सिन्धुपाल्चोक — जिल्लाको ह्योल्मोभूमि हेलम्बु गाउँपालिका–१ ङिवादावामा बन्ने झोलुंगे पुलमा ‘एडभेन्चर बन्जी जम्प’का संरचना बनाइने भएको छ । हेलम्बु–१ पांगाङ र धवागाङ गाउँलाई जोड्दै बनाइने पुलमा १ सय ७३ मिटर उचाइबाट बन्जी जम्प सञ्चालन गरिनेछ ।

साहसिक खेलको केन्द्रबिन्दु तीन सय मिटर लामो झोलुंगे पुल बनाउन करिब ३९ लाखमा ठेक्का सम्झौता भइसकेको र डीपीआर गर्न ५ करोड ३९ लाख लाग्ने अनुमान गरिएको हेलम्बु गाउँपालिकाले जनाएको छ । वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय सडक पूर्वाधार निर्देशनालयबाट १८ महिना अवधिमा सम्पन्न गरिने लक्ष्य राखेको योजना सम्झौतामा उल्लेख छ । ‘हन्ड्रेड डेस्टिनेसन’ मा परेको पर्यटकीय गन्तव्य हेलम्बुमा पर्यटकलाई थप आकर्षित गर्न ‘एडभेन्चर बन्जी जम्प’ चलाउने उद्देश्यसाथ पुल निर्माण गर्न थालेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

‘पर्यटकीय क्षेत्रमा अब्बल बनाउने योजनासाथ अनेक पर्यटकीय गुरुयोजनालाई तीव्रता दिँदै छौं, ग्रेट ट्रेल र बन्जी जम्प, झरना भ्युदेखि गोसाइँकुण्ड जोड्ने पदमार्गसम्बन्धी दर्जनौं काम भइरहेका छन्,’ उनले भने । झोलुंगे पुल तयार भएपछि सम्पूर्ण प्राविधिक व्यवस्था मिलाएर बन्जी जम्पको काम पनि सुरु गरिने उनले सुनाए । बन्जीका लागि गत वर्ष डा. एनएल कन्सल्टेन्सीलाई विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने जिम्मा दिइएको सब इन्जिनियर शेरबहादुर राईले जानकारी दिए । पुल निर्माण भएपछि एक गाउँबाट अर्को गाउँमा पुग्न लाग्ने पाँच घण्टाको समय पाँच मिनेटमा झर्ने उनले बताए ।