काठमाडौँ – नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत बैठकको निर्णय र अनुरोधका आधारमा पार्टी केन्द्रीय सचिवालय बैठक नडाक्ने अडान लिएका छन्।

ओलीले जसले जतिबेला बैठक बसालौँ भन्यो त्यतिबेला बैठक डाक्न आफू नसक्ने अडान लिएका हुन्।

शनिबार एपीवान टेलिभिजनको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका छन्,‘ दुई अध्यक्षकाबीचमा परामर्श हुन्छ। अध्यक्षको परामर्शमा महासचिवले बैठक बोलाउने हो। एजेण्डाहरु तोकेर, प्रस्ताव तोकेर, कार्यसूची तयार गरेर, यी-यी निष्कर्षमा पुग्ने भनेर बैठक गरिन्छ। त्यसैअनुसार बैठक बोलाउने हो। कसैले बाटोमा हिँड्दा हिँड्दै बैठक बसालौँ भन्यो भनेर हुन्न।’

प्रधानमन्त्री ओलीसँग असन्तुष्ट अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यहरुको अनौपचारिक बैठक शुक्रबार धुम्बाराहीमा बसेको थियो। बैठकको निर्णय अनुसार शनिबार ओलीलाई केन्द्रीय सचिवालय बैठक डाक्न लिखितरुपमा अनुरोधसमेत गरिएको छ।

ओलीले भनेका छन्,‘ उहाँहरु हिजो मात्रै पार्टी कार्यालयमा बस्नु भएको हो। तर उहाँहरुको बैठक हिजो मात्रै बसेको हो र? बाहिर बस्न भन्दा पार्टी कार्यालयमा बसेको राम्रो। तर उहाँहरु धेरै गोप्य बस्न थाल्नु भएको थियो। धेरै भ्रमहरु आए। पार्टी कार्यालयमा पनि त्यसरी बसेको राम्रो होइन।’

आफ्नाविरुद्ध यसरी गुटगत बैठक बस्नु, झुठा कुराको ‘ब्रिफिङ’ गर्नु, झुठा निष्कर्ष निकाल्नु, गलतदिशातर्फ राजनीतिलाई लग्न खोज्नु, पार्टीलाई अफ्ठयारोमा पार्नु विल्कुलै उचित नभएको ओलीको भनाई छ।

उनले भनेका छन्,‘ आन्तरिक गुटबन्दी पार्टीलाई सखाप पार्ने बिख हो। समस्या पैदा गर्न बैठक बस्ने होइन, झमेला गर्न बैठक बस्ने होइन।’

‘मैले पार्टी फुटाउँछु भनेको छैन’


प्रधानमन्त्री ओलीले बाहिर भ्रम सिर्जना गरेजस्तो आफूले पार्टी फुटाउँछ भनेर कहिल्यै पनि अभिव्यक्ति नदिएको दाबी गरेका छन्। आफ्नो बदनाम गर्न यस्ता भ्रम सिर्जना गरिएको उनको भनाई छ।

उनले आफू पार्टी एकताका लागि ५० वर्ष अघि अभियान सुरु गरेको र हाल आएर झण्डै दुई तिहाई स्थितिमा सरकारलाई लैजाने काम आफ्नै नेतृत्वमा भएको दाबी गरे।

उनले सक्कली र नक्कली आमाको उदाहरणसमेत पेश गर्दै भनेका छन्,‘ गुटबन्दी गर्न खोज्नेले नै पार्टी फुटाउन चाहेको बुझिन्छ।’ उनले अर्का अध्यक्ष प्रचण्डले पटकपटक अन्य साथीरुले मिल्न सकिन्न भने आआफ्नो बाटो लागौँ तर झगडा नगरेर भनेको आफूलाई सुनाएको तर आफूले त्यसो गर्न नहुने जबाफ दिएको दाबीसमेत गरे।

उनका अनुसार उनले प्रचण्डलाई बिहीबार भनेका थिए,‘त्यस्तो स्थिति आउन दिने, अनेकतातर्फ जान दिने, विभाजनतर्फ जान दिने गर्न हुन्न। विभाजन आजको आवश्यकता होइन। गुटगत क्रियाकलाप बन्द गर्नुहोस्।’

प्रधानमन्त्री ओलीले आत्मकेन्द्री प्रवृति हाबी भएकाले आफ्नो पार्टीमा समस्या आएको बताएका छन्। आफ्नाविरुद्ध दुई वर्ष नपुग्दै अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपनि त्यो सफल नभएपछि आफ्ना पार्टीका नेताहरु आफूसँग मिलेको देखाउन बाध्य भएको प्रसशं पनि उनले झिकेका छन्।

उनले भनेका छन्,‘ हाम्रा साथीहरुले उद्देहरु परिवर्तन गर्नुपर्छ। देश र जनताको हितमा त्यो फर्काउनु पर्छ। अनेकता होइन, एकतातर्फ र जालझेल तर्फ होइन पारदर्शीतातर्फ अगाडि बढ्नुपर्छ।

‘प्रचण्डले नै हो मलाई पूरै अवधि छोडेको’


प्रधानमन्त्री ओलीले प्रचण्डसँग आफूले आलोपालो सहमति गर्न कहिल्यै पनि नचाहेको बताएका छन्।

पूर्वसहमति कार्यान्वयन भइसकेका अवस्थामा पार्टी एकताका बेला आलोपालो सहमति गरौँ भनेर प्रचण्डले नै आफूलाई प्रस्ताव गरेको ओलीको दाबी छ।

तर आफूले मुलुकको हितका लागि प्रचण्डप्रति उद्धारभाव प्रकट गरेर आलोपालो सरकार चलाउने सहमति गरेको तर पछि प्रचण्डनै त्यसबाट पछि हटेको दाबी ओलीको छ।

उनले भनेका छन्,‘ प्रधानमन्त्रीको कार्यकाल आधा मागेर बखेडा झिकिएको हो। प्रचण्डजीले आधा कार्याकाल पाउनुपर्छ भनेपछि मैले उद्धारभाव देखाएको मात्रै हो।

‘गोयल अनाधिकृत व्यक्ति थिएनन्’


गोयल नेपाल भ्रमणलाई लिएर अनावश्यकरुपमा आफूलाई विवादमा पारिएको प्रधानमन्त्री ओलीको भनाई छ।

उनले भारतीय जासुसी संस्था ‘रअ’का प्रमुखलाई भेटेर स्वाधिनता मेट्ने काम नगरेको दाबी गरेका छन्।

तर उनले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै भनेका छन्,‘ ओलीले नेपालभारत सम्बन्ध सुमधुर बन्दै जाने र नेपालले गुमाएका भूभाग फिर्ता आयो भने आफू कमजोर देखिने हो कि भनेर विरोध गरेको पनि पाइयो।’

उनले आफू र ‘रअ’ प्रमुखसँगको भेटबारे अब स्पष्टीकरण दिइरहन पनि आवश्यक नभएको बताए।

भेटमा परराष्ट्रका प्रतिनिधिलाई किन नराखेको भन्ने प्रश्नमा उनले भने,‘ परराष्ट्रका प्रतिनिधि राख्दा कहिले कहिले, व्युरोक्रेसी लेवलमा खुलस्त कुरा राख्न अफठ्यारो हुन्छ।

विचार गरेर प्रतिनिधि राखेको छु। परराष्ट्रमा नोट छ। मसँग को को बसेको थियो त्यो भन्न जरुरी छैन। तपसीलमा स्पष्टीकरण दिन आवश्यक छैन।’

‘मैले राजीनामा दिँदा देश डुब्छ’


प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिँदा देश डुब्ने कुरो फेरि दोहोराएका छन्।

उनले आफूलाई हटाउने कोशिस आफ्नै पार्टीबाट भएपनि आफूले राजीनामा नदिने बताएका हुन्।

उनले भने,‘ म विरुद्ध कति बैठक अनुचित, अनाधिकृत भए? त्यस्ता बैठकहरुले अस्थिरताको सन्देश दिइरहेका छन्। सरकार परिवर्तन गर्ने, मलाई हटाउने भन्ने प्रचार पनि भइरहेको छ। मलाई दुबै पदबाट हटाउने अभिव्यक्ति पनि दिइरहेका छन्। त्यसले कर्मचारी र मन्त्री दुबैमा अस्थिरताको सन्देश गएको छ। म राजीनामा गर्दिन।’

उनले तत्काल मन्त्रिपरिषद् पुर्नगठन पनि नहुने स्पष्ट पारेका छन्। ओलीले प्रचण्डलगायत नेताहरुलाई लक्षित गर्दै ३० वर्ष पार्टीको नेतृत्व गरेका,प्रधानमन्त्री भइसकेकालाई सत्ताको लोभ लागेको देखेर आफू अचम्मित भएको बताएका छन्।

उनले अब ६० वर्षको हाराहारीमा पुगेका नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्नुपर्नेसमेत बताए।

‘कर्णालीमा मलाई सोधिएको होइन ’


प्रधानमन्त्री ओलीले कर्णालीमा विवाद चर्काउन आफ्नो कुनै पनि भूमिका नभएको बताएका छन्।

उनले आफूलाई सोधेर वा जानकारी गराएर आफ्ना नेताहरुले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध अविश्वासको पत्र दर्ता नगरेको बताएका हुन्।

उनले भनेका छन्,‘ कर्णालीको मामिलामा मलाई जानकारी थिए। मलाई जानकारी भएको भए त्यस्तो घटना हुने थिएन। प्रचण्डजी र माधवजीका मानिस मैले भनेर सही गर्न गएका होइन् होला नी? तर उहाँहरुले दोष मेरो टाउकोमा थोपर्नु भयो। विषयमा उनीहरु सहमत भएर साथीहरु अविश्वासको प्रस्तावसम्म पुगेका हुन्। रिस उठ्यो भने जहाँ पनि चिर्थन मिल्छ?’

‘सरकार चलाउन मलाई सकस भयो’


प्रधानमन्त्री ओलीले आफूले राम्रो काम गर्दा गर्दै पनि आफ्ना साथीहरुबाट सहयोग नपाएको बताएका छन्।

उनले एउटै पार्टीको सरकार आफूले नचलाएको, बहुशक्ति केन्द्रको पार्टी चलाउनु पर्ने बाध्यतामा परेको भन्दै गुनासोसमेत गरे।

उनले भनेका छन्,‘ काम गर्न नदिने, अफठ्यारो पार्ने, भाँजो हाल्ने होइन, सरकारविरुद्ध कुप्रचार गर्ने प्रवृति बन्द गर्नुपर्छ।’