी पिउने होइन बरू ऋण नै काढेर किन नहोस्, घिउ नै पिउने गर भनेर आधुनिक समाजलाई समेत पाठ सिकाउने गरी आग्रह गर्नु यस दर्शनको सबैभन्दा महत्वपूर्ण सकारात्मक पक्ष हो ।


(सन्दर्भ सामग्रीहरूः- बाबु राम ज्ञवाली, वि.सं.२०७२, जीवनको दोस्रो पाना, सर्वदर्शनसंग्रह, बृहस्पति अर्थसूत्र, सन् १९२६, अनुवादक एफ डब्लु थोमस, कौटिलीय अर्थशास्त्र, वि.सं.२०३१, अनु. केशव प्रसाद अर्याल सं. पं. सोमनाथ शर्मा र नरनाथ पाण्डे, महेन्द्र बहुमुखी क्याम्पस ।)