–वामदेव गौतम
नेपालमा दसैंलाई अन्नको पर्व, मातृशक्तिको सम्मान, उत्पादन र सुरक्षाका साधनहरूको व्यवस्थापन तथा रामायणका मुख्य पात्र श्रीरामको विजय गाथासँग सम्बन्धित बनाएर हरेक वर्ष आश्विन शुक्ल पक्ष दशमी तिथिमा धुमधामसँग मनाइन्छ । नेपालका राजाहरूले हिन्दूधर्मलाई राजधर्म बनाएका र तदनुरूप दसैंंलाई हिन्दू पर्वका रूपमा मनाउन थालेका हुनाले यसलाई इतर धर्मावलम्बीले विरोध गर्ने चलन पनि भएको पाइन्छ ।

उपर्युक्त सबै पक्षको विश्लेषण गरेर यसको ऐतिहासिकता पत्ता लगाउनुपर्ने देखिन्छ । वास्तवमा नेपाली इतिहासविद्हरूका निम्ति यो धेरै महत्वपूर्ण अभिभारा हो । तर, यतातिर उनीहरूको ध्यान जान सकेको देखिन्न । यो दसैं पर्वमा धेरै सन्दर्भ जोडिएको देखिन्छ । ती सबैका छुट्टाछुट्टै उद्गम र विकासको इतिहास रहेको देखिन्छ । सबै पक्ष महत्वपूर्ण देखिए पनि यसमा सबभन्दा महत्वपूर्ण मैले अन्न पूजालाई ठानेको छु । त्यसपछि हातहतियार र दुर्गा पूजा महत्वपूर्ण देखिन्छ । रामायण र रामको गाथामा हिन्दू धर्मावलम्बीहरूको जतिसुकै भावना जोड्ने कोसिस गरिए पनि त्यसको ऐतिहासिकता पुष्टि हुन आजसम्म पनि सकेको छैन ।

आर्य र हिन्दूलाई एउटै ठान्ने कतिपय व्यक्ति पाइन्छन् आर्य अहिले मानव जातिभित्रको एक मुख्य महाजाति हो । यो जाति अहिले संसारभरि फैलिएको छ । यसको नाम पहिले कासी अनि खासी र खस हुँदै भारतीय उपमहाद्वीपमा प्रवेश गरेपछि आर्य नामकरण भएको मानिन्छ । सिन्धघाटीमा बसोवास गर्ने आर्य समुदायलाई सिन्धु भनिन्थ्यो ।

इरानी भाषामा स को उच्चारण नभएको हुनाले त्यहाँका मानिस सिन्धुलाई हिन्दू नामकरण गरे । कालान्तरमा सबैले हिन्दू नै भन्न थाले । खासगरी सिन्धु नदी पार गरी पूर्वमा बसोवास गर्ने सबै आर्य हिन्दू भए । इशाको सातांै शताब्दीमा आद्य शंकराचार्यले सनातन धर्मको नाम परिवर्तन गराई हिन्दू धर्म नामकरण गराए । घुमन्ते खस जाति ईपू दुई सहश्राब्दी पहिले कृषि उत्पादनमा प्रवेश गरेपछि आर्य नामकरण भएको मानिन्छ । आर्य संस्कृत शब्द हो । यसको अर्थ हो हलो जोतेर कृषि उत्पादन गर्ने सम्मानित व्यक्ति । पछि उनीहरूले आर्य शब्दको परिभाषा सर्वश्रेष्ठ भन्ने गरे ।

ई.पू. १० हजार वर्षभन्दा पहिले आर्यहरू काश्पियन सागरको किनारमा पुगेका थिए । त्यहाँ उनीहरूले ठुल्ठूला लडाइँ लड्नुप¥यो । लडाइँमा पुरुषहरूको नेतृत्व स्थापित हुन थाल्यो । त्यहीदेखि आर्य समाजमा पितृसत्ता स्थापित भएको मानिन्छ । तैपनि, पछिसम्म समाजमा महामाताहरूको स्थान सर्वोच्च रहनुथ्यो । लाखौं वर्षसम्म आर्य जाति मातृप्रधान थियो । त्यसवेलाका सर्वश्रेष्ठ महामाताहरूको सम्मान आज पनि ईश्वरीय शक्तिका रूपमा दुर्गा भवानी, काली, चण्डी आदिको नाममा गरिन्छ । तिनै महामाताहरूलाई नवदुर्गा भनेर ९ दिनसम्म हरेक वर्ष पूजा गरेर सम्झना गरिन्छ । यो बडादसैंको एउटा सन्दर्भ भयो ।

प्राचीनकालदेखि नै उत्पादनका साधन तथा आफ्नो र समुदायको सुरक्षाका लागि हतियारलाई ठूलो महत्व दिइन्थ्यो र आज पनि महत्वपूर्ण भइरहेकै छ । हतियारको संकलन संरक्षण मातृप्रधान समाजदेखिकै परम्परा हो । त्यसकै निरन्तरताका रूपमा दुर्गा पूजामा हतियारलाई आज पनि समावेश गरिन्छ । बडादसैंको यो अर्को सन्दर्भ भयो । मानव जाति कृषि उत्पादनमा प्रवेश गरेपछि सभ्यताको चरणमा प्रवेश गरेको हो ।

नेपाललगायत भारतीय उपमहाद्वीपमा आर्यहरूको आगमनभन्दा पहिले कृषि उत्पादनमा प्रवेश गरिसकेका द्राविडहरूको वसोवास थियो । उनीहरूले नै कृषिको महत्व स्थापित गर्न विशेष पर्वका रूपमा अन्न पूजाको चलन चलाएका हुन् । पछि आर्यहरू यहाँ प्रवेश गरेपश्चात् त्यसमा केही सुधार गर्दै आफ्नै पर्वका रूपमा यसलाई अरू महत्वसाथ निरन्तरता दिएका हुन् । द्राविडहरूले सामूहिक रूपमा मनोरञ्जन र खानपिनका लागि उत्सवको चलन चलाए । आर्यहरूले त्यसकासाथै चामलको टीका र जमरालाई फूलका रूपमा शिरम सिउरिने चलन चलाए । यो बडादसैंको अर्को सन्दर्भ भयो ।
अब चौथो सन्दर्भका सम्बन्धमा चर्चा गरौँ । रामायण र श्रीराम आर्य समाजमा चलेको श्रुति महाकाव्य र त्यसका एक मुख्य पात्र हुन् । जसलाई ऋषि वाल्मीकिले देवनागरी लिपि र परिमार्जित संस्कृत भाषामा ईशाको दोस्रो शताब्दीतिर लेखेर जनतासामु पेश गरे । अहिले पनि रामायणलाई हिन्दू आर्यहरूले अत्यन्त सम्मानसाथ लिने गर्छन् । तर, रामायणका पात्रहरू र त्यसमा उल्लिखित घटनाको सम्बन्धमा कुनै पुरातात्विक र ऐतिहासिक प्रमाण प्रस्तुत गर्न सकिएको छैन । यसलाई लोकप्रिय संस्कृत साहित्यका रूपमा लिन सकिन्छ । यसमा उल्लिखित घटनामा रहेका अतिरञ्जनालाई हटाएर प्रवृत्तिहरूको वस्तुगत विश्लेषणबाट समाज विकासको कुनै कालखण्डलाई इंगित गर्न सकिन्छ । त्यसरी यसलाई हेर्दा दासयुगकालीन हुन सक्ने अनुमान गर्न सकिन्छ । नेपालमा दासयुग इशाको दोस्रो शताब्दीसम्म रहेको अनुमान गर्न सकिन्छ । यद्यपि, त्यसको अवशेष नेपालमा उन्नाइशौं शताब्दीको मध्यसम्म थियो । श्री ३ चन्द्रसमशेर जवराले त्यसलाई उन्मूलन गरेका थिए । अब अन्तिम सन्दर्भबारे चर्चा गरौँ । यसलाई विजयादशमी या बडादशमी भन्ने ? यसको उत्तर सजिलो छ । श्रीराम श्रीलंका गई बाँदरको फौज प्रयोग गरी राजा रावणसँग गरिएको युद्धमा विजय हासिल गरी पुष्पक विमान चढेर फर्केको विश्वास गर्नेहरूले विजयादशमी भने ।

चन्द्र पात्रोबमोजिम हरेक वर्षमा २४ वटा दसैं रहेका हुन्छन् तीमध्ये अन्न पूजा गरी टीका र जमरा लगाउने दसैंलाई सबैभन्दा ठूलो दसैं मान्नेहरूले बडादसैं भने । मैले भने जहिलेदेखि दसैंको ऐतिहासिकताबारे आफू निष्कर्षमा पुगे त्यसवेलादेखि बडादसैं भन्दै नेपाली जनताको महान् सांस्कृतिक पर्व मान्ने गरेको छु ।