काठमाडौँ-एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’प्रणालीको सुरुवात गरेको छ।

यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) सँग सम्झौता गरेको छ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा NCHLका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

बैंकले उक्त डिजिटल प्रणालीमार्फत संस्थागत ग्राहकहरूले बैंकमा उपस्थित नभई रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सक्ने बताएको छ।

बैँकका अनुसार ‘कर्पोरेट–पे’ प्रणाली सुरुवात गर्नका लागि ग्राहकहरूले बैंकबाट आवश्यक प्रकृया पूरा गरी आवेदन दिन सक्नेछन्।

यस प्रणालीको सुरक्षित प्रयोग गर्न multi-layer authentication को व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र पाउने सुरक्षित बाटोको व्यवस्था गरिएको छ।

‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अपनारहेको यस बैंकले समयअनुरुप विभिन्न डिजिटल बैंकिङ्गका योजनाहरूका साथ आम जनमानस माझ आफ्नो बलियो उपस्थिति जनाइसकेको छ।

सोही रणनीति अनुरुप बैंकले आफ्ना विभिन्न सेवा, कारोबार तथा सुविधाहरू प्रविधिमैत्री बनाउने क्रममा ल्याएको यस ‘कर्पोरेट–पे’ प्रणालीमार्फत संस्थागत ग्राहकहरूले सहज एवं सरल रुपमा सुविधा उपभोग गर्न सक्नेछन्।

मुलुकभर रहेका ३३३ शाखा कार्यालयहरू, ४७० एटिएम, ९६ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ।