• केशव पाठक

झन्डै दुइवर्ष अघिमात्र धुर्मुशसुन्तली फाउन्डेसनले भरतपुरमा परिकल्पना गरेकाे  गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा यतिखेर राष्ट्रियस्तरकाे ट्वान्टीट्वान्टी क्रिकेट प्रतियाेगिता भैरहेकाे छ । नेपालजस्ताे देशमा परिकल्पना गरेकाे दुइवर्षमै खेल्नयाेग्य रंगशाला बनिसकेकाे याे घटनाले गरे वा तत्परता भए हाम्रै देशमा पनि जे पनि हुन र गर्न सकिने कुरा प्रमाणित गरेकाे छ । यस रंगशाला निर्माण शुरू गर्ने ताका पनि बिबिध आलाेचना एवम् प्रतिक्रिया आएका थिए तर फाउन्डेसन एवम् यसमा प्रत्यक्ष अप्रत्यक्षरूपमा सहभागि भएकाहरू यति सक्रिय भए कि याे नेपालकै नमूना रंगशालकाे रूपमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्ने अबस्थामा पुग्याे ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणकाे क्रम यसरी युद्धस्तरमा हुनुमा परिकल्पनाकार धुर्मुस सुन्तली, जग्गादाता भरतपुर महानगरपालिका, निर्माण अभियानसँग सम्बन्धित समितिसहित राजनीतिक तथा प्रशासनिक पक्षमा काम गर्ने हुटहुटी महत्वपूर्ण कुराे देखिन्छ । यस रङ्गशाला निर्माणसँग सम्बन्धित पक्ष काम गरेर देखाउने चाहनाले ओतप्राेत थिए । २०७५ माघ १६ गते सहिद दिवसको दिन  रङ्गशाला निर्माणको लागि फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्ति सम्बन्धी सम्झौता भएको थियो। सम्भवतः अब एकवर्षभित्र याे हरहिसाबले अन्तरार्ष्ट्रिय हिसाबकाे रङ्गशाला बन्नेछ ।

यता काठमाडाैँकाे उत्तरी कुनामा क्रिकेट मैदान बन्न भनेर शुरू अभिएकाे अभियान ६ वर्ष भैसक्दा अझै याे ठाउँमा क्रिकेट मैदान बन्न लागेकाे हाे भनेर मन बुझाउने अबस्थासम्म सिर्जना हुन सकेकाे छैन । ६ वर्षअघि धुमधडाकासहित तत्कालिन प्रम तथा खेलकुद मन्त्रि ल्याएर उत्सवझैँ सिलान्यास गरिएकाे सुवर्ण शमशेर क्रिकेट मैदानकाे हालत अझै खेल्नयाेग्य हुन ठूलै कसरतकाे आवश्यक्ता छ । देशकै राजधानीमा बन्न लागेकाे याे मैदान निर्माणकाे सुस्त गतिमा बिबिध अपारदर्शी पक्ष,  राजनीतिक भेदभाव एवम् व्यवस्थापन पक्षकाे संक्रिर्णता मुख्य जिम्मेवार पक्ष हाे ।

दुइवर्षअघि परिकल्पना गरिएकाे गौतम बुद्ध रङ्गशाला काे याे भव्य अबस्था देखेर सुवर्ण शमशेर क्रिकेट मैदानसँग सम्बन्धित पक्षले लज्जाबाेध गरेकाे सम्म पाइँदैन । सुवर्ण शमशेर रङ्गशालाकाे याे सुस्तता र अपारदर्शिता देखेर न यहाँका स्थानीयवासीमा जागरूकता देखिएकाे छ न यहाँका सांसद तथा मेयरमा केही गरिहालुँ/बनाइहालुँ भन्ने हुटहुटी देखिएकाे छ । गाैतमबुद्ध रङ्गशालाकाे प्रगति र आफ्नाे अवगतिमा आफूले सच्याउन र सच्चिन पर्ने एक बाेरा समस्याकाे भारी बाेकेका ध्रुव खड्काकाे नेतृत्वकाे समितिले अझै आत्ममूल्याँकन गर्ने सकेकाे छैन । आफ्नै बाउकाे सम्पत्तिझैँ गरेर बुढाे गाेरूले कुन्नी के ओगटेकाे जसरी असफल नेतृत्व् गरिरहेका  ध्रुव खड्कामा रहेकाे इच्छाशक्तिकाे अभाव र अपारदर्शिता नै याे मैदान ढिलाे हुनुकाे परिचायक हाे ।

खड्कामा देखिएकाे आर्थिक अपारदर्शिता र अनावश्यक नेतृत्वकाे माेह नै याे रङ्गशाला ढिलाे हुनुकाे मुख्य कारण भनेर  बताउनेहरुकाे हुल नै पाइन्छ । खड्काकाे आर्थिक अपारदर्शिता र महात्वाकाँक्षाका कारण मेयरदेखि सांसदसम्म खुलेर सहयाेग गर्न गार्हाे मानिरहेकाे देखिन्छ । नेपाली काँग्रेसकाे राजनीतिमा पनि संलग्न भएका ध्रुव खड्का कुनै बेला मन्त्री रहेका नरहरि आचार्यका स्वकीय सचिव थिए । यही बेला उनले सुवर्ण शमशेर फाउन्डेसन बनाएर क्रिकेट रंगशाला बनाउन क्याबिनेट डिसिजन गराए । भन्नेहरू भन्छन् अनि सुरू भयाे खड्काजीकाे अकन्टक खेल व्यापार । यसाे हेर्दा याे मैदान बन्ने नाममा आजसम्म खर्च भएका कराेडाैँ पैसाकाे हिसाबकिताब पारदर्शीरूपमा सार्बजिनक भएकाे छैन । अलिअलि देखाइएकाे हिसाब हेर्दा याे मैदानकाे असरल्ल एवम् बिरबलकाे खिचडीजस्ताे काम हुनुमा कतै खड्कालाइ निरन्तर चलिरहने खेल ब्यपार नै भैरहेकाे त हैन ???

याे मैदान सिलन्यासताका नेपाली काँग्रेसका प्रभावशाली नेता गगन थापा निकै सक्रिय थिए । सिलन्यासपछिका केही समय पनि थापा निकै नै उत्साही एवम् सक्रिय देखिन्थे । थापाले आफ्नाे सांसद विकास काेषकाे रकम पटकपटक यस मैदानलाइ हालिदिएका पनि हुन् । पछिल्ला केहि वर्षदेखि सांसद थापा मैदानप्रति खासै उत्साहित देखिदैनन् । यसकाे पछाडि धेरैले खड्काकाे व्यवहारबाट थापा पनि आजित भएका हुन् भन्छन् । तथापि सांसद थापाले चाहे भने याे मैदान चाँडै बन्न वा बनाउन सक्ने कुरामा याे लेखकमा  भने द्वुविधा छैन । थापालाइ याे मैदान आफ्ना कारणले बन्याे भनेर देखाउने अवसर पनि छ । जसले उनलाइ अझै पपुलर बनाउन सक्छ । गगन थापा पपुलर नबनुन् भन्ने दाउपेचभित्र पनि याे रङ्गशालाकाे ढिलासुस्ती सक्रिय भएकाे हुनसक्छ ।

स्थानीय तह यतिखेर निकै पावरफुल मात्र नभै निकै प्रभावशाली पनि छ । इच्छाशक्ति तथा निर्णयक्षमता देखाउन नसकेका भनिएका मेयर उद्धव खरेललाइ पनि खड्काले रंगशालामा नजानिँदाे हिसाबले ढिम्किन दिएका छैनन् । मेयर खरेल सुवर्ण शमशेर क्रिकेट मैदानकाे नाममा हिराे हाेलान् र आफू जिराे हुँला कि भन्ने भयमा अध्यक्ष खड्का रंगशालामा नगरपालिकालाइ प्रवेश गर्न राेकिरहेकाे देखिन्छ । त्यसाे त याे मैदानकाे हालत देख्दा ध्रुव खड्का हिराे हुने दिन आउला झैँ लाग्दैन तथापि उनले नगरपालिकालाइ सक्रिय बनाएकाे भए स्थानीयस्तरमा आफूलाइ अब्बल देखाउन सक्थे ।

त्यसाे त बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल पनि आफ्नै पार्टीका केही राजनीतिक संक्रिर्णता पाेकाहरूकाे चङ्गुलमा छन् । उनका केही सल्लाहकार याे मैदान काँग्रेसकाे हाे यसमा कुनै हालतमा पनि लगानी गर्न हुँदैन भनेर मरिमेटर लागेका छन् । जसले गर्दा ध्रुव खड्कालाइ ट्रयापमा पारेर छिटाे काम गराउन वा लगानी बढाउने काममा ढिलाइ भएकाे छ । मेयर खरेल आफू याे मैदान बनाउन कटिबद्ध भन्दै आएता पनि यी सल्लाहकाररूपी केही पात्रका कारण याे मैदानमा जति पनि समस्या आए पनि नगरपालिकाले हस्तक्षेप गर्दैन भन्ने देखिन्छ । सुवर्ण शमशेर क्रिकेट मैदानमा नगरपालिकाले अर्थपूर्ण एवम् प्रभावशाली उपस्थिति देखाउन सके मेयर खरेलकाे कार्यकालकाे सबैभन्दा ठूलाे काम हुनसक्छ । याे अर्थपूर्ण र प्रभावशाली उपस्थितिकाे ठूला सम्भावनाबीच मेयर खरेल राजनीतिक सङ्क्रिर्णताकाे घेराेमा परेका छन् ।

असरल्ल बनेर निर्लज्जता देखाइरहेकाे सुवर्ण शमशेर क्रिकेट मैदान बनाउन एक प्रभावशाली समिति बनाएर एउटा अभियान सुरू गरे स्थानीवासीमा पनि अपनत्व महशुस हुने देखिन्छ । यस मैदान तथा क्रिकेट खेलप्रति स्थानीयवासीमा कुनै अपनत्व देखिदैन । यतिसम्म कि स्थानीय नेपाली काँग्रेसकाे किमिटिदेखि युवा क्लब पनि याे मैदानप्रति उदासिन र महत्वहीन भएका छन् । यसका पछाडि कहिँकतै अपजसकाे भारी अध्यक्ष ध्रुव खड्कामै जान्छ । खड्काले आफूलाइ सच्याएर याे रंगशाला मेराे बाउकाे हैन सबैकाे सम्पत्ति हाे भन्ने रूपमा अगाडि लान जति ढिलाे गर्छन् याे कालन्तरमा उनैलाइ हानी हुनेछ । विशेष गरेर परिकल्पना गरेकाे २ वर्षमै गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाले गरेकाे प्रगतिले खड्काे घैँटाेमा घाम लागाेस् ।

सर्वे भद्राणि पश्यन्तु ।