• केशव पाठक

दशैं अर्थात विजया दशमी जसलाई नेपालमा धार्मिक एवम् सांस्कृतिक स्वरूपकाे उच्चतम् चाड मानिन्छ ।  नेपाललगायत भारत तथा  विश्वका हिन्दु समुदायहरुले पनि विशेष महत्वका साथ मनाउने यस पर्वकाे ठाउँ अनुसार भिन्नभिन्न तरिकाले मानाइने गरिन्छ । मार्कण्डेय पुराणकाे शप्तशति चण्डीका अनुसार दुर्गाले दैत्यहरू, महिषाशुर, चण्ड-मुण्ड तथा शुम्भ-निशुम्भलाई बध गरेको खुसियालीमा यस पर्वलाई मनाउने गरिन्छ। खासगरेर दूर्गापुजा गरिने याे पर्व घटस्थापनाको दिनदेखि शुरु हुने  र अन्तिम दिन अर्थात विजयादशमीसम्म विधिसम्मत तरिकावाट उल्लासपूर्ण रुपमा धार्मिक अनुष्ठान हुने गर्दछ ।

नेपालमा राष्ट्रिय चाडको रुपमासमेत मानिंदै आएको दशैँ हिन्दु धर्मावलम्विहरुले आश्र्विन शुक्ल प्रतिपदादेखि नवमी (नवरात्रभर) विभिन्न शक्तिपिठहरुको आराधना गरी दशौं दिन विजयादशमीका दिन आफ्ना मान्यजनहरुवाट  टीका-प्रसाद र आशिर्वाद ग्रहण गर्दै  पुर्णिमासम्म मनाउने प्रचलन रहिआएको छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा जमरा राखी नवमीसम्म नवरात्र विधिअनुसार प्रत्येकदिन फरक-फरक देवी तथा शक्तिहरुको पूजाअर्चना हुने गर्छ ।

नवरात्रभर  शक्तिको पुजा अर्चना गरिन्छ

प्रतिपदा अर्थात घटस्थापनादेखि शुरु हुने नवरात्रको प्रथम दिन शैलापुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैठौ दिन कात्सायानी, सातौ दिन कालरात्री, आठौँ दिन महागौरी, नवौं दिन सिद्धिदात्री को पुजा अर्चना गर्दै  सप्तशती(चण्डी) पाठ गरी नव दुर्गा र त्रिशक्त महाकाली, महालक्ष्मी र महासरस्वतिको विशेष पूजाआराधाना गर्ने गरिन्छ । विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो ।

त्यसै गरी अर्काे  धार्मिक मत एवम् वर्णनअनुसार भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । यसकारण, यस दशमीलाई विजया दशमी भनिएको हो। आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाना खाने तथा खुवाउने, घर आँगन, बाटोघाटो, गाँउ बस्ती सफासुघ्घर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।

धार्मिक एवं पौराणिक मान्यता

यता देवीभागवत महापुराण अनुसार मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजय यात्रा गरेर रावणमाथि विजय प्राप्त गरेको वर्णन आउँछ । त्यहाँ आश्विन शुक्लपक्षको नौ अहोरात्रलाई नवरात्रव्रत भनी प्रतिपादन गरिएको छ। यस व्रतको दिनहरूमा निश्चित तिथिमूलक देवी-देवताहरूको अनुष्ठान समेत हुने भएकाले नवरात्रका दिनहरूलाई छोट्याउन वा बढाउन नमिल्ने हुन्छ । प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ। यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ।

क्रमशः दशमीका दिन प्रातः काल मात्र यस व्रत समापन हुन्छ । शुरूकाे दिन घट अर्थात कलशको स्थापना गरी देवी-देवतालाई आवाहन  गरिन्छ। यस दिन झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउघरमा चलिआएको अन्न छरिन्छ। जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ।

भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो। त्यस स्थानको नजिकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ।

अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजा-आजा गरिन्छ। ब्रह्मवैवर्त पुराण अनुसार वर्णन गरिएका नवदुर्गाहरू यी हुन् : प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश।

दशैँकाे पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्चारिणी, यसैगरी चन्द्रघन्टा, कुस्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको क्रमशः पूजा गरिन्छ । षष्ठी तिथिमा विशेष कार्य-: बेलको हाँगामा तेल, हर्दी लेपन गरी देवीबोधन गरिन्छ । सप्तमीका दिन विशेष कार्य-: दसैं घरमा नवपत्रिका प्रवेश गराई भद्रकाली, सरस्वतीको पूजा गरिन्छ । अष्टमीमा विशेष कार्य-:कालरात्रिको विधिवत् पूजा गरी भगवतीको वाहन बाघको पनि पूजा गरिन्छ ।

खस मष्टपूजकले बाज उडाउने चलन छ । शस्त्रास्त्र -हातहतियार) हरूको पनि पूजा गर्नुपर्छ । महानवमीमा विशेष कार्य-:नवदुर्गा स्वरूप नौ जना कन्याको र दशमीका दिन विहान अपराजिता देवीको पूजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवी-देवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालीका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ।

यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ। आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो। गहुँ तथा जौको नवअंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ ।

नौ रात्रिसम्म पूजा गरेर दशौं दिन विहान टीका-प्रसाद ग्रहण गरे पछि बचेका अंकुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरू पनि निको हुने कुरा वनौषधिविज्ञहरूको छ| जौका जमरालाई महौषधि भनिएको छ । निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन् ।

अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ । यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा,आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती -चण्डी), स्त्रोत्र रत्नावली, कालीका स्तोत्र, दुर्गा कवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ। पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ। पूजक अनुसार वलि दुई प्रकारको हुन्छ | श्रौतयज्ञानुसारको पशु वलि र साकाहारीहरूले प्रदान गर्ने नरिवल ऊखु कुभिण्डो आदि स्मार्तवलि वलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ।

नवरात्रका मुख्य यी दिनहरुमा के के गरिन्छ ?

सप्तमी

नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दसैँ घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ. वर्षा ऋतु सकिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा विभिन्न रोगहरुवाट मुक्ति मिल्ने विश्वास रहिआएको पनि छ,  यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ।

यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालीका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पूजिन्छ .यसैगरी यस दिनमा इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए भन्ने धार्मिक मान्यता रहँदै आएको छ। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ।

किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्। साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौँको जमलमा ल्याई परेड र बढाइँ साथ हनुमानढोका दरबारमा भित्र्याइन्छ|

अष्टमी

नवरात्रिको आठौं दिनमा महाकाली -भद्रकाली को विशेष पूजा-आजा गरिन्छ।  यस दिनमा भद्रकाली (करोडौं योनी-शक्ति भएकी) देवीको पनि पूजा गर्ने चलन छ। देवीभागवतअनुसार यी भद्रकालीले दक्षप्रजापतिको यज्ञ नाश गर्न यसै दिन उत्पत्ति भएकी भनेर वर्णन पनि गरिन्छ.  पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ। यी दिनहरूमा मानिसहरू आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन्। शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्। काठमाडौँको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ।

यसै दिन दशैंघर (हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ।देवी देवताहरूलाई अर्पण गरेको मांसभक्षण गर्नुलाई दोषी मानिन्न|अभ्यर्च्य पितृदेवानां खादन्मांसं न दोषभाक्||-(मनुस्मृति) महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ। धेरैले यसै दिनदेखि खेतीमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विसर्जन गर्छन्।वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगम हो । वेदमा आयुधको बारेमा प्रशस्त चर्चाहरू पाइन्छन् । भगवान् शिवको हातमा रहेको त्रिशुल, बज्र आयुध नै हुन् ।

अहिंसाको सन्दर्भमा जति व्याख्या भएको छ, त्योभन्दा धेरै आयुधको चर्चा र युद्धले पनि स्थान पाएको छ । हामी खस जाति देवताको पूजा गर्दा आयुधको पूजा गर्छौँ । हिमालका देवता शिवजी, रुद्र सबै आयुधधारी नै छन् । नवदुर्गा भगवतीका १८ वटै हातहरूमा आयुध -हतियार) हरू छन् । भगवतीको सम्मानस्वरूप आयुध पूजा गर्नु शास्त्रसम्मत नै छ । हिन्दु धर्मावलम्बीहरू अहिंसावादी हुन् तर वैरीले जब राष्ट्र, समाज, संस्कृति सिद्धयाउन आँटे भने हतियारको पूजामात्र नभएर उठाउन पनि तयार छन् । त्यस्तै देशका विभिन्न दुर्गा मन्दिरहरूमा धुमधाम पुजाआजाका साथै राङ्गा,बोकाको बलि पनि चढाइन्छ । सुदूूर-पश्चिमको प्रमुख शक्तिपिठ निङ्गलाशैनी मन्दिरमा लगभग १३०० रांगा र ४०० बोकाको बलि चढाइन्छ ।

नवमी

नवरात्रिको नवौ दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा-आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ। बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् ।

विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ ।

त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता हो । तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थाले । त्यस्तै देशका विभिन्न दुर्गा भगवती मन्दिरहरूमा बोका तथा रांगा बलि चढाउने प्रचलन रहेको छ । सुदूूर-पश्चिमको प्रमुख शक्तिपिठ मध्ये एक उदयदेव मन्दिरमा पनि लगभग १०० रांगा र ५० बोकाको बलि चढाउदै आइरहेको छ ।

यस सम्बन्धमा श्रीमद्देवीभागवत नवरात्र प्रकरणमा नवरात्र पर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभसाहितमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको हो भन्ने कथन छ | वैदिक ज्योतिष अनुसार चान्द्रवर्षमा ३५४दिन हुने कुरा बताइएको छ |चान्द्रकलाविज्ञानका आधारमा वर्षभरिमा लगभग ६ महिनाको कृष्णपक्षको चतुर्दशी मात्र क्षय भई बाँकी वर्ष भरी कुनै पनि तिथि घट्-बढ् नहुने  चन्द्रकला क्षय भयो भने मात्र सो महिनामा चतुर्दशी मात्र टुटी सोही १४औं दिनलाई औंसी मान्ने सिद्धान्त वेदका ज्योतिषको रहेकाले पुराणहरूमा पनि नवरात्रलाई कहीं पनि तिथि घट्यो भनेर अष्टरात्र र कहीं पनि तिथि बढ्यो भनेर दशरात्र हुने कुरा मिल्दैन |

आजभोली निरयण अर्वाचीन ज्योतिषका आधारमा गणित गरी वेद-पुराणहरूका सिद्धान्त विपरीत खण्डतिथि मान्ने सिद्धान्त गणित अघि सारी कहीले आठै दिनमा र कहीले दशौं दिनको दशैं पर्व लेख्ने गर्दछन् , तर पनि यदा कदा सामाजिक समस्या आई पर्दछ |जस्तै दोलखा भीमेश्वरमा बजार समितिले पञ्चांगको निर्णय विपरीत अष्टमी र नवमी एकैदिनमा परेको छ भन्दा हाम्रो संस्कृति अनुरुप दुई दिनको कार्य खप्ट्याउन मिल्दैन भनेर न मानेको कुरा सर्व विदितै छ |

षोडशोपचारले अर्थात् सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ।

यति गर्नाले कसैले पनि आफु माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ। त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछः ‘आवाहनं नजानामि नजानामि विर्जसनम्। पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी। यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ।

अनि घरका मुलमान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंकोलागि तयार पारी राखिएको नयाँ लुगा लाई टीका लगाउन जान्छन्।

मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ ।


  • सन्दर्भ सामग्रीः मार्कण्डेय पुराण, शप्तशति चण्डी, दशैँ महात्म्य, दशै विकिपिडिया, राजकुमार दुवे, डा आर.सी. ओझा,  विजय ज्ञवाली ।