नेपाल प्रेश युनियनका महासचिव अजयबाबु शिवाकाेटीले एक विज्ञप्ति जारी गर्दै पत्रकारलाइ ज्यान मार्ने धम्की आएकाे प्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएका छन् । काठमाडाैँ खबरकाे प्रधानसम्पादक केशवराज पाठकमाथि ३ दिन अघि दुइजना नकावधारीले दिएकाे ज्यान मार्ने धम्कीका बारेमा विज्ञप्ति जारि गर्दै शिवाकाेटीले लेखेका छन्,  “बुढानिलकण्ठ नगरपालिकामा संगठित रुपमा भइरहेका अबैध बालुवा उत्खनन् तथा ढीस्का तथा डाँडो भास्ने, खोला मास्ने विषयमा खबरदारी गर्दै लगातार कलम चलाइरहेका यस काठमाण्डुखबरडटकमका प्रधान सम्पादक केशवराज पाठकमाथि ज्यान मार्ने धम्की आएकोप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।”
विज्ञप्तिमा स्थानीय प्रहरी प्रशासनमा शान्तिसुरक्षाको लागि निवेदन दिएपनि उनीहरुको खोजविन गरि कानुनी दायरामा ल्याउन प्रभावकारी काम नभएको युनियनको बुझाइ रहेकाे बताइएकाे छ  । महासचिव शिवाकाेटीले विज्ञप्तिमा आगाडि लेखेका छन्,  “समाचारको विषयलाई लिएर पत्रकार पाठकलाई ज्यान मार्ने धम्की दिनु विद्यमान कानुन र प्रेस स्वतन्त्रताप्रतिको उल्लघन भएको युनियनको ठहर छ । समाचारको विषयमा सरोकारवाला वा कसैलाई चित्त नबुझे कानुनी प्रक्रिया अबलम्बन गर्न सक्ने अवस्था रहदा रहदै पत्रकारमाथि ज्यान मार्ने धम्की दिएर कानुनीराज र प्रेस स्वतन्त्रताकै खिल्ली उडाउनेहरुलाई तत्काल नियन्त्रणमा लिई कार्वाही गर्न स्थानिय प्रहरी प्रशासनसँग युनियन जोडदार माग गर्दछ ।”