फोटो : दिपेन्द्र रोक्का

पृथ्वीनारायण शाहको जन्म जयन्ती भव्य रूपमा मनाउन बलिउड अभिनेत्री मनीषा कोइराला र नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल एकै ठाउँमा उभिने भएका छन्।

पछिल्लो समय क्यान्सरविरूद्धको अभियानमा सक्रिय कोइराला र ‘हाम्रो नेपाल र सुशासन अभियान’ चलाइरहेका खेरलले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर पुस २७ गते मनाइने पृथ्वी जयन्तीको कार्यक्रम सार्वजनिक गर्दै छन्।

मनिषाले ट्विटमार्फत् सो कार्यक्रममा उपस्थित हुन सबैलाई आग्रह गरेकी छन्। पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रहसहितको विज्ञप्तिमा नायिका मनीषा कोइराला, रमेश खरेल तथा भरत बस्नेत लगायतले हस्ताक्षर गरेका छन्।‘आउनुहोस्, राष्ट्रिय अस्मिता, स्वतन्त्रता र नेपाली पहिचानका लागि कृतज्ञता एवं श्रद्धाञ्जली अर्पण गरौं पृथ्वीनारायण शाहप्रति,’ उनले ट्विटरमा लेखेकी छिन्।

कोइराला निकट स्रोतका अनुसार उनी पछिल्लो केही दिनयता विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, लेखक, पत्रकारसँग ‘परामर्श’मा छिन्।