• आकाश शर्मा

बुढानिलकण्ठ मन्दिर तथा मन्दिर परिसर क्षेत्रभित्रका बेथिति भनिसाध्य छैन तर यसलाइ सम्बाेधन गरेर निचाेडमा पुग्ने पात्र तथा प्रयासकाे अभाव लामाे समयदेखि खड्किरहेकाे छ । तर बुढानिलकण्ठ यस्ताे ठाउँ हाे जहाँ राजनीति भजाउन धेरै मुद्धा उठाउने तर उठाउनु पर्ने मुद्धामा चुप लागेर बस्ने राजनीतिकाे शिकारले ग्रस्त छ । बेथिति नै बेथितिबीचकाे बुढानिलकण्ठ मन्दिर तथा यस परिसरकाे थितिका लागि पहल गर्ने आवाजसम्म नउठ्नु ठूलाे बिडम्बना हाे । याेजनाबिहिन स्थानीय सरकार तथा मृत प्रतिपक्षकाे माखेसाङ्लाेमा बुढानिलकण्ठ परिसरमा के गर्नु पर्छ ? वा के हुनुपर्छ ? भन्ने प्रश्नै पनि अनर्थझैँ लाग्छ  ।

मन्दिर वरपर चारैतिर मासुजन्य परिकार एवम् मध्यपान गर्नयाेग्य रेष्टुराँका भीडमा मन्दिरकाे राैनक झनै झनै कृतिम बन्दैछ । मन्दिरकाे घण्टकाे आवाजलाइ रेष्टुराँमा बज्ने गीतहरूले बिथाेल्ने गरेकाे देखिन्छ । मन्दिरबाट आउने मासुजन्य परिकारकाे गन्ध मन्दिरभरी फिँजिन्छ र भगवान बुढानिलकण्ठलाइ विशाक्त एवम् असुद्ध बनाउने गर्छ । मासुजन्य बस्तु एवम् परिकारसँग अलिकति पनि सानिध्यता नराख्ने भगवान् विष्णुकाे प्रशिद्ध मन्दिर वरपरबाट आउने मासुकाे बासले धार्मिक भावनालाइ कमजाेर बनाइरहेकाे छ ।

बुढानिलकण्ठ मन्दिर परिसरमा मन्दिर व्यवस्थापन समितिले नै बनाएकाे र व्यवस्थापन गर्ने पसल कब्बलबाट धार्मिकताकाे सुगन्ध आउँदैन । यति महँगाे ठाउँमा दुइतीन हजारमा पाइने यी पसल कब्बलमा खेलकुदका सामान पाइने स्टाेरसम्म रहेकाे छ । मन्दिर परिसरभरी फैलिएका फूलका स्टलहरेका अब्यबस्था अझै टीठलाग्दाे छ । मन्दिर आउने दर्शनार्थीलाइ फूल भिडाउन फुल व्यपारीहरू गर्ने एकखाले छिनाझपटी सस्ताे व्यपारकाे निकृष्ट नमूना बनेकाे देखिन्छ ।

अझ सबैभन्दा दिक्दारचाहिँ मन्दिर परिसरभरी रहेका आधा दर्जनजति मिठाइ पसलले गराउँछन् । सडकका धुलाे र फाेहाेरबीच फैलिएका यी मिठाइ पसलले दर्शानार्थीलाइ खानका लागि गर्ने अपीलले मानिसलाइ दाेहाेर्याएर मन्दिर नआउन मन लाग्ने बनाउँछ । जेरीलगायतका यी मिठाइकाे गुणस्तर कति कमजाेर छ एकपटक खानेले सजिलै अनुमान लगाउन सक्छ । मिठाइपसलबाट आउने तेलकाे खराे गन्धले तेलकाे गुणस्तरलाइ सजिलै अनुमान गर्न सकिन्छ । जेरीलगायतका मिठाइलाइ धुलाे तथा अन्य फाेहाेरजन्य अबस्थाबाट बचाउने छाेपेकाे सम्म पाइँदैन । धुलाे र फेाहरबीचका यी मिठाइ व्यापार गजब फस्टाएकाे छ यहाँ ।

यस्ता कुरालाइ सम्बाेधन गर्ने कसले ? मन्दिर परिसरभित्रकाे यही बेथितिमा काेहि राम्रा काम गरिरहेका पनि हाेलान् । तिनीहरूकाे पहिचान गर्ने कसले ? यी मिठाइ पसलकाे गुणस्तरलाइ सम्बाेधन गरेर राम्राे बन्ने वातावरण बनाउने कस्ले ? यी मासुका परिकारकाे गन्धबाट जलासयमा रहेका हरिहर बुढानिलकण्ठ मुक्त गर्ने पहल कसले गर्ने ?

अब्यबस्थाका बीच पहलकदमी गर्ने पात्रकाे अभावबीच नराम्रा विषयका पृष्ठपाेषकहरू एक सिन्डिगेट लगाएर मन्दिर परिसरमा बसेका देखिन्छन् । उनीहरूकाे सिन्डकेटयुक्त गुण्डागर्दीलाइ ताेड्ने पहल कसले गर्ला ? यहाँ मानिसकाे अभाव हैन । मानिसमा इच्छाशक्तिकाे अभाव छ । यहाँ समस्यालाइ समस्या देख्ने आँखाकाे अभाव छ । यहाँ राजनीति गर्ने पात्रकाे अभाव हैन तर विकासका लागि व्यवस्थापन गर्न सक्ने व्यक्तिकाे अभाव छ ।