• आकाश शर्मा

    धेरै राम्रा काम गर्न सकिने अबस्थामा थाेरै पनि राम्रा काम गर्न नसकेका काठमाडाैँ जिल्ला बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलकाे कार्यकाल कुनै विशेष लक्ष्य, याेजना तथा काम बिना सकिँदैछ । खरेलसँग राम्रा काम गरेर सुवर्ण अक्षरमा आफ्नाे नाम लेख्ने अवसरै अवसर भए पनि उनले त्यसलाइ पहिल्याउन सकेनन् । तथापि उनीसँग के के न गरेकाे छु भन्ने भ्रमयुक्त घमण्डचाहिँ देखिन्छ ।

काम गर्न नसकेकाे मात्र हैन काम के गर्ने बारेमा दृष्टि बनाउनसम्म नसकेकाे भनेर उनकै पार्टीमा खरेलकाे आलाेचना हुने गरेकाे छ । उनी कहिलेकाँही हावादारी टाइपकाे याेजना तथा प्रचारमार्फत पनि आलाेचित हुने गरेका छन् । २ वर्ष जति अघि मेयर खरेल एकाएक चर्चामा आएका थिए दुइवटा प्रशङ्गले । एक थियाे, २७ राेपनी जमिन एउटा अनलाइन संचालकलाइ दिने निर्णय र अर्काे थियाे, प्रशिद्ध बुढानिलकण्ठ स्कूलकाे जमिनमा बसपार्क बनाउने कुरा । यी दुवै विषयमा मेयर खरेल र नगरपालिकाकाे तीव्र आलाेचना भएपछि कार्यान्वयन हुन सकेकाे थिएन ।

बुढानिलकण्ठ स्कुलका बारेमा मेयर खरेल तथा केही स्थानीय नेताहरुमा याे सामान्तहरूकाे स्कूल यसमा धनीमानी मात्र पढ्छन् भन्ने भ्रम रहेकाे देखिन्छ । स्थानीय नेताहरूलाइ बुढानिलकण्ठ स्कूलमा राजनीति गर्न नपाएकाे तथा व्यवस्थापन समितिमा बस्न नपाएकाे राेष पनि देखिने गरिन्छ । उनीहरूले बेलाबेला याे खाले अभिव्यक्ति दिइरहेकाे पनि देखिन्छन् । यस स्कूलकाे खाली जमिनमा बसपार्क बनाउन पर्छ भन्ने मेयर खरेलकाे विवादास्पद अभिव्यक्ति  सम्भवतः यस स्कूलमा राजनीति गर्न नपाएकाेमा निस्किएकाे कुण्ठा हुन पनि सक्छ ।

बुढानिलकण्ठ स्कूलकाे जमिनमा बसपार्क बनाउने बारे एक अनलाइनले मेयर खरेललाइ समर्थन गरेर हालै एक समाचार प्रकाशित गर्याे । कपन अनलाइनले प्रकाशित गरेकेा साे समाचार नगर प्रमुखकाे प्रयासमा तगाराे भन्ने शीर्षकमा रहेकाे छ । याे समाचार प्रकाशन भएपछि मेयरले समाचारलाइ सगर्व आफ्नाे फेशबुकबाट शेयर गरे । समाचारमा बुढानिलकण्ठ स्कूलमा बसपार्क बनाउपर्छ भनेर वकालत मात्र गरिएकाे छैन मेयरकाे साे स्कुलमा बसपार्क बनाउने साेचकाे प्रशंसा पनि गरिएकाे छ । मेयर खरेल कमजाेर फेशबुक चलाउने व्यक्ति पर्दछन्  । सामाजिक सन्जालमा के लेख्ने, के शेयर गर्ने बारे खरेलमा दक्षता देखिदैन । त्यसमाथि याे समाचार त उनकेा पक्षामा वकालत गरेर लेखिए पछि उनले सेयर नगरेर के बस्न् सक्थे ।

बुढानिलकण्ठ नगरपालिकामा स्कूलकाे नाममा व्यपार गर्नेहरूकाे ठूलाे संख्या छ । तिनीहरु प्रायः राजनीतिमा नै सक्रिय छन् । कुखुरापालन गरेजस्तै बनाइएका टहरामा विद्यार्थी राखेर व्यपार गरिएकाे चाेकैपिच्छेका स्कुल देखेकाहरूलाइ बुढानिलकण्ठ स्कूलकाे ठूलाे जमिन सँधै आँखी भएकाे देखिन्छ । तत्कालिन राजाले सुरूमा आफ्ना परिवारलाइ अंग्रेजी पढ्न सजिलाे हाेस् भनेर सुरू गरिएकाे याे स्कूलमा पछि देशभरका राम्रा पढ्ने विद्यार्थीलाइ आवासीयरुपमा पठनपाठन गरिने स्कूलकाे रूपमा विकास गरिएकाे थियाे । राजपरिवारका सदस्य पढेका स्कूल भएका कारण पनि तथाकथित गणतन्त्रवादीहरूमा याे स्कूलप्रति नकारात्मक धारणा रहेकाे पाइन्छ ।

बुढानिलकण्ठ स्कूललाइ भविष्यकाे उत्कृष्ट विश्वविद्यालय बनाउन सकिने सम्भावना छ । यस स्कूलकाे अबस्थिति, पहुँच तथा क्षेत्रफल विश्वविद्यालय बनाउन सकिने अबस्थाकाे परिचायक छन् । त्याे नहुँदा पनि बुढानिलकण्ठ स्कूल नेपालकै एक शान बनेर बसेकाे छ । यसले बुढानिलकण्ठलाइ देशविदेशमा परिचित बनाएकाे छ । उच्च शिक्षालाइ दुरदराजसम्मका विद्यार्थीकाे पहुँचमा पुर्याएकाे छ । यस स्कुलाइ आफ्नाे “शान” मान्न नसक्नु बुढानिलकण्ठ नगरपालिकाका स्थानीय राजनीति गर्नेहरुकाे दाेष हाे । जसरी हुन्छ यस स्कुलभित्र हालिमुहाली गर्न पाउनुपर्छ भन्ने आशायबीच नगरप्रमुख खरेलले यहाँकाे १५ राेपनी जमिनलाइ बसपार्क बनाउनु पर्छ भनेर वकालत गर्दै आएका छन् । उनकाे याे आवाज धेरै स्थानीय नेताहरूकाे आवाज बनेकाे छ ।

एउटा बसपार्क बनाउने ठाउँका बारेमा राम्ररी घाेत्लिन नसकेकाे बुढानिलकण्ठ नगरपालिकाले बसपार्क बनाउने ठाउँकाे विकल्प बुढानिलकण्ठ स्कूल देख्नु चेतना स्खलनकाे पराकाष्ठा हाे । बसपार्कका बारेमा सम्भावित स्थानका बारेमा बहस पनि हुन सकेकाे देखिदैन । बसपार्क निजी जमिनलाइ लिजमा वा खरिद लिएर बनाउनु पर्छ । बसपार्कलाइ बस व्यवसायीहरूले बनाउने वातावरण बनाउनु पर्छ । बसकाे व्यवसाय गरेपछि उनीहरूले सम्भावित वसपार्कका बारेमा आफैले छलफल गर्न आवश्यक छ । यसरी छलफलका लागि नगरपालिकाले वातावरण बनाउन सक्छ भने व्यवस्थापनका लागि सहजिकरण गरिदिन सक्छ । तर बसपार्क बनाउन देशकाे प्रतिष्ठित तथा प्रशिद्ध स्कूलकाे सम्पत्तिमाथि आँखा गाड्नु गैरजिम्मेवार साेच मात्र नभै जगहसाँइ पनि हाे ।