• केशव पाठक

डाँडा भास्ने, वनक्षेत्र तथा सार्वजनिक जमिन मिच्ने र खाेला मास्ने काम यतिखेर उपत्यकाकाे सबैभन्दा शक्तिशाली काम हाे । शक्तिशाली यसर्थमा कि याे कर्मका लागि सत्तार शक्तिकाे व्यापक दुरूपयाेग हुने गरेकाे छ । डाँडा क्षेत्रका वनलाइ हानी पुग्नेगरी डाेजर चलाएर प्लटिङ गर्नु,  पुराना खाेलाखाेल्सी पुरेर ढल र बाटाे बनाउने कामहरू यतिखेर विकास भनेर हामीले व्याख्या गर्ने गरेका छाैँ । दुखकाे कुरा यही कर्ममा हाम्राे राजनीतिले पनि ठूलाे लगानी गरिरहेकाे छ । राजनीति गर्नेहरूकाे ठूलाे संख्या यही प्लटिङ गर्ने, डाेजर-ट्रिपर संचालन व्यवसाय, बालुवा अबैध उत्खनन्, डाँडा भास्ने, खाेला मास्ने कर्ममा प्रत्यक्ष अप्रत्यक्ष संलग्न् छन् ।

घर, सडक, ढल र खानेपानीकाे बारेमा वैज्ञानिक अध्ययनबिना सुरू गरिएकाे हाम्राे बस्तीविकास सिमित भूमाफियाकाे डिजाइनमा कमाइ खाने भाँडाेकाे रूपमा परिणत भैरहेकाे छ । जसले हाम्राे बसाइलाइ वातावरण एवम् पर्यावरणकाे दृष्टिले विश्वकै निकृष्ट भनेर तथ्यांकित भैसकेकाे छ । हाम्राे राजनीति र हाम्राे जनप्रितिनिधिमूलक निकायले पानीकाे श्राेत, डाँडापाखा, खाेलाखाेल्सीका बारेमा संरक्षणकाे आँखाले हेर्न नै सकेन । जबसम्म हाम्राे जनप्रतिनिधिमूलक निकायले यी विषयलाइ नीतिगतरूपमै महत्वका साथ हेर्दैन हामी झनैझनै वातावरण र पर्यावरणका हेतुले जीवन जिउने नसकिने भाैगाेलिक अबस्थामा बाँचिरहेका हुनेछाैँ ।

गएका केही हप्तादेखि काठमाडाैँकाे उत्तरी भेकमा डाँडाभास्ने र खाेला मास्ने कामलाइ राेक्न पर्ने आवाजहरू बुलन्द भएका छन् । याे विषयमा स्थानीयवासी पनि सचेत भएकाे देखिन्छन् भने वातावरणप्रेमीकाे आवाज पनि बुलन्द बनिरहेकाे छ । त्यसैगरी पत्रकारका कलम पनि याे वातावरण र पर्यावरणका बारेमा सक्रिय भएका छन् । केहि स्थानीय निकाय, सिडिओकाे कार्यालयदेखि वन कार्यालयसम्म याे विषयमा सचेत बन्न थालेकाे पाइएकाे छ । ढिलाे भैसकेकाे याे सचेतना  अब कति सार्थक दिशातिर जाने हाे त्याेचाहिँ हेर्न बाँकी नै छ । भूमाफियकाे राजनीतिक पहुँचकाे अगाडि वातावरण पर्यावरणकाे विषयले विजय पाउने सम्भावना कम भए पनि आशा भने गर्न सकिन्छ ।

मान्ने हाे भने, सिगों पृथ्वी नै एउटा घर हो । पृथ्वी लाखौं प्रकारका जीवहरुको आश्रयस्थल हो । यसको सबै भागमा एउटै प्रकारको हावापानी छैन नत माटो नै छ । स्थान अनुसार माटो, हावापानी, वनस्पति यावत वस्तु फरकफरक छन् । जीव र जीवनका लागि राम्रो आश्रयस्थल बन्न जल, वायु, जमीनको अवस्था सन्तुलित हुनु आवश्यक छ।

यही जीव र वातावरणकाे अन्तरसम्बन्ध पर्यावरण हो । पर्यावरणभित्र अजैविक वस्तु र जैविक वस्तु पर्दछन् । अजैविक अन्तर्गत हावापानीका तत्व जस्तैः प्रकाश, तापक्रम, वर्षा, हावा, चिस्यान पर्दछ भने माटोसम्बन्धी माटोमा भएको पानी, माटोमा हावा, माटोको तापक्रम, माटोमा भएका सूक्ष्म जीवाणु, भौगोलिक अवस्था अन्तर्गत उचाई, पर्वतको दिशा, ढलान आदि पर्दछ। जैविक तत्वमा वनस्पति तथा प्राणी र विच्छेदक (व्याक्टेरिया र फन्जाई) पर्दछन्।

पिउनयोग्य पानी, स्वच्छ वायु र आवश्यक खेतीयोग्य जमीन जीवन बाँच्ने आधार हुन् । कुनै पनि जीवकाे अस्तित्व एक्लै सम्भव छैन। प्राणी वा वनस्पति वातावरणसित जुधिरहेका हुन्छन् । तसर्थ सहज जीवनका लागि आधार भूमिलगायत त्यस स्थानको वातावरण अनुकूलित हुन जरुरी हुन्छ ।

राजधानी काठमाडाैँमा जनसंख्या वृद्धि र विलासिता शैलीको मानव आवश्यकताले पर्यावरणीय असन्तुलन भइरहेको छ। प्राकृतिक स्रोतमाथि मानवले प्रकृतिको दोहन गरिरहेको छ। मुठ्ठीभरका व्यक्तिले फाइदा लिइरहेका छन्।  काठमाडाैँकाे बढ्दो शहरीकरण, अव्यवस्थित औद्योगिकीकरण, अत्यधिक रासायनिक मलको प्रयोग, विषादिको प्रयोग, वनविनाश आदि पर्यावरणीय असन्तुलनका कारण हुन्।

जे जति विनाशका लिला भए पनि अझै वातावरण एवम् पर्यावरण बचाउने साेच बनाउने हाे राजधानीमा केही हदसम्म अर्थपूर्ण काम गर्न सकिन्छ । राजधानीमा रहेकाे सार्वजनिक जमिनकाे समुचित उपयाेग हुन सकेकाे छैन । सार्वजनिक जमिनलाइ बिभिन्न संस्थाका घरहरु बनाउनै उपयाेग भैरहेकाे छ । सार्वजनिक जमिनमा रूख राेप्नु नै यतिखेर सबैभन्दा ठूलाे पर्यावरण विनाशलाइ राेक्ने उपाय हाे । सबैखाले सार्वजनिक जमिनकाे लगत निकालेर सबैठाउँमा रूख राेप्न सके कंक्रिटकाे जमिन भैरहेकेा काठमाडाैँ केहि मात्रा हेर्नलायक पनि हुनेछ ।

सार्वजनिक जमिनामा रूख मात्र हैन जमिनकाे परिधि हेरेर सानाे ठूलाे आकारकाे पाेखरी बनाउनु आवश्यक देखिन्छ । राजधानी पानीकाे हाहाकारमा उभ्भिएकाे छ । राजधानीकाे पानीकाे महत्वपूर्ण स्राेत भूमिगत पानी नै हाे । करिब २५ वर्षदेखि लगातार जमिनमुनीबाट पानी निकालिएकाे छ साथै जमिनभरी क्रंकिटका घर विछ्याइएकाेले पानी रिचार्ज हुन सकेकाे छैन । जसले गर्दा वर्षैपिच्छे भूमिगत जमिनकाे पानीस्तर घट्दै गैरहेकाे छ । २५ अघि राजधानीका धेरैजसाे फाँटमा धाप थिए । तर आजसम्म आइपुग्दा कतै धाप बाँकी छैन । यसकाे अर्थ जमिनकाे माथिल्लाे हिस्सामा अब पानीकाे मात्रा छैन ।

काठमाडाैँलाइ घेरेर राखेकाे राष्ट्रिय निकुन्जसहित सबै वन तथा तल्लाे भेकमा रहेका सबै सार्वजनिक एवम् सरकारी जमिनमा पाेखरी बनाउने हाे भने  भूमि रिचार्ज हुनेछ साथै भूमिगत पानी निकाल्ने सम्भावना जीवित रहनेछ । यी पाेखरीलाइ उपत्यका घेरेर बसेकाे पहाडबाट आउने खाेला तथा खाेल्सासँग जाेड्न सकियाे भने पाेखरीलाइ खानेपानीकाे खुल्ला ट्यांकीकाे स्वरूप दिन सकिन्छ । काठमाडाैँ उपत्यकामा दैनिक १० कराेड लिटर पानी जम्मा गर्न सकिने क्षमता भएकाे मानिन्छ । तर पानीलाइ पाेखरीमा हालेर पाेखरीबाट घरघरमा पुर्याउने कामकाे भने साेच बनेजस्ताे पाइँदैन ।

फर्पिङ जलबिद्युत आयाेजनाकाे रिजर्भ वायरलाइ अहिले खानेपानीकाे पाेखरीकाे रूपमा विकसित गरिएकाे छ । विभिन्न तीनवटा खाेला र खाेल्साकाे पानीलाइ एकिकृत गरेर बनेकाे याे पाेखरीकाे पानीले गर्दा त्याे भेक अहिले खानेपानीकाे चरम अभावमा छैन । राजधानी उपत्यकालाइ घेरेर बसेकाे तथा फाँटमा रहेकाे सार्वजनिक जमिनमा यस्ता पाेखरी बनाउँदा खानेपानीकाे दीर्घकालिन समस्या समाधानमा पनि एक फड्काे मारिएकाे आभाष हुन सक्छ । उपत्यकालाइ वातावरण तथा पर्यावरणीय समस्याबाट बचाउन खाली रहेका सबै खाले सार्वजनिक जमिनमा रूख बिरूवा लगाउँदै पानीपाेखरी बनाउन आवश्यक देखिन्छ ।