ट्रान्सपरेन्सी इन्टरनेसनलले जनमतका आधारमा तयार गरिएको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया, २०२०’प्रतिवेदनमा एसियाका देशहरुमध्ये नेपालमा भ्रष्टाचार बृद्धिको अवस्था खराब देखाएकाे छ ।  सर्वेक्षणमा एसियाका १७ देशमध्ये नेपालमा भ्रष्टाचार वृद्धिको अवस्था चिन्ताजनक देखिएको छ । सर्वेक्षणमा नेपालका ८४ प्रतिशत जनताले भ्रष्टाचार देशको सबैभन्दा ठूलो समस्या हो भनेका छन् ।

सर्वेक्षणका अनुसार नेपालका ८४ प्रतिशत जनताले भ्रष्टाचार देशको सबैभन्दा ठूलो समस्या हो भनेका छन् । सांसद र सरकारी कर्मचारीलाई सबैभन्दा बढी भ्रष्ट भनेका छन् । पछिल्लो एक बर्षमा सर्वेक्षणमा सहभागी ५८ प्रतिशतले भ्रष्टाचार बढेको बताएका छन् । प्रतिवेदनमा सांसद र कर्मचारीलाई भ्रष्टाचारी मान्ने उत्तरदाता समान ४३/४३ प्रतिशत छन् ।

४० प्रतिशतले स्थानीय सरकारका अधिकारी र २८ प्रतिशतले प्रहरीलाई भ्रष्ट मानेका छन् । न्यायाधीश र न्यायिक अधिकारीलाई २४ प्रतिशतले भ्रष्ट भनेका छन् । ‘भ्रष्टाचारीको मुख पनि हेर्दिन’ भन्दै पटक पटक भ्रष्टाचार नियन्त्रण गर्ने अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नै किटेर भ्रष्टाचार नियन्त्रणमा उनको भूमिका निराशाजनक भएको टिप्पणी गरिएको छ ।

विभिन्न क्षेत्रका एक हजार जनामा गरिएको सर्वेक्षण अनुसार १२ प्रतिशतले पछिल्लो एक वर्ष सरकारी निकायबाट काम गर्दा घुस खुवाउनु परेको बताएका छन् ।दनेपालमा राष्ट्रपति तथा प्रधानमन्त्रीकै संरक्षणमा भ्रष्टाचार बढेको विश्वास गर्ने जनताको संख्या ५० प्रतिशत रहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

स्थानीय तहका अधिकारी भ्रष्ट रहेको सोच्ने नेपालीको संख्या ४० प्रतिशत रहेको तथा २८ प्रतिशतले प्रहरी भ्रष्टाचारी हुने सोच्ने गरेको पनि अध्ययनले देखाएको छ ।द२९ प्रतिशत जनताले विगत एक वर्ष सार्वजनिक सेवा लिंदा भनसुन गर्नुपरेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । १३ प्रतिशत जनतालाई भोट दिनका लागि घुस खुवाइएको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।

सात प्रतिशतले सार्वजनिक सेवा लिँदा यौन दुव्र्यवहार भएको वा त्यस्तै व्यवहार भएको व्यक्ति चिनेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । प्रतिवेदनमा भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउनु पर्ने र राजनीतिक नेतृत्वले भ्रष्टाचार गर्दिन भनेर प्रतिबद्धता जनाउनु पर्ने भनिएको छ ।

अध्ययनका अनुसार ४६ प्रतिशत नेपालीलाई भ्रष्टाचार नियन्त्रण गर्ने आयोग (अख्तियार दुरुपयोग अनुसन्धान आयोग)बारे थाहा छैन, भए पनि त्यसले के काम गर्छ भन्ने जानकारी छैन । तीमध्ये १७ प्रतिशतले आफूले भ्रष्टाचार नियन्त्रण गर्ने आयोगबारे आजसम्म नसुनेको बताएका थिए ।

त्यस्तै, थप २९ प्रतिशतले यस्तो आयोगको कामबारे जानकारी नभएको बताएका थिए । ४६ प्रतिशत उत्तरदाताले भने यस्तो आयोगबारे सामान्य जानकारी भएको बताएका थिए । सर्वेक्षणमा सहभागीमध्ये ८४ प्रतिशतले भने आयोगले राम्रो काम गरिरहेको बताएका थिए ।