अन्ततः म पनि कोरोना संक्रमित भएँ । विश्वलाई नै त्राहिमाम बनाएको कोभिड- १९ को संक्रमण ढिलोचाँडो मात्र हो, एक न एक दिन जम्काभेट हुनु नै थियो । मलाई पोजिटिभ रिपोर्ट आउँदा अन्यथा लागेन ।

यद्यपि, पोजेटिभ नतिजा आउनासाथ परिवार, साथीभाइ, क्लोज कन्ट्याकमा रहेका व्यक्तिहरू सबैको चिन्ता लाग्दोरहेछ । आफ्नो व्यवस्थापन भन्दा पनि त्यसको चिन्ता बढी लाग्यो । म त्यहाँ नजानुपर्थ्यो, मैले उसलाई नभेट्नुपर्थ्यो जस्ता तर्कना आए मनमा । आफ्नो स्वास्थ्यको भन्दा उनीहरूको सम्भावित संक्रमणको बढी चिन्ता लाग्यो ।

विश्व स्वास्थ्य संगठन, जनस्वास्थ्य विज्ञ, स्वास्थ्य संरचनालगायतका प्रोटोकल, सुझाव निर्देशनलाई सकभर पालनाका प्रयास गरेकै थिएँ । सजगता र सावधानी अपनाएकै जस्तो लाग्छ । साबुन-पानीले हात धुने, स्यानिटाइजर खल्तीमै बोकेर हिँड्ने, मास्क कहिल्यै नछाड्ने गर्दागर्दै पनि संक्रमणको चपेटामा परियो ।

कोभिड- १९ को सम्भावित महामारी व्यवस्थापन चुनौती त छँदै थियो, यस वर्ष अविरल वर्षाका कारण सिन्धुपाल्चोक र अझ जुगल गाउँपालिकामा अकल्पनीय विपत्तिहरू पनि आइपरे । ३९ जनाको ज्यान जाने गरी गएको लिदी पहिरोको दुखदायी चोट भोग्नुपर्‍यो । यससँगै सयौँ परिवार विस्थापित हुने बाढी पहिरो तथा पहिरोको सम्भावनाले धेरैजसो बसाइ जुगलमै थियो ।

यसै बीचमा भारतीय दूतावासबाट एम्बुलेन्स प्राप्तिलगायत कामहरूका लागि काठमाडौं आएँ । काठमाडौं कोरोना संक्रमणको हटस्पट जस्तै बनिसकेको थियो । एम्बुलेन्स बुझेपछि पनि एक-दुई दिन उतै रहेर काम सक्ने प्रयत्नमा लागेँ ।

२० असोजदेखि सामान्य ज्वरो (९९ डिग्री), ज्यान दुख्ने, रुघासहित नाकबाट सामान्य सिँगान बग्ने, टाउको दुख्ने आदि अन्य फ्लुका भनिने लक्षणहरू देखिन थाले पनि गाउँ जाँदा ढुक्क हुन्छ भन्ने लागेर २१ गते स्वाब परीक्षण गरेँ । स्वाब दिएर कोठामा आएँ । झनझन समस्या थपिँदै गयो । अब भने रिपोर्ट नआउँदै म मानसिक हिसाबले तयार भएँ । नभन्दै नतिजा पोजिटिभ आयो ।

कोरोना केही होइन, यो सामान्य फ्लु हो । कमजोर भाइरस हो । यस्तै लाग्थ्यो । कति पटक भनियो पनि । तर, त्यस्तो होइन रहेछ । अन्य खालका जस्तोसुकै बिरामी हुँदा परिवार, आफन्त, साथीभाइ वरिपरि हुन्थे । कोरोनाबाट बच्न त आफू एक्लै हुनुपर्ने रहेछ । परिवारबाटै टाढै रहनुपर्ने । साथीभाइ छेउमै पर्नु नहुने । विल्कुल एक्लो । यस्तैयस्तै आफैँलाई आइसोलेट गर्नुपर्ने कुरा नै भिन्न र जटिल ।

२१ असोज रातीबाट अलिक समस्या बढ्न थाल्यो । ज्वरो बढ्यो । टाउको भारी हुन थाल्यो । जिउ दुख्न थाल्यो । आँखा चलाउँदा दुख्थ्यो । श्वास फेर्दा पनि कठिनाइ हुन थाल्यो । रिँगटा लाग्ने, मस्तिष्क भारी महसुस हुने भयो । मैले अन्त नसुनेको समस्या सबैभन्दा डरलाग्दो थियो । यो समस्या बढेर बेहोस भइएला भन्ने डरले सताउँथ्यो ।

दिनमा बोलाउने, ख्याल राखिरहने घरभेटी र आसपासका छिमेकीहरू हुनुहुन्थ्यो तर रातीमा समस्या परिहाल्यो भने त सिंगो फल्याटमा म एक्लै थिएँ । गाडीको चाबी सिरानीमै राखेँ । फेर्ने कपडाको झोला तयारी अवस्थामा राखेँ । केही गरी गाह्रो हुन लागे अस्पताल जाने गरी योजना बनाएँ । साह्रै गाह्रो भएर बेहोस भइयो भने उद्धार गर्न सजिलो होस् भनेर ढोकाको छेस्किनी नलगाई सुतेँ ।

गाह्रो त भएको थियो तर नआत्तिऊन् भनेर घर परिवारलाई ठीकै छ भनिरहेँ । दोस्रो दिन पनि उस्तै नै रह्यो कठिनाइ । यतिबेलासम्म पल्स अक्सिमिटर मगाएको थिएँ । स्याचुरेसन बेलाबेलामा ९१-९० पुग्थ्यो । लामो लामो स्वास तानेर ९४ को लेभलमा पुर्‍याउने प्रयास गर्थें । लामोलामो स्वास तान्ने अभ्यासले अलिक सहज हुन्थ्यो ।

मध्यरातमा अलिक गाह्रो महसुस भयो । राती १२ बजे अस्पाताल जाऊँ कि भनेर तयार पनि भएँ तर अलिक रिलिफ भएपछि गइनँ । घरमै बसेँ ।

गाडीको चाबी सिरानीमुनि । मन्जन, ब्रस, साबुन, मोवाइल चार्जर, कपडाको झोला, एक÷एक जोर चप्पल र जुत्ता ढोकाकै छेउमा तयारी हालतमा राखेर तीन दिन तीन रात छट्पटी र बेचैनीमा बित्यो ।

कुनै पनि बेला हस्पिटलाइज्ड हुनुपर्ला जस्तो लागिरहन्थ्यो तर २३ गतेदेखि अलिक कम हुँदै गयो । २४ गते बिहानदेखि त पूरै सन्चो महसुस भयो । २७ गतेपछि खोकीलगायत कहिलेकाहीँ सामान्य समस्याहरू देखिन्थ्यो । दुई हप्तापछिको परीक्षणमा नतिजा नेगेटिभ आएको छ । अब म पूर्ण रूपमा रिकभर भएको छु ।

कोरोनाका बारेमा दुई खाले अतिविश्लेषण रहेका छन् । एक खाले कोरोना केही होइन, यो एकदम सामान्य रुघाखोकी मात्र हो भन्ने, अर्का खालेको बुझाइ यो एकदम घातक संक्रमण हो, लाग्नासाथ ज्यान जान्छ भन्ने । मेरो अनुभवले यसमा अलिक सन्तुलित भएर सोच्नुपर्छ जस्तो लाग्छ । यो सोचेजति सामान्य पनि छैन, धेरै खाले समस्या एकसाथ ल्याउँदोरहेछ र केही समस्याहरू काबुमा राख्न नसके ज्यान लिने खालकै हो ।

अलिक ख्याल पुर्‍याउन सके त्यस्तो घातक पनि होइन । सामान्य बनाउन सकिँदो रहेछ । मैले हरेक दिन बिहान उठ्नासाथ तातोपानी पिएँ । कोठामै गर्न मिल्ने हल्का शारीरिक व्यायाम गरेँ । योगाभ्यासहरू पनि यही बेलामा कामयावी भए । ध्यान गरेँ । तातो सुप बनाएर खाएँ । बेलाबेलामा पानीको वाफ लिँदा सहज महसुस हुन्थ्यो ।

गुर्जो, बेसार, अदुवा, मरिच, तुलसीको पात हालेर उमालेको पानी पिउँदा आनन्द लाग्छ । आफैँ खाना बनाउने, कोठाको सरसफाइ गर्ने, लुगा धुने गर्दाको आनन्द पनि छुट्टै रह्यो । चिनेजानेका संक्रमित साथीहरूलाई समेटेर एउटा मेसेन्जर ग्रुप बनाएर परस्परमा अनुभव शेयर गर्ने काम पनि सुरु भयोे । गीत, संगीतमा पनि कहिलेकाहीँ अलमलिएँ । घरधन्दा गर्दै गर्दा पनि गुनगुनाइरहेँ । कोठामा एक्लै भए पनि आफूलाई व्यस्त राख्न सके एक्लोपनको अनुभूति नहुँदोरहेछ ।

तपाईं हामी जोकोहीलाई पनि सजगता र सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना संक्रमण हुन सक्छ । सकभर संक्रमण हुन नदिने तर यदि भइहाल्यो भने पनि यो असामान्य अवस्थालाई सामान्य बनाउन आफ्नै भूमिका महत्त्वपूर्ण हुँदोरहेछ ।

तातोपानी पिउने, प्रशस्त झोलिला पदार्थ खाने, ज्वरो बढेमा सिटामोल खाने आदि त छँदै छ, यसका अलावा सामान्य त्रासले पनि बढी गलाउँदो रहेछ । यसलाई जित्ने आधार मनोबल नै हो । मनोबल उच्च राख्ने, नआत्तिने, सम्भावित संकटबाट बच्न व्यवस्थित योजना बनाउने र उक्त योजना नजिकका व्यक्तिहरूलाई शेयर गर्ने गरियो भने संकट न्यूनीकरणमा मद्धत पुग्छ ।

सकभर संक्रमणबाट जोगिऔँ । जोगिँदाजोगिँदै पनि संक्रमण हुन सक्छ । यसलाई स्वीकार्नुपर्छ । कोरोना संक्रमण हुनु कुनै दोष वा अपराध होइन । जो कसैलाई जुनसुकै बेला पनि संक्रमण हुन सक्छ ।

संक्रमितलाई संक्रमणको मुद्धा बनाएर लाञ्छाना लगाइएका, दुव्र्यवहार भएका थुप्रै घटना छन्, जुन एकदमै गलत हो । यो मानव सभ्यताकै एउटा अकल्पनीय महामारीलाई हामी सबै मिलेर परास्त गर्न सक्छौँ ।

संक्रमितलाई सामाजिक रूपमा हुने दुव्र्यवहारको डरले कतिपय व्यक्तिहरूले लुकाइरहेका छन्, जसले गर्दा यो महामारी भुसको आगोझैँ सल्किरहेको छ । यसलाई लुकाउनुहुँदैन । बाहिर ल्याएमा मात्र सम्पर्कमा आएका व्यक्तिहरू थप सजग हुन पाउँछन् । यसले संक्रमणको दरलाई घटाउँछ ।

कोरोना माहामारीका कारण अर्थतन्त्रलाई नै नराम्ररी मारमा पारेको छ । त्यसैले अब विस्तारै सजगता अपनाउँदै स्वाभाविक दैनिकीमा फर्किनुको विकल्प छैन । सजग रहौँ । सचेत रहौँ । महामारीलाई जित्दै स्वाभाविक दैनिक क्रियाकलापमा फर्किने तयारी गरौँ ।

हामी चाडवाडको सम्मुखमा छौँ । कोरोनाको हटस्पट बनिरहेको काठमाडौंबाट दशैँ बनाउन गाउँ जाने क्रम बढेको छ । कोरोनाले गाउँलाई अझैसम्म छुन सकेको छैन तर हामीले गाउँको यात्रा गर्दा कतै कारोनाले पनि सँगै यात्रा गरिरहेको त छैन ? कतै हाम्रा घरमा भएका वृद्ध बुबा आमाहरूलाई संक्रमण त गराउँदै छैनौँ ? एक पटक यात्रा गरिरहँदा यति कुरा भने सबैले मनन गरौँ ।

चाडवाड अरू बेलामा पनि आउँछन् । सकेसम्म हामी जहाँ छौँ, त्यहीँ बसेर चाडवाड मानौँ । गाउँ पुगिसक्नु भएकाहरूले आफूलाई केही दिन अरूसँग दूरी कायम गरौँ ।

यसबीचमा स्वास्थ्यलाभको कामना गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्छु ।

(श्रेष्ठ गाउँपालिका राष्ट्रिय महासंघ नेपाल तथा जुगल गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष हुन् ।)