• कविता
  • डा.मञ्जु मिश्र

मलाई श्रीमान् र परिवारसहित माइती जाने रहर छ
त्यहाँ गएर केक काटी सबैजना खाने रहर छ ।

छोरी ज्वाँइ खोई त ? भनी आमाले सोधेको सुन्ने रहर छ ।
हरेक चाडबाडमा त्यहाँ गएर सँगै बसी केक खाने रहर छ ।

आफू हुर्केको बढेको फूलको सुगन्धभित्र रमाउने रहर छ
गल्लीको कुकुर जस्तो आउने जाने गर्नभन्दा
स्वाभिमान साथ जिउने रहर छ ।

मलाई श्रीमान् र परिवारसहित माइती जाने रहर छ
त्यहाँ गएर केक काटी सबै जना खाने रहर छ ।
मेरो आँखामा आँसु बग्दा तिम्रो पनि बगेको देख्ने रहर छ
तिम्रो आँसु बग्दा मेरो पुछ्ने रहर छ ।

यो अजम्बरी सम्बन्धमा गलबन्दी जस्तै बाँधिने रहर छ
महिलाले महिलाको सम्मान गरेको देख्ने रहर छ
मलाई आमासँगै खेल्ने रहर छ ।