वर्तमान नेपालका उपप्रधान तथा विना बिभागीय मन्त्रि इश्वर पाेखरेल बारम्बार भ्रष्टाचारकाे विवाद आइरहने मन्त्री तथा नेतामा पर्दछन् । वर्तमान केपि ओली मन्त्रिमण्डलमा गएपछि पनि उनका नाममा आधादर्जन पदीय मर्यादा दुरूपयाेगदेखि भ्रष्टाचारसम्मका केसहरू भएका छन् । विवादै विवादका बीच मन्त्री पाेखरेलकाे अर्काे विवादित विषय बाहिरिएकाे छ । पाेखरेलले भाइ नाता पर्ने डिआइजी विश्वराज पाेखरेललाइ एआइजीमा बढुवा गर्न भिटाे प्रयाेग गरेका छन् । पाेखरेलकाे भिटाेमा  सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिले मन्त्रिपरिषद्ले थपेको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको हो ।

उप–प्रधानमन्त्री पोखरेलकाे दवावमा मन्त्रिपरिषद्ले विश्वराजलाई बढुवा गर्नकै लागि एआईजीको दरबन्दी सिर्जना गरेको थियो । विश्वराज अहिले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । ईश्वरकै दवावमा विश्वराजलाई भावी प्रहरी महानिरीक्षक बनाउने योजना अनुसार बढुवा सिफारिस गरिएको भन्दै प्रहरी अधिकृतहरुले असन्तुष्टिसमेत जनाएका छन् ।

बैकल्पिक सूचीका विश्वराज ०४९ चैतमा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी नायव उपरिक्षक हुँदा उनको ब्याच (१०१ टोली) मा विश्वराज १८ औं बरियतामा थिए । प्रहरी उपरीक्षक बढुवा हुँदा पाँचौ बरियतामा रहेका पोखरेलले प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) हुँदा फड्को हानेर एक नम्बरमा बढुवा भए ।

तत्कालीन डिआईजी सुशील भण्डारीको सवारी दुर्घटनामा निधन भएपछि पोखरेलले अर्को फड्को हाने । आफुभन्दा सिनियर एसएसपीलाई उछिन्दै उनी एकल नायव महानिरीक्षक (डिआईजी)मा बढुवा भएका थिए ।  गृह-सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको सिफारिसलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि पोखरेल एआईजीमा बढुवा हुनेछन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री बढुवा समितिका सदस्य–सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य हुन्छन् ।

१८ महिनाअघि नै भावी आईजिपीको टुंगो लाग्नेगरी बढुवा सिफारिस गरेपछि चेन अफ कमाण्डमा असर पर्ने जानकारहरु बताउँछन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट भारतको नयाँ दिल्लीस्थित दूतावासमा सरुवा गर्दा पोखरेलले त्यहाँ जान अस्वीकार गरेका थिए । त्यतिवेला पोखरेल राजनितीक पहुँचकै भरमा काठमाडौंस्थित लागूऔषध नियन्त्रण व्यूरोमा हाजिर भए, तर दिल्ली गएनन् ।