४६ दिनदेखि आन्दोलनरत वीर अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् । अस्पताल प्रशासनसँग भएको ५ बुँदे सहमति पछि उनीहरुले आन्दोलन फिर्ता लिएका हुन् ।

यसैगरी कोभिड बीमा क्षतिपूर्तिका सम्बन्धमा सम्बन्धित पक्षसँग छलफल गरी निर्णय गर्ने सहमति भएको छ । यस्तै कर्मचारीहरुले पाउने आर्थिक वर्ष २०७६/७७ को औषधि खरिद खर्च कार्यकारी परिषदबाट निर्णय गरी सात दिनभित्र उपलब्ध गराउने र सेवा विस्तार भत्ता सम्बन्धमा आगामी ६ हप्ताभित्र २ महिनाको भत्ता उपलब्ध गराउने र बाँकी नियमित गर्दै जाने सहमति पनि भएको छ ।

अस्पतालका पूर्ववत सेवाहरुसहित थप सेवाहरु अझ प्रभावकारी रुपले सन्चालन गर्ने, प्रतिष्ठान सेवा तर्फ कार्यरत कर्मचारीको तलब भत्ता र अवकाशपछि प्राप्त हुने सेवा सुविधा उपलब्ध गराउनका लागि स्वास्थ्य मन्त्रालय समक्ष पत्राचार गर्ने लगायतका सहमति पनि भएको छ ।

आन्दोलनरत कर्मचारी र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीबीच शुक्रबार भएको वार्तामा सहमति जुटेको हो ।