काठमाडौं : तीन तहको संरचनाले देशलाई संघीयता धान्‍न धौ धौ परिरहेका बेला पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले यसलाई बाध्यताले मानि दिनुपरेको बताएका छन्।

संघीयतालाई लिएर पक्ष विपक्षमा बहस चलिरहेका बेला नेकपा केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले देशको नाममा संघीय गणतन्त्र नजोड्दैमा कुनै फरक नपर्न पनि बताएका छन्।

केन्द्रीय, प्रदेश र स्थानीय सरकारको अभ्यास गरिरहेको नेपालमा संघीयता घाँडो हुँदै गएको टिप्पणी भइरहेको छ। यही सन्दर्भमा नेता बाँस्कोटाले संघीयतालाई बाध्यताले मानिदिएको बताएका हुन्।

मन्त्रिपरिषद्बाट देशको नाम ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेपछि यसको विरोध भइरहेको छ। यही विवादलाई लिएर उनले आफ्ना कुरा राखेका हुन्।

‘संघीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम ! यसमा चाहिँ के प्रतिगमन भएछ हँ?’, उनले भनेका छन्, ‘प्रदेश खारेज भएको त छैन। द्वन्द्व ब्यवस्थापनका लागि मानिदिनु परेको न हो देशलाई, खाँचो त थिएन सङ्घीयता!’

उनले पार्टीमा तनाव बढिरहेकोबारे पनि बोलेका छन्। ‘लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तरबार घुमाउने भएछन्’, उनले अगाडि भनेका छन्, ‘कमरेडका दुःख पनि कहिल्यै नसकिने के!’

११ असोजको मन्त्रिपरिषद् बैठकले ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको छ। अबदेखि नेपाल मात्रै लेख्ने निर्णय भएको छ। त्यही निर्णयअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘नेपाल’ मात्रै लेख्न पत्राचार गरिसकेको छ।