विश्व प्रसिद्ध गजलकार एवम् शायर मिर्जा असदउल्लाह बेग खाँ  अर्थात “गालिब”लाई नेपालका गजलकार तथा कविहरूले सम्झने जश्न ए गालिब कार्यक्रम सम्पन्न भएकाे छ । उनीहरूले गालिबकाे  जन्मजयन्तीकाे अवसरमा भर्चुअलरूपमा ‘जश्न-ए-गालिब’ कार्यक्रम आयोजन गरे । कार्यक्रममा गालिबका गजल सम्बन्धमा चर्चा गर्नुका साथै उनका प्रख्यात गजलहरू पनि गाइएकाे थियाे ।

हरेक वर्ष डिसेम्बर २७ तारिखमा गालिब जयन्ती मनाउँदै गालिब र उनका गजललाई सम्झिने गरिएकामा यसपटक काेभिड १९ का कारण भर्चुअली कार्यक्रम गरिएकाे हाे । आइतबार दिउँसो आयोजित ‘जश्न–ए–गालिब’मा प्रा.डा. सनतकुमार वस्तीले गालिबको गजलकारिता र उनका शेरहरूले सारा विश्वका गजल प्रेमीलाई आकर्षित गर्दै आएको बताए । सन् १७९७ को डिसेम्बर २७ मा जन्मिएका मिर्जा असद्उल्लाह खाँ अर्थात् गालिबले प्रारम्भमा फारसी भाषामा गजल लेख्दै आएको र पछि उर्दूमा गजल लेख्न थालेको बताए ।

कार्यक्रममा गजलकार साकिब हुरानी, दाङका नारायण नेपाल, पोखराका दुर्गा शाह ‘बाबा’लगायतले गालिबका विषयमा बोल्दै आफ्ना गजल रचना वाचन गरे । कार्यक्रममा सुशील श्रेष्ठ र रामभक्त जोजिजुले गालिबका गजल गाएर सुनाएका थिए ।